कांग्रेसमा सभापतिमा उठ्ने सिंहको घोषणा

पार्टीको १४ औं महाधिवेशनमा नेतृत्वका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह सशक्त दाबेदार हुन् । देशभर घुमेर आफ्नो पक्षमा माहोल बनाइरहेका उनले कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि भित्रभित्रै तयारी तीव्र पारिरहेका छन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतरपक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् । उनलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजेका छन् तर खुल्न सकेका छैनन् ।

इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो सम्पर्क कार्यालय खोलेरै गतिविधि अघि बढाइरहेका छन् । आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उनले निर्णय लिइसकेका छैनन् । सभापति देउवाको पार्टी सञ्चालनको तदर्थवाद शैली र विधानविपरीतका गतिविधिमा सिटौला र पौडेल पक्षबीच समानता छ । तर, नेतृत्व चयन गर्ने सवालमा एकै ठाउँमा उभिन सक्छन् या सक्दैनन् भन्ने प्रश्न खडा छ ।

संस्थापनइतर पक्षमा नेतृत्वका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा देउवाबाट नेतृत्व फुत्काउन इतरसमूहबाट एउटै उम्मेदवार हुने दाबी गरे । सिटौलासमेत आफ्नो पक्षमा आउने दाबी उनको थियो । त्यसो भनिरहँदा सभापति उम्मेदवारका आकांक्षीहरु महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सँगै थिए । के पौडेलले भनेजस्तै संस्थापनइतर पक्षमा एउटै उम्मेदवार होलान् त ? यसको निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने धारणा राख्छन् पूर्वमहामन्त्री सिंह । सिंह आफैं इतर समूहका सशक्त दाबेदार हुन् । उनले आफ्नो दावा बलियो बनाउनका लागि भित्रभित्र तयारीसमेत तीव्र पारेका छन् ।

कस्तो छ त सिंहको तयारी ?

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्नुअघि नै कांग्रेस नेता प्रकाशमान सिंहले ७७ जिल्लाकै भ्रमण सकिसकेका थिए । त्यसपछि सुरु भएको प्रतिकूल परिस्थितिमा पनि चाक्सीबारीस्थित उनको निवासमा चहलपहल यथावत् रह्यो । सामाजिक सञ्जालमा अभ्यस्त नभएका सिंहका लागि घर नै कार्यकर्तासँग भिज्ने र अन्तरक्रिया गर्ने मुख्य माध्यम पनि थियो । बिहान ११ बजे चाक्सीबारी पुग्दा उनी कार्यकर्तासँगै थिए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘बाहिर कार्यक्रम नपरेका दिन आएका सबै जनासँग भेट्छु, यस्तो क्रम बिहान ८ देखि १२–१ बजेसम्म पनि चल्छ ।’

सिंह निवास ‘चाक्सीबारी’ लोकतान्त्रिक आन्दोलनको इतिहाससँग पनि जोडिएको छ । कांग्रेसका संस्थापक एवं ०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका धेरै सपना र योजना यही निवासमा तय भएका थिए । अहिले पनि नेता–कार्यकर्तामा गणेशमानको झझल्को उस्तै छ । त्यही झझल्को मेट्ने आदतले उनीहरूलाई यहाँसम्म डोर्‍याउने गर्छ ।

०४६ सालपछि आम कांग्रेसका लागि ब्रह्मा, विष्णु र महेश्वर भनेकै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला थिए । यिनै नेताको निवास कांग्रेस नेता–कार्यकर्ताको मुख्य धाम थियो । यी तीन धामको परिक्रमा गरेरै आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउने ऊबेलादेखिको परम्परा र आदतमा अहिले केही बदलाब आए पनि पूरै हटिसकेको छैन । बरु, तीन धाम विकेन्द्रित हुँदै धेरैवटा धाम बनेका छन् । तीमध्ये कांग्रेसको सिंगो इतिहास भिजेको चाक्सीबारीबाट गणेशमान पुत्र प्रकाशमानले एउटा ‘शक्ति केन्द्र’ चलाइरहेका छन् ।

