कांग्रेसमा व्यक्तिकेन्द्रित द्वन्द्व बढ्दै [टिप्पणी]

नेतृत्वलाई निरन्तरता दिन चाहने र जसरी पनि स्थानान्तरण गराउन खोज्नेबीच ध्रुवीकरण बढेको छ ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसभित्र अहिले देखिएको द्वन्द्वमा विचार र सिद्धान्तको कतै चर्चा छैन । पार्टीको १४ औं महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा मात्र चर्चा चलिरहेको छ । महाधिवेशन आउनु साढे ६ महिनाअघि नै भावी नेतृत्वको विषयलाई लिएर पार्टीमा आरोप/प्रत्यारोप जारी छ । यसले ध्रुवीकरणसमेत बढाउँदै लगेको छ ।

कांग्रेसमा व्यक्तिकेन्द्रित द्वन्द्व बढ्दै [टिप्पणी]

पार्टीमा अहिले तीनवटा गुट सक्रिय छन्– सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको इतरपक्ष । इतरपक्षमा उपगुट पनि सक्रिय छन् । सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाका समूह चलायमान छन् ।

संस्थापन पक्षमा सभापति देउवालाई उपसभापति विमलेन्द्र निधिप्रति संशय छ । निधिले सार्वजनिक रूपमा चुनौती खडा नगरेसम्म भने देउवालाई दोस्रो कार्यकालका लागि बाटो सहज देखिन्छ । १३ औं महाधिवेशनका बेला आफूलाई सघाउने बचन दिएको भन्दै निधिले निकटवर्तीहरूसँग उम्मेदवारी रहने सम्भावना अघि बढाएका छन् । तर खुलेर आएका छैनन् ।

इतरपक्षमा सभापतिका लागि पौडेल, कोइरालाद्वय र सिंह मुख्य दाबेदार छन् । कोही नमिले आफूहरू पनि उम्मेदवारको दाबेदार रहेको नेताहरू अर्जुननरसिंह केसी र रामशरण महत बताउँछन् । केसी र महतको कसरत आफूहरू हुने भन्दा पनि इतरपक्षमा एउटा मात्रै उम्मेदवार बनाउनेमा जारी छ । सिटौलाले सम्पर्क कार्यालय खोलेर नै आफ्नो समूहलाई ‘इन्ट्याक्ट’ राख्ने गरेका छन् । उनले अहिले गरिरहेको तयारी आफ्नै लागि हो वा ‘बार्गेनिङ पावर’ का लागि भन्नेबारे खुलाउन चाहेका छैनन् ।

आ–आफ्नै रणनीतिमा

सत्ता राजनीतिको उलटपलट खेलमा अभ्यस्त र अनुभवी देउवा यतिबेला पार्टीभित्रको शक्ति संघर्षको केन्द्रबिन्दुमा छन् । उनले गर्ने हरेक निर्णयलाई वरिष्ठ नेता पौडेल र सिटौला पक्षले विरोध गर्दै आएका छन् । सत्ता र शक्तिमा टिक्न देउवाले जस्तोसुकै जोखिम पनि उठाउने गरेको विगतले पनि इतरपक्षलाई सशंकित बनाएको छ ।

कतिपय असान्दर्भिक र विधानविपरीतका कदम देउवाले महाधिवेशनलाई नै केन्द्रमा राखेर उठाएका छन् । देउवा विभाग थप्नुका साथै त्यसलाई पूर्णता दिनेगृहकार्यमा छन् । देउवाका विधानविपरीतका यी निर्णयलाई विरोध गर्ने नैतिक आधार वरिष्ठ नेता पौडेलले ६ महिनाअघि नेविसंघ गठनमै गुमाएका छन् । भागबन्डा मिल्दा उनले पनि देउवालाई विधानविपरीतको बाटोमा जान छुट दिएका छन् ।

महाधिवेशनको मुखमा विभाग गठन गर्नुको पछि देउवाको नजर प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएर आउने ४ हजार १ सय २५ प्रतिनिधितिर छ । यो सहित करिब ५ हजार प्रतिनिधिबाटै केन्द्रीय नेतृत्वको चयन हुन्छ । अहिले केन्द्रीय विभागमा परिरहेका नेता तथा कार्यकर्ता अधिकांश क्षेत्रीय प्रतिनिधि भइसकेका र फेरि पनि चुनिएर आउने सम्भावना भएकाहरू छन् । देउवाले यही बीचमा करिब ५ सय पुराना नेता तथा कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याए । जसमा पार्टीका पूर्वसभामुख, पूर्वमन्त्री तथा सांसददेखि पार्टीको संघर्षमा जेलनेल भोगेका तर सक्रिय राजनीतिमा नभएका नेता तथा कार्यकर्ताको हूल छ । यो समूहको महाधिवेशन प्रतिनिधि चुनेर पठाउन महत्त्वपूर्ण भूमिका हुन्छ ।

देउवाको अर्को तयारी विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा राखिराख्ने छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट आएका विजयकुमार गच्छदार अहिले देउवाको साथमै छन् । पछिल्लोपटक राप्रपाबाट छाडेर आएका सुनीलबहादुर थापाको समूहलाई कांग्रेस प्रवेश गराउँदा देउवा आफैंले सहमहामन्त्री, ७ केन्द्रीय सदस्य र २ आमन्त्रित सदस्य दिने निर्णय लिएका हुन् । आफूले निर्णय लिएपछि मात्रै देउवाले आफूइतर नेतासँग उपसभापति निधिमार्फत छलफल गरेका थिए । आफ्नै कारणले भूमिका दिएको पारेर अन्य पार्टीबाट आउनेहरूलाई आफ्नै समूहमा राख्ने रणनीति देउवाले बनाएका छन् । केन्द्रीय पदाधिकारी र सदस्यहरू सोझै महाधिवेशनका मतदाता हुन्छन् । त्यसपछि एकमुष्ट क्रियाशील सदस्यता दिने निर्णयबाट उनले लाभ लिन खोजिरहेका छन् । गच्छदार समूहलाई २५ हजारभन्दा बढी क्रियाशील सदस्यता दिइएको छ । तत्कालीन राजपा, माओवादी केन्द्र, एमाले र राप्रपाबाट आएका यी नेताहरूको नाममा समेत क्रियाशील सदस्यता दिने तयारी छ ।

विभाग गठनलगायतका विषयमा इतरपक्ष जति खनिए पनि देउवाले गम्भीर रूपमा लिएका छैनन् । संस्थापन इतरपक्षबाट भइरहेको विरोधसमेत महाधिवेशनको ‘स्टन्ट’ का लागि हो भन्ने उनको बुझाइ छ । विभाग गठन रोक्न बिहीबार सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराउन गएका वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूलाई देउवाले नरोक्ने ठाडो जवाफ दिएर फर्काएका थिए । देउवाबाट पार्टी चल्दैन भन्ने निष्कर्ष निकाल्दै इतरपक्षले नेतृत्व स्थानान्तरणको मुद्दालाई साझा रूपमा अघि बढाएको छ । तर नेतृत्व लिनका लागि आफ्नै समूहभित्र चलिरहेको होडबाजीले यो पक्षलाई रणनीतिक रूपमा कमजोर बनाउँदै लगेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?