कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेकपा विवाद: बढ्दै दाहालमाथि दबाब

बबिता शर्मा

काठमाडौँ — एक महिनादेखि नेकपामा जारी शक्तिसंघर्ष लम्बिदै जाँदा अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब बढ्दै गएको छ । विकसित घटनाक्रम र बदलिँदो समीकरणले अर्का अध्यक्ष ओलीसँग सिधा–सिधा टकराव गरेका दाहालमाथि दबाब बढ्न थालेको हो । 

नेकपा विवाद: बढ्दै दाहालमाथि दबाब

यही कारण नेकपामा दाहाल अब केन्द्रीय कमिटीतिर छलफल मोड्ने तयारीमा छन् । बैठक बोलाउन माग गर्दै उनी र वरिष्ठ नेता नेपाल निकट एक सय ५२ सदस्यले केन्द्रीय कार्यालयमा पत्रसमेत दर्ता गराएका छन् ।

सुरुमा केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग राखेका दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एक कदम पछाडि हटेर एउटा पद छाड्दा पनि हुने ठाँउमा पुगेका छन् । स्थायी कमिटीमा अंकगणितमा ओलीको तुलनामा दाहाल–नेपाल पक्ष बलियो रहे पनि उनीहरुका माग सम्बोधनमा ओलीले कुनै चासो दिएका छैनन् । त्यसैले नेपालको तुलनामा दबाब दाहालमाथि धेरै देखिएको छ । दाहालले आइतबार वरिष्ठ नेता झलनाथ खनाललाई लिएर ओलीसँग संवाद गरेका छन् ।

पूर्व माओेवादी तितरवितर, तित्ततापूर्ण सम्बन्धकै बेला माधव नेपाल र ओलीबीच भएको गोप्य संवाद, दाहाल–नेपाल समूहकै स्थायी कमिटी सदस्यहरु नै सरकारलाई निरन्तरा दिने पक्षमा देखिनु र वामदेव र बादलका आ–आफ्ना तयारीले सचिवालयमा बदलिएको शक्ति सन्तुलनले दाहालमाथि दबाब बढेको नेताहरुको बुझाई छ ।

योबीचमा दाहाल–नेपाल खेमामा ओली पक्षको हस्तक्षेप र प्रस्तावले पनि दाहालमाथि दबाब बढेको उनीनिकट नेताहरु बताउँछन् । ‘घटनाक्रम र बदलिएको समीकरणले दाहालमाथि दबाब बढेको देखिन्छ,’ नेपाल निकट स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘विवादको समय लम्बिदै जाँदा ओलीलाई सहज र दाहाललाई दबाब भएको देखिन्छ ।’

यद्यपि साउन १३ मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी स्थगन गरेको स्थायी कमिटी बैठक दाहालले एकतर्फीरुपमा बसालेर एकअर्कामाथि दबाब बनाउने कोशिष गरेका थिए । दाहाल आफैंले पनि कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अडानबाट पछाडि हटन सक्ने संकेत गरेका छन् ।

‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ । यो पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने, पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,’ दाहालको भनाई थियो, ‘पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं ।' त्याग गर्दै आएका छौँ भन्ने दाहालको यो भनाइले उनीमाथि दबाबको संकेत पनि दिन्छ ।

दाहालमाथि दबाब बढेका पाँच उदाहरण

पूर्व माओेवादी तितरवितर

पार्टी विवादमा पूर्वमाओवादी समूह तितरवितर छ । एकढिक्का भएर यो समूह दाहालको पक्षमा छैन । सचिवालय सदस्य रामबहादुर थापा नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, देवेन्द्र पौडेल, हरिबोल गजुरेल र मणि थापाले ओलीलाई पनि भेट्दै आएका छन् ।

सचिवालय सदस्य थापा, स्थायी कमिटी सदस्य रायमाझी, भट्ट र थापा गत मंलगरबारको स्थायी कमिटीका बुहमत सदस्यहरुको बैठकमा सहभागि भएनन् । त्यसपछि भट्टबाहेकका नेताहरुलाई खुमलटार बोलाएर दाहालले छलफल गरे र आश्वस्त हुने कोशिससमेत गरेका थिए । आफ्नो खेमाका नेताहरू नै तितरवितर हुन थालेपछि दाहालमाथि दबाब बढ्दै गएको छ । अर्कोतिर वरिष्ठ नेता नेपाल समूहले पनि दाहाल निकट भनिएका नेताहरु तितरवितर हुँदा शंकाको दृष्टिले हेरेका छन् ।