पार्टीको संस्थापन इतरसमूहमा रहेका सिंह ०६४ सालयता नेता रामचन्द्र पौडेलसँग जोडिएका छन् । त्यसअघि उनी कांग्रेस सभापति देउवासँगै थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको असन्तुष्टिले पार्टी विभाजन हुँदा उनले देउवालाई साथ दिएका थिए । दुई पार्टीबीच एकीकरणलगत्तै उनले देउवालाई छाडे र पौडेल समूहमा जोडिन आइपुगे । ‘मैले हाकाहाकी देउवालाई साथ दिएँ र हाकाहाकी नै तपाईंको कार्यशैली मन परेन भनेर छाडिदिएँ,’ सिंहले भने, ‘पार्टी सभापतिको साढे चार वर्षको कार्यकाल हेर्दा सभापतिजी सबै पक्षबाट असफल सावित हुनुभएको छ । मैले किन उहाँको साथ छाडें भन्ने कुरा व्यवहारले पुष्टि गराएको छ ।’

सभापतिको त्यही कमजोरीलाई समातेर सिंहले आसन्न महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि दौडधुप बाक्लो बनाएका छन् । तर, संस्थापन इतरपक्षका लागि सबैको एउटै चुनौती आफू मात्रै कसरी उम्मेदवार बन्ने भन्नेमै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आफैं उम्मेदवारका आकांक्षी हुन् । यसअघि १३ औं महाधिवेशनमा सभापति देउवासँगै चुनाव लडेर पराजित पौडेलले नेतृत्वमा आफूलाई एकपटक परीक्षण गर्न आग्रह गर्दै आएका छन् । त्यसपछिका पुस्ता भने यसै महाधिवेशबाट देउवा र पौडेललाई बिदाइ गर्न पाए हुन्थ्यो भन्नेमा छन् ।

संस्थापन इतरपक्षमा वरिष्ठ नेता पौडेलबाहेक दोस्रो पुस्ताका तीन आकांक्षी सतहमा छन् । कोइराला परिवारबाट महामन्त्री शशांक र शेखर दुवै दौडमा छन् । अन्तिममा यी दुई दाजुभाइमध्ये एक उम्मेदवार हुने आमबुझाइ छ । काठमाडौंको संगठनमा नेविसंघको अध्यक्षदेखि पार्टीको सभापति हुँदै केन्द्रमा उपसभापति, निर्वाचित पहिलो महामन्त्री, संसदीय दलको उपनेता, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भई संसदीय दलको नेतामा सभापति देउवासँगै प्रतिस्पर्धा गरेका सिंहले अबको आफ्नो उम्मेदवारीलाई ‘प्राकृतिक’ भनेका छन् ।

सिंहका अनुसार धेरै आकांक्षी भएकाले संस्थापन इतरपक्षले हतारमा उम्मेदवारी घोषणा नगर्ने समझदारी छ । महाधिवेशन प्रतिनिधि (मतदाता) छानिएपछि मात्रै औपचारिक रूपमा उम्मेदवार घोषणा हुनेछ । त्यसका लागि अझै केही महिना कुर्नुपर्नेछ । ‘त्यतिबेला प्रतिनिधिहरूसँग पनि परामर्श गरेर त्यसैका आधारमा हामी एउटै उम्मेदवार बनाउँछौं,’ उनले भने, ‘हामी सबैको मिसन मिलेको छ । त्यो भनेको सभापति शेरबहादुर देउवामा अब नेतृत्व रहन हुन्न भन्ने हो । त्यसैका लागि पनि एउटै उम्मेदवार हुनेमा मचाहिँ आशावादी छु ।’

