कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वीरगन्ज महानगरका वडाध्यक्षसहित थप ३८ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका– १२ का वडाध्यक्ष रामदरस कुशवाहासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडाध्यक्ष कुशवाहाले साउन १५ मा वीरगन्ज– ११ स्थित श्रीपुर स्कुलमा स्वाब दिएका थिए ।

वीरगन्ज महानगरका वडाध्यक्षसहित थप ३८ जनामा कोरोना

‘केही दिन पहिले ज्वरो आएकोले स्वाब परीक्षणको लागि दिएको थिएँ,’ कान्तिपुरसँग वडाध्यक्ष कुशवाहाले भने, ‘आइतबार पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आएको जानकारी पाएको छु ।’

नारायणी अस्थायी कोरोना अस्पतलाका इन्चार्ज डा. निरज सिंहका अनुसार आइतबार साँझ गरिएको परीक्षणमा ४ जना महिलासहित २६ देखि ६४ वर्ष उमेर समूहका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना बाराका बासिन्दा हुन् ।

३८ जना संक्रमितमध्ये वडा ११ श्रीपुरका २७ जना रहेका छन् । शनिबारमात्र सोही वडामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वडा ११ का अध्यक्ष प्रदम्‍न सेढाईंका अनुसार साउन १५ मा भएको भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्ट्याक्ट ट्रेसिङका थिए ।

पोजिटिभ आएका संक्रमित पनि आइसोलेसनमा जान नमानेको उनले बताए । ‘मुर्ली चोकका ६ जना संक्रमितको घरमा आइसोलेट भएर बस्ने अवस्था छैन,’ सेढाईंले भने, ‘जति सम्झाउँदा पनि कोरोना अस्पताल जान मानेका छैनन् ।’ आइतबार वीरगन्जको घडीअर्वापोखरी र विर्तामा पनि संक्रमित थपिएका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका, वीरगन्जको आर्मी ब्यारेक र जिल्ला प्रहरी कार्यालयमा पनि कोरोना संक्रमित देखिएका छन् । साउनयता पर्सामा ३ सय ९० नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित : श्रावण १८, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?