कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायपालिकाबारे जथाभावी नलेख : बार

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतबाट पछिल्लो समय भएको विवादास्पद फैसलामा मौन रहेको नेपाल बार एसोसिएसनले तीन सातापछि न्यायालयको जनआस्थालाई कमजोर नपार्न आग्रह गरेको छ । 

फैसला सार्वजनिक भएको लामो समय मौन रहेको बारले बैठकबाट आफ्नो धारणा सार्वजनिक गरेको हो । बारले विज्ञप्तिमार्फत भनेको छ, ‘अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिसमा नलाग्न सम्पूर्ण सञ्चारमाध्यम तथा सर्वसाधारणहरुमा हार्दिक अपिल गर्दछौं ।’

बारले साउन १६ गतेको बैठकबाट निर्णय गरी देशभरका अदालतहरुबाट विकृति, विसंगतीजन्य आदेश र फैसला कुनै भएको पाइएमा अध्ययन गर्न र त्यसको जानकारी नेपाल बार एसोसिएसनलाई पठाउन आग्रह गरेको छ । तर रोचक के छ भने, यसअघि नै एनसेलको बहुचर्चित विवादास्पद फैसलामाथि अध्ययन गर्ने भनेको बारले त्यसलाई केवल घोषणामा सीमित गरेको थियो ।

एकाध फैसलालाई लिएर सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भएकाले न्यायपालिकाको जनआस्थामा गम्भीर दख्खल पुग्न जाने भन्दै त्यस्ता आदेश र फैसला नहुनुपर्ने बताएको छ ।

अदालतका अदोश र फैसलामा बौद्धिक बहस स्वाभाविक मानिए पनि समग्र न्यायपालिका र न्याय प्रणालीप्रति अनास्था फैलाउन नहुने भन्दै बारले सर्वोच्च अदालतको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन माग गरेको छ ।

सम्बन्धित समाचार


प्रकाशित : श्रावण १८, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचार विरुद्धको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

डिल्लीराम खतिवडा

उदयपुर — बेलका नगरपालिकामा भ्रष्टाचार भएको भन्दै विपक्षी नेपाली कांग्रेससहितका दलले आइतबार दिउँसो गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपछि भएको दोहोरो झडपमा एक प्रहरी जवानसहित दर्जन बढी घाइते भएका छन् । 

नगर प्रमुख दुर्गाकुमार थापासहितका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थीक अनियमितता भएको भन्दै कांग्रेससहितको विपक्षी दलको गठबन्धनले केहि दिनयता नगरपालिका घेराउ गर्दै आएको थियो । यसैक्रममा आइतबार नगरपालिका घेराउ गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

झडपमा परि एक प्रहरी जवान सहित केहि प्रर्दशनकारी घाइते भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।घाइते अधिकांशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ ।बेलका नगरपालिकको रामपुर बजार कोरोना जोखिम भएकाले प्रर्दशन, भेला र सभा गर्न निषेध गरिएपनि ठूलो संख्याको उपस्थितीमा प्रर्दशन भएपछि नियन्त्रण गर्न खोज्दा झडप भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । ‘प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास भयो,’ प्रहरी उपरीक्षक दाहालले भने, ‘त्यसै क्रममा झडप हुँदा एक प्रहरी जवान र केहि प्रर्दशनकारी घाइते भएका छन् ।’

साउनको पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै राजीनाको घोषणा गरेकी थिइन् । त्यसयता विपक्षी कांग्रेससहित राप्रपा, समाजवादी लगायतका दलको गठबन्धन आन्दोलित छन् । तर साउन ११ गते उपप्रमुख चौधरीले विज्ञप्ती निकालेर आत्मआलोचना गर्दै राजीनामा नगर्ने बताइसकेकी छन् ।

स्थानीय सरकार र नेकपाले उपमेयरलाई थमथमाएर भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कांग्रेससहितका विपक्षी दल आन्दोलित बनेका हुन् ।नगर प्रमुख थापासहितका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको उपप्रमुखबाटै बाहिरिएपछि कांग्रेससहितका दलले छानबिनको माग गर्दै नगरपालिकामा धर्ना दिइरहेको कांग्रेसका स्थानीय नेता प्रेम अधिकारीले बताए ।

प्रकाशित : श्रावण १८, २०७७ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×