संस्थापन पक्षमा देउवालाई चुनौती दिएर अर्को उम्मेदवार खडा गर्ने सम्भावना कम भएकाले इतरपक्षलाई दबाब खडा भएको छ । संस्थापन इतरपक्षमै रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका के हुन्छ भन्ने प्रस्ट छैन । उनी अहिले देउवा र पौडेल समूह कतैतिर पनि नभएको बताउने गरेका छन् । कम्तीमा तल्ला तहका अधिवेशन नसकिँदासम्म आफ्नै समूहलाई अघि बढाउने तयारी उनमा देखिन्छ । महाधिवेशनलाई लक्षित गरेरै उनले आफ्नो समूहको सम्पर्क कार्यालयसमेत यसै साताबाट सञ्चालनमा ल्याएका छन् ।

सिंहले कोइरालालाई नछाड्ने र कोइरालाले कसैलाई नछाड्ने परिदृश्य संस्थापन इतरपक्षमा झाँगिँदै गएको छ । यस्तो भए, यसको सोझो फाइदा सभापति देउवालाई हुनेछ । देउवालाई पनि इतरपक्षमा एउटै उम्मेदवार हुने विश्वास छैन । त्यसको लाभ आफूले लिन सकिनेमा उनी ढुक्कजस्तै देखिन्छन् । इतरपक्षीय नेता एवं निर्वाचित महामन्त्री शंशाकको साढे चार वर्षको कार्यकालसमेत आलोचनामुक्त छैन । उनले यसबीचमा पार्टी सञ्चालनका लागि सशक्त भूमिका निर्वाह नगरेकामा आफ्नै समूहबाट बढी आलोचना खेप्नुपरेको छ । पार्टीको बैठकमा पनि नबोल्ने नेताको छवि बनाएका छन् उनले ।

अर्का नेता शेखरलाई धेरैले ‘जुनियर’ को बिल्ला लगाएका छन् । संगठनप्रतिको लगाव र क्रियाशीलता शशांकभन्दा धेरै माथि शेखरको छ । कोइराला परिवारमै दुई दाजुभाइ, अनि गणेशमानपुत्र सिंहबीचको आपसी प्रतिस्पर्धाले एकले अर्कोलाई नमान्ने परिस्थिति आउन सक्ने र त्यसको लाभबाट आफूलाई उम्मेदवार बन्न सहज हुने बुझाइ वरिष्ठ नेता पौडेल पक्षले राखेका छन् । उनलाई आफ्नो नाममा मात्रै सर्वसम्मति बन्न सक्ने विश्वास छ । सिंहको पनि आफूपछिको दोस्रो रोजाइमा पौडेल हुन् । आफ्नो नाममा समझदारी बन्न नसके पौडेललाई अघि बढाउने योजना उनमा देखिन्छ । पौडेलको पनि आफूपछिको रोजाइमा सिंह नै पर्छन् । दुवै नेताका निकट केन्द्रीय सदस्यहरूले बताएअनुसार आफ्नो नाममा सर्वसम्मत हुन नसके दुवै नेताले एकले अर्कोलाई समर्थन गरेर अघि बढ्न सक्ने परिस्थिति खडा हुन सक्छ । त्यसपछि पनि कोइराला परिवारलाई मनाउने चुनौती भने हुनेछ ।

सिंहले भने अहिल्यै यस्तो अवस्था खडा भइनसकेको बताए । ‘हामी निरन्तर छलफलमा छौं, तर को उम्मेदवार बन्ने भन्नेमा प्रवेश गरेका छैनौं, सबैले आ–आफ्नो तयारी गर्नुभएको छ, मैले पनि गरेको छु तर कसको स्थिति सबल हुन्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधि चयन भएपछि मात्रै थाहा हुन्छ,’ उनले थपे ।

