स्वेच्छाले निकास दिनुस् : दाहाल, त्यो कुरै नगर्नुस् : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन १३ मा दुवैले चालेको कदमलाई लिएर नेकपाका दुई अध्यक्षले एकअर्कामाथि आरोप-प्रत्यारोप लगाएका छन् । आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा साउन १३ मा दुवैले अर्काको कदममा आपत्ति जनाएका हुन् । 

स्वेच्छाले निकास दिनुस् : दाहाल, त्यो कुरै नगर्नुस् : ओली

साउन १३ मा तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि दाहालले बहुमत सदस्य राखेर बैठक गरेका थिए । यसैलाई लिएर आइतबार ओली र दाहालबीच भनाभन भएको एक नेताले बताए ।

छलफलमा ओली र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागि थिए । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका दाहालले छलफलका लागि वरिष्ठ नेता खनाललाई लगेका थिए भने ओलीले नेम्वाङलाई राखेका थिए । साउन १३ मा बहुमत स्थायी कमिटीको बैठक बस्नुअगाडि पनि दाहाल र खनालले ओलीसँग बालुवाटारमा संवाद गरेका थिए । त्यसदिन दुवैले एकतर्फीरुपमा कदम चालेपछि उनीहरुबीच अविश्वास बढेको थियो । त्यसपछि ओली र दाहालबीच भेट भएको थिएन ।

दाहाल र खनालले १३ गते बैठक एकतर्फीरूपमा स्थगित गर्नु गलत भएको हुँदा आफूहरु बैठक बस्न बाध्य भएको बताएका थिए । तर, ओलीले त्यो बैठक नभएर भेला भएको बताएका थिए । दाहाल र खनालले त्यो भेला नभएर बैठक भएको बताएपछि ओलीले आफू बिना बैठक बस्ने भनेर असन्तुष्टि राखेको ती नेताले बताए ।

बैठकले ‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ भन्ने निष्कर्ष निकालको थियो । यसमा ओलीको आपत्ति थियो ।

आइतबारको भेटमा पनि पार्टीभित्रको गतिरोध हटाउने गरि दुई अध्यक्षबीच ठोस सहमति भएको छैन । तीन घण्टा छलफलमा बसेका अध्यक्षद्वय ओली र दाहालबीच कुनै सहमति जुट्न नसकेको स्रोतहरुले बताएका छन् । उनीहरुबीच स्थगित बैठक कहिले गर्ने भन्नेसमेत सहमति भएको छैन ।

एक नेताका अनुसार छलफलमा दुवै अध्यक्षले आफ्ना अडान राखेपछि कुनै सहमति जुट्न नसकेको हो । दाहाल र खनालले ओलीलाई दुई पदमध्ये एक पद स्वेच्छाले छाडेर निकास दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने दाहाल समूहको मागलाई ओलीले अस्वीकार गर्दै आएका छन् । आइतबार पनि ओलीले आफ्नो अडान दोहोराएका छन् । जवाफमा ओलीले भनेका थिए- 'त्यो कुरै नगर्नुस् । मैले अहिले कुनै पद छाड्न मिल्दैन । बरु महाधिवेशन छिटो गरौं । त्यसमा नै छलफल गरौं ।’

त्यसपछि दाहालले आफूहरु पनि महाधिवेशनबाट भाग्न नखोजेको तर तत्काल निकासका लागि दुईमध्ये एक पद स्वच्छाले छोड्नुपर्ने अडान दोहोर्‍याएको ती नेताले बताए ।

अध्यक्ष दाहालसहित नेता खनालले स्थायी कमिटी बैठक बोलाउनु पर्ने र केन्द्रीय कमिटीको पनि बैठक बोलाउनु पर्ने अर्को प्रस्ताव गरेका थिए । तर, ओली स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि तयार नभएको ती नेताले बताए । ओली पहिला सचिवालयमा ठोस सहमति भएपछि मात्रै स्थायी र केन्द्रीय कमिटीमा जानेपक्षमा छन् ।

दाहालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीसँग थप संवाद गर्न र अर्को बैठकको मिति तय गर्न दाहाललाई जिम्मा दिएको थियो । त्यसयता दुई अध्यक्षबीच संवादहिनताको अवस्था थियो ।

तर, बिहीबार दाहालले महासचिव विष्णु पौडेललाई खुमलटार बोलाएर निकास निस्कने गरी छलफलमा बस्न ओलीलाई प्रस्ताव गरेका थिए । महासचिवको लबिइङपछि दुई अध्यक्ष आफू निकटका नेता राखेर छलफलका लागि तयार भएका हुन् । साउन १३ बाट नयाँ मोडमा पुगेको पार्टी विवादको समाधानका लागि नयाँ शिराबाट सहमति खोज्ने प्रयास भएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?