३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लकडाउन खुलेपछि बढ्यो संक्रमण

अतुल मिश्र

काठमाडौँ — लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा कोभिड–१९ को संक्रमण झन् बढेको छ । संक्रमितको संख्या शनिबारसम्म २० हजार नाघिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् । 

लकडाउन खुलेपछि बढ्यो संक्रमण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र पछिल्ला ११ दिनको तुलना गर्दा संक्रमण ०.८ प्रतिशत बढेको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ४५ नमुना कोरोना पोजिटिभ देखिएको थियो । यो कुल संकलित नमुनामा २.८ प्रतिशत हो । केही प्रतिबन्धसहित लकडाउन हटेको पछिल्ला ११ दिन (शनिबारसम्म) मा ५८ हजार १ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२ नमुना कोरोना पोजिटिभ देखिएको छ । यो कुल संकलित नमुनामा ३.६ प्रतिशत हो ।

‘वीरगन्ज, कैलालीलगायत भारतसँग सीमा जोडिएका ठाउँमा संक्रमण बढेको छ,’ डा.गौतमले भने, ‘सीमा क्षेत्रबाट भित्रभित्रै ओहोरदोहोर नभएको भए कसरी संक्रमण बढ्थ्यो ?’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले समेत पछिल्ला केही दिनमा देशव्यापी रूपमा संक्रमितको संख्या बढेको बताए । तराईका जिल्लाहरूसँगै राजधानी काठमाडौंमा समेत पछिल्ला दिनमा संक्रमितको संख्यामा उल्लेख्य वृद्घि देखिएको छ ।

काठमाडौंको जनसंख्या ५०–६० लाख रहेको औंल्याउँदै डा.गौतम कोरोना संक्रमण अझै विस्तार भए जनस्वास्थ्यमा ठूलो असर पर्ने चिन्ता व्यक्त गर्छन् । उपत्यकावासीले मास्क प्रयोग, सामाजिक दूरी र नियमित साबुनपानीले हात धुने नगरे समुदायमा व्यापक संक्रमणको विस्तार अन्य ठाउँको दाँजोमा तीव्र हुन्छ । यसमा संक्रमणको वृद्धिसँगै लक्षण भएका बिरामीको बढ्दो संख्या विज्ञहरूको टाउको दुखाइ भएको छ । देशका केही ठाउँमा समुदायमै संक्रमण आशंका गरेका विज्ञहरूले राजधानीमा यही गतिले संक्रमण विस्तार भए स्थिति अत्यन्त गम्भीर हुने चेतावनी दिएका छन् ।

पछिल्ला केही दिनयता संक्रमितहरूमध्ये करिब एक तिहाइमा कुनै न कुनै प्रकारको लक्षण देखिएको छ । ‘लक्षण भएका संक्रमितको बढ्दो संख्याले आगामी दिनमा थप विशेष सतर्कता अपनाउनु आवश्यक देखिएको छ,’ डा.पाण्डेले भने । हाल वीरगन्ज, विराटनगर आदिमा गरिएको लकडाउन स्वास्थ्य मन्त्रालयले नभई स्थानीय सरकारले गरेको औंल्याउँदै डा.गौतम कोरोनाको केस बढ्दा स्थान विशेषमा लकडाउन गर्नुको विकल्प नरहेको बताउँछन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले समुदायमा कोरोना संक्रमण फैलिए कडा लकडाउन वा कर्फ्युबाहेकको विकल्प नरहने बताए । हालको संक्रमणको विस्तारमा विभिन्न प्रक्रिया अपनाउँदै व्यापक रोक नलगाइए समुदायमा कोरोना फैलिन सक्ने डा. शाहको भनाइ छ । कोरोनाले आईसीयूमा उपचार गराउनुपर्ने अवस्था आउनुका साथै मृत्यु देखिन थालिएकाले विज्ञहरूले सरकार एक्लोको प्रयासले मात्र कोरोनाविरुद्घको लडाइँ जित्न नसकिने औंल्याएका छन् ।

प्रकाशित : श्रावण १८, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?