कोइरालालाई जस्तै सिंहका लागि पनि गणेशमानको विरासतको लाभ छ । अर्कोतिर राजधानीले अहिलेसम्म प्रधानमन्त्री र पार्टीको सभापति नपाएको भन्दै काठमाडौंवासीको मन जित्न खोजेका छन् । संगठनका लागि उनी चलायमान छन् । कार्यकर्तालाई समय दिन्छन् । कुरा सुन्छन् । राजधानीको पार्टी संगठन पनि उनकै अह्रनखटनमा छ । यति हुँदाहुँदै पनि उनलाई साम्प्रदायिक र राजधानीमा सीमित रहने नेताको आलोचना भने आइरहन्छ । सिंह आफूलाई माथि आउनबाट रोक्न खोज्नेहरूले यस्तो आलोचना गर्ने गरेको बताउँछन् । ‘काठमाडौंको सभापतिमा पहिला राजन केसीलाई र पछि सबुज बानियाँलाई अघि सारे, राजधानीमा सीमित भन्ने हो भने दुई वर्षमा ७७ वटै जिल्ला घुमिसकेको छु,’ सिंहले भने, ‘काठमाडौंमा नेवार समुदायले हामीलाई हेरिनस् भन्छन् । जिल्लाका लागि प्राथमिकता दिइनस् भन्छन् । दुईतिरकै चेपुवामा म परेको छु ।’

०००

राजधानीले नेतृत्व गर्ने बेला आयो : सिंह

  • तपाईंको तयारी कस्तो चल्दै छ ?

अहिले लकडाउनले गर्दा बाहिर जान पाएको छैन । कार्यकर्तालाई भेट्ने, बोलाएको ठाउँमा जाने, संगठनका लागि खट्ने काम नै हो । लकडाउन सुरु हुनुभन्दा अघि ७७ जिल्लामै घुमिसकेको छु । अब खुकुलो भएपछि जिल्लाहरूमा जाने योजना छ ।

  • आगामी महाधिवेशनमा तपाईंको योजना के छ ?

सभापतिले पार्टीलाई संस्थागत र विधिसम्मत रूपमा चलाउन सक्नु भएन । आफ्नो चार वर्षको सहज कार्यकालमा समेत नियमित महाधिवेशन गर्न सक्नुभएन । एक वर्षको कार्यकाल थप्ने काम भयो । अहिले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । यस्तो बेलामा विभागका संयोजक तोक्ने र सदस्यहरू मनोनयन गर्ने काम गरेर प्रभावित गर्न खोजिरहनुभएको छ । उहाँका गतिविधिले महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्नेमा हामीलाई ठूलो शंका छ ।

  • तपाईंहरूको भनाइ के हो त ?

सम्पूर्ण रूपमा महाधिवेशनलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ । अबको समय भनेको महाधिवेशनबाहेक अरू कुरामा हात हाल्ने होइन । अहिले आएर विभाग केका लागि बनाउने ? त्यही महाधिवेशनलाई प्रभावित पार्न सकिन्छ भनेर होइन ? अहिले कांग्रेसमा ए, बी र सी ग्रेड छ । नेता–नेताको यस्ता व्यक्तिगत संगठन भत्काउनुपर्छ । पार्टीलाई संस्थागत र विधिसम्मत रूपमा अघि बढाउनुपर्छ ।

  • त्यसो भए तपाईंले म हुनुपर्छ भन्नुभएको हो ?

अहिलेको सभापतिबाट राम्रोसँग पार्टी चलेन । अब नेतृत्व ट्रान्सफर हुनुपर्छ भन्नेमा हामीबीच समझदारी छ । यो मिसनमा हामी सबै एक ठाउँमा छौं । सभापतिलाई चुनौती दिन एउटै उम्मेदवार बन्नुपर्छ भन्ने पनि हामीलाई महसुस भएको छ । तर, को हुने भन्नेबारेमा अहिल्यै कुरा अघि बढेको छैन । महाधिवेशन प्रतिनिधि चयन भएपछि उहाँहरूको परामर्शसमेत लिएर हामी उम्मेदवार चयन गर्छौं ।

  • तपाईंहरू आकांक्षी नै बढी हुनुहुन्छ, कसरी एक बन्नुहुन्छ त ?

जब, मिसनमा एक ठाउँमा छौं भने उम्मेदवार पनि एउटै हुन्छ भन्नेमा मलाई विश्वास छ ।

  • त्यसो भए तपाईंको उम्मेदवारी के हुन्छ त ?