माधव नेपाल र ओलीबीच संवाद

नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला वरिष्ठ नेता नेपालले साउन ९ गते राति प्रधानमन्त्री ओलीसँग सुटुक्क भेटे । ओली र नेपालबीच अचानक भएको भेटले दाहाल निकट नेताहरुलाई झस्कायो । दुई नेताबीच शक्ति बाँडफाट र महाधिवेशनमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो । ओलीले महाधिवेशनमा पार्टी अध्यक्ष र अहिले महाधिवेशन आयोजक समितिको संयोजक बन्न नेपाललाई प्रस्ताव गरेको दाहाल पक्षको बुझाई छ । कतै ओली र नेपालबीच सहकार्य हुन्छ कि भन्ने संशय दाहालमा छ, जुन उनीमाथि यतिबेला दबाब बढाउने अर्को अस्त्र बन्यो ।

यद्यपि नेता नेपालले अर्का अध्यक्ष दाहाल लगायतका नेतालाई उक्त भेटबारे ब्रिफिङ गरेका थिए । ओलीसँग नेपालको भेटको समय र विषयबस्तुको गोपनियताले संशय पैदा भएको छ । त्यसै दिन दिउँसो नेपालले ओलीमाथि आक्रामक अभिव्यक्ति दिएका थिए ।

दाहाल–नेपाल समूहकै नेता सरकारलाई निरन्तता दिने पक्षमा

दाहाल र नेपाल समूहका केही नेताहरु सहमतिबिना ओलीको राजीनामा गराउन नहुने पक्षमा छन् । उनीहरूले बहुमतबाट निर्णय गर्दा पार्टी फुटमा जाने धारणा राख्दै आएका छन् । यो धारमा सरकारमा रहेका नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराई छन् । दाहाल निकट नेता रामबहादुर थापा, जनादर्न शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापा पनि सहमतिबिना तत्काल ओलीलाई हटाउन नहुने पक्षमा देखिएका छन् । उनीहरु सरकारको विकल्प खोजिहाल्न नहुने पक्षमा छन् । दुवै पदबाट ओलीको राजीनामा मागेकै समूहका नेताहरु लचक हुँदा दाहालमाथि दबाब छ ।

बामदेव र बादलका आ–आफ्ना तयारी

यसअघि दाहाल–नेपाल समूहमा रहँदै आएका पार्टी उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे विज्ञप्तिले पनि दाहालमाथि दबा बढाएको छ । ओलीबाट सरकार पार्टी चल्न नसकेको भन्दै राजीनामा मागेका गौतमले अचानक साउन १३ गते ओलीलाई पाँचै बर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट हटाउन नहुने सहमतिको प्रस्ताव अगाडि सारे ।

यस्तै, सचिवालय सदस्य थापाले पनि आफ्ना समूहका स्थायी र केन्द्रीय कमिटी नेताहरुसँग साउन १५ मा गोप्य छलफल गरे । उक्त छलफलमा थापाले ओलीलाई हटाउँदा प्रतिगमनको खतरा रहेको संकेत गरेर सहमतिबिना कुनै कदम चाल्न नहुने धारणा राखेका थिए । सचिवालयमा यी दुई नेताले सहयोग नगरे दाहाल–नेपाल समूह अल्पमतमा पर्छ । यसले पनि दाहालमाथि दबाब बढेको उनी निकट नेताको दावी छ ।

दाहाल–नेपाल खेमामा ओली पक्षको हस्तक्षेप र प्रस्ताव

दाहालनिकट भनिएका केही नेताहरु पछिल्ला दिनमा ओलीसँग संवादमा छन् । प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र सुवास नेम्वाङसहित दाहाल समूहका सात नेताबीच बुधबार साँझ बालुवाटारमा छलफल भएको थियो ।

रामबहादुर थापा, जनार्दन शर्मा, टोपबहादुुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखराज भट्ट र मणि थापा यसमा सहभागि थिए । त्यसबाहेक ओलीले भिन्दाभिन्दै पनि विभिन्न चरणमा ती नेतालाई भेटेका छन् । ओलीले केही नेताहरुलाई मन्त्री बनाउने प्रस्तावको प्रलोभनमा दाहाल निकटका नेताहरु परेको समेत चर्चा पनि खुमलटारमा हुने गरेको छ ।

साथै, नेपाल समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्रीसँग नियमित संवादमा छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग ओलीले संवाद गर्दै आएका छन् । यी संवादले दाहालमाथि दबाब बनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?