कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले गाउँ नै विस्थापित

आश गुरुङ

लमजुङ — पहिरोले गाउँलाई च्याप्न थालेपछि गत वर्ष मर्स्याङ्दी गाउँपालिका–३ अर्खलेका धनराज गुरुङको परिवार बेंसीसहर बसाइँ सर्‍यो । गत वर्षको भदौ अन्तिम साता गाउँछेउ भीषण पहिरोपछि स्थानीय टेकबहादुर गुरुङ पनि परिवारसहित बेंसीसहर सरे । यस वर्ष पुन: पहिरोले घेर्न थालेपछि स्थानीय विस्थापित हुन थालेका छन् ।

पहिरोले गाउँ नै विस्थापित

अहिले गाउँमुनिबाट पहिरोले च्याप्न थालेपछि सिंगो अर्खले गाउँका बासिन्दा डराएर नजिकै स्कुल र वरपर त्रिपाल टाँगेर बस्न थालेका छन् । अर्खलेमा अहिले १८ घर छन् । गाउँका एक सयभन्दा बढी मानिस अस्थायी रूपमा विस्थापित भएको स्थानीयले बताए । स्थानीय जितबहादुर गुरुङका अनुसार घरको आँगनछेवैमा पहिरो आएको छ । कोदो रोप्ने बारी पहिरोले लगिसकेको छ ।

‘केही घर आज कि भोलिको अवस्थामा छन्,’ उनले भने । स्थानीय मनमाया गुरुङले आफ्नो घर पहिरोले लान थालेको बताइन् । उनका अनुसार छिमेकी श्रीप्रसाद गुरुङ, फलराज गुरुङ, भोजबहादुर गुरुङ र कास्विरी गुरुङको घर पनि पहिरोले तान्न खोजेको छ । उनका अनुसार गाउँले विस्थापित भएको करिब २ साता बित्यो । ‘कसैले घर गएर खाने गरेका छन् । कोही यहीं पकाएर र ल्याएर खाने हो,’ उनले भनिन् । पहिरोले गाउँमा पुग्ने गोरेटो बाटोलाई बगाएको छ भने गाउँमुनिको बेंसीसहर–चामे सडकलाई असर पार्ने देखिएको छ ।

पछिल्लो समय पानी पर्न थालेपछि पहिरोले ठूलो रूप लिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरोले जोखिममा पारेपछि दुई वर्षअघि नै घरमा नबस्न अनुरोध गरिएको थियो । तर, स्थानीय दीर्घकालीन रूपमा कतै सर्न मानेनन् । मानवीय क्षति नभए पनि पहिरो बढ्दै गएमा क्षति हुन सक्ने भएका स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न भनिएको छ । उनीहरूका लागि तत्काल अस्थायी टहरा बनाएर बसाउने योजनामा रहेको बस्नेतले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?