तलैदेखि संघर्ष गरेर आएँ, काठमाडौंमा नेविसंघ र पार्टीको सभापति भएको, केन्द्रमा केन्द्रीय सदस्यदेखि, उपसभापति, पहिलो निर्वाचित महामन्त्री, सरकारमा पटक–पटक मन्त्री, उपप्रधानमन्त्री र संसदीय दलको उपनेता हुँदै नेतामा प्रतिस्पर्धा गरिसकेकाले मेरो उम्मेदवारी प्राकृतिक हो । अर्को पक्ष राजधानीले अहिलेसम्म पार्टी र सरकारको नेतृत्व पाएको छैन । अब त्यो बेला पनि आउन लाग्यो भन्ने मलाई लाग्छ ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण १८, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड १९ को विश्वव्यापी असर : डिजिटलमा उत्साह, अन्यतिर निराशा

कुनै पनि देशको अर्थतन्त्र वृद्धि हुनु भनेको त्यहाँ सम्पत्ति बढ्नु र धेरै मानिसले रोजगारी पाउनु पनि हो । तर कोभिडका कारण संसारभरका देशको अर्थतन्त्र बढ्न सकेको छैन, बरु खुम्चिँदो अवस्थामा छ ।
एजेन्सी

चीनको वुहानबाट सुरु भएर संसारका १ सय ८८ देशको यात्रा गरेको कोभिड–१९ ले महामारीको रूप लिँदा विश्वले नयाँ आर्थिक र सामाजिक संकटको सामना गर्नुपरेको छ । यसको बहुआयामिक असरले नछोएको कुनै क्षेत्र छैन । कुनै एउटा भाइरसका कारण आउने महामारीले स्वास्थ्यबाहेकको क्षेत्रमा यो तहको असर गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो ।

कोभिड–१९ का कारण विश्वभर संक्रमितको संख्या १ करोड ७० लाख नाघ्दा साढे ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोभिडको संक्रमण मानिसमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि परेको छ । धेरै व्यापार व्यवसाय कोरोनाका कारण ठप्प छन् भने धेरैले रोजगारी गुमाएका छन् ।

विश्वका ठूला अर्थतन्त्रमै कोभिडका कारण बेरोजगार दर बढ्दो छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार ठूला अर्थतन्त्र भएका मुलुकमा कोभिडका कारण बेरोजगार दर बढेको छ । कोभिड–१९ पछि जापानमा बेरोजगार दर ३ प्रतिशत पुगेको छ भने अमेरिकामा १०.४ प्रतिशत जनसंख्या बेरोजगार छन् । इटालीमा बेरोजगार जनसंख्या करिब १३ प्रतिशत पुगेका छन् ।

कोरोनाका कारण निम्तिएको आर्थिक संकटका कारण रोजगारी सदाका लागि गुमेको मात्रै होइन, संसारभरका धेरै व्यावसायिक प्रतिष्ठानले आफ्ना केही कर्मचारीलाई कोरोना प्रभाव नसकिउन्जेल वा केही महिनाका लागि बिदामा राखेका छन् । धेरै देशमा यस्तो समस्या देखिए पनि फ्रान्स र चीन भने यसमा अपवाद हुन् । फ्रान्स र चीनमा कोरोना महामारीकै बीच कर्मचारी भर्ना लिने दर बढेको छ ।

लिंक्डइनबाट कर्मचारी भर्ना लिएको तथ्यांक केलाउने हो भने यी दुई देशमा मे महिनायता कर्मचारी भर्ना दर केही बढेको छ । तर अमेरिका, ब्राजिल, अस्ट्रेलिया जस्ता देशमा कर्मचारीको भर्ना दर नकारात्मक अवस्थामा छन् । तर लकडाउन खुकुलो भएसँगै लिंक्डइनमार्फत कर्मचारी भर्ना गर्ने दर केही बढ्न लागेको संकेत भने गरेको छ ।

