कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विराटनगरमा परीक्षण बढाइयो

देवनारायण साह

मोरङ — पछिल्ला पाँच दिनका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दुई साताका लकडाउन गरिएको विराटनगरमा पीसीआर परीक्षणलाई तीव्रता दिइएको छ । लकडाउनका कारण शनिबार महानगरको मुख्य बजार क्षेत्र सुनसान रह्यो । संक्रमण रोकथामका लागि गरिएको लकडाउनमा स्वाब परीक्षण बढाइएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

विराटनगरमा परीक्षण बढाइयो

‘दैनिक सय जना हाराहारीको संख्यामा हुँदै आएको पीसीआर परीक्षणलाई ५ सय पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘समाजमा घुलमिल भइरहने र धेरै जनसम्पर्क भएकाहरू नै संक्रमित भएपछि लकडाउन गरेर परीक्षणको दायरा बढाउनुको विकल्प थिएन ।’ शुक्रबार रातिदेखि महानगर दुई साताका लागि लकडाउन गरिएको छ ।

लकडाउनले सर्वसाधारणको चलायमान अवस्थालाई स्थिर बनाउँदा परीक्षणको दायरा बढाइएको कार्कीले बताए । ‘व्यापारी, चिकित्सक, समाजका अगुवा र सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । यी सबै समुदायमा बढी घुलमिल हुने भएकाले संक्रमण विस्तार भयो,’ उनले भने, ‘महानगरमा संक्रमण पुष्टि भएका ६७ जनाको ट्राभल हिस्ट्री छैन ।’

समुदायमा पहिचान हुन नसकेका संक्रमितहरूलाई पीसीआर गरेर निकाल्न महानगरको ध्यान केन्द्रित रहेको उनले बताए । महानगरमा हालसम्म संक्रमण पुष्टि भएका १ सय ८ जनामध्ये ३० जना निको भएर घर फर्केका छन् । संक्रमण पुष्टि भएकामध्ये कोसी अस्पतालका एक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५, विराट नर्सिङ होमका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी २१, प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरीलगायत समाजका अगुवाहरू छन् ।

विराटनगरमा कसरी बढ्यो ?

यसअघि सरकारले गरेको लकडाउन अवधिभर शान्त रहेको विराटनगर लकडाउन खुल्नेबित्तिकै संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुलेपछि विराटनगरमा काम गर्ने भारतीय मजदुर, व्यापारी, सैलुन, मोटरसाइकल तथा सवारीसाधन मर्मत गर्ने ग्यारेजका मिस्त्री, सञ्चालकलगायतका भारतबाट आएर आ–आफ्ना काम लागेका थिए ।

प्रदेश २ का विभिन्न जिल्लाबाट विराटनगर आइपुग्ने पनि थुप्रै भए । प्रदेश २ बाट बिरामीहरू पनि विराटनगरका अस्पतालमा उपचारका लागि आएको र सुरक्षात्मक उपाय अपनाउन बेवास्ता गरेकाले स्वास्थ्यकर्मीमा संक्रमण सरेको चिकित्सकहरू नै बताउँछन् । ‘एकातिर संक्रमणको उच्च जोखिम रहेको भारत र प्रदेश २ बाट बिनारोकटोक सर्वसाधारण आए र अर्कोतिर लकडाउन खुलेपछि महानगरवासीले सुरक्षात्मक उपाय अपनाउन बेवास्ता गरे । नतिजामा संक्रमण फैलियो,’ जनस्वास्थ्य प्रमुख कार्कीले भने, ‘पहिले अस्पतालमा उपचारका लागि आएका बिरामीबाटै चिकित्सकमा संक्रमण फैलियो र पछि चिकित्सकबाट अन्य बिरामी, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि फैलिएको देखिन्छ ।’ प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीको समन्वयमा नै सीमा क्षेत्रमा कुनै पनि किसिमको घूसपैठ हुन नदिई पूर्णरूपमा कडाइ गर्ने निर्णय गरिएको उनले बताए । ‘समुदायमा पुगेको’ संक्रमण नियन्त्रणका लागि नगरवासीले सचेतता अपनाउनुको विकल्प नभएको कोसी अस्पतालका डा. लक्ष्मीनारायण यादवको भनाइ छ । मोरङमा हालसम्म संक्रमण पुष्टि भएकाको संख्या ३ सय १४ पुगेको छ । यिनमा २ सय ९ जना अस्पतालको आइसोलेसनबाट निको भएर घर फर्किसकेका छन् । सुनवर्षी–८ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

प्रदेश १ मा शनिबारसम्ममा १ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ भने यिनमा ८ सय १४ जना निको भएर घर फर्किसकेका छन् । प्रदेशमा शनिबारसम्ममा ४३ हजार ७ सय २७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?