कोरोनाबाट प्रभावित केही युरोपेली देशमा भने कर्मचारी केही समयका लागि बिदामा राख्ने क्रम बढ्दो छ । ब्लुमबर्गको तथ्यांकअनुसार फ्रान्समा १ करोड २० लाख मानिसलाई छोटो अवधिका लागि बिनातलब बिदामा राखिएको छ । यो संख्या भनेको फ्रान्सको कुल कामदारको ४१ प्रतिशत हो । कोरोनाका कारण बढी प्रभावित भएको इटालीमा पनि ७५ लाख मानिसलाई यस्तो खालको बिदामा राखिएको छ, यो त्यहाँका कुल कामदारको २९ प्रतिशत हो । कुनै पनि देशको अर्थतन्त्र वृद्धि हुनु भनेको त्यहाँ सम्पत्ति बढ्नु र धेरै मानिसले रोजगारी पाउनु पनि हो । तर कोभिडका कारण संसारभरका देशको अर्थतन्त्र बढ्न सकेको छैन बरु खुम्चिँदो अवस्थामा छ ।

अघिल्लो वर्षको तुलनामा घट्ने निश्चित भइसकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले कोभिड–१९ महामारीका कारण विश्वको अर्थतन्त्र ३ प्रतिशतले खुम्चने आकलन गरिसकेको छ । विश्व बैंकले जुनमा सार्वजनिक गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट रिपोर्टमा भने यो वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले खुम्चिने छ । यो अवस्था सन् १९३० को आर्थिक मन्दीपछि पहिलो पटक आएको हो । यो आकलनलाई मान्ने हो भने संसारले अहिले ९० वर्षयताकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गरिरहेको छ ।

आर्थिक मन्दी पनि सबै देशमा उस्तै हुने छैनन् । पर्यटनमा आश्रित इन्डोनेसिया र माल्दिभ्स जस्ता एसियाली मुलुकको अर्थतन्त्र ऋणात्मक हुने अनुमान धेरै अध्ययन र प्रतिवेदनको निष्कर्ष छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यस्ता देशका आर्थिक गतिविधि लगभग ठप्प हुने अवस्थामा पुगेका छन् । लकडाउन नियन्त्रणमा आए आगामी वर्षदेखि भने धेरै देशको अर्थतन्त्र सुधारोन्मुख हुने मुद्रा कोषको आकलन छ ।

कोभिड–१९ का सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र यातायात हुन् । बढी लगानी पर्ने हवाई क्षेत्र पनि कोभिडका कारण थला परेको छ । फ्लाइड राडारको तथ्यांकअनुसार सन् २०१९ को अप्रिलमा विश्वभर दैनिक हुने हवाई उडानको संख्या २ लाख हाराहारीमा हुन्थ्यो । तर यो वर्ष कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि विश्वभर दैनिक हुने हवाई उडानको संख्या ५० हजारभन्दा मुनि झरेको छ । अझै पनि धेरै देशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ । तर केही देशले भने उड्डयन सेवालाई पुनः सुरु गर्न थालेका छन् । कोरोनाबाट बढी प्रभावितमध्येको एक देश स्पेनले युरोपेली मुलुकबाट आफ्नो देशमा भित्रिनेलाई क्वारेन्टाइनमा बस्नसमेत नपर्ने गरी उड्डयन सेवा पुनः सुरु गरेको छ ।

केही देशले विदेशबाट भित्रिएपछि क्वारेन्टाइनमा बस्नुपर्ने सर्तसहित अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिएका छन् । तर अहिलेसम्म पनि उड्डयन क्षेत्र पुरानै अवस्थामा फर्कन सकेको छैन । बेलायतमा पनि अन्तर्राष्ट्रिय उडान केही खुकुलो गरिएको छ । लकडाउनका कारण उडान हुन नसक्दा हवाई सेवा दिने कम्पनी प्रभावित भएका छन् । आम्दानी गुमेपछि अमेरिकन एयरलाइन्सले आफ्ना करिब १० हजार उडान कर्मचारीसहित २५ हजार कर्मचारी कटौती गरेको छ । यो कम्पनीको कुल कर्मचारीको १० प्रतिशत हो ।

हवाई सेवा मात्रै होइन, विश्वप्रसिद्ध होटल चेन पनि कोभिडको मारमा परेका छन् । चर्चित होटल चेन हिल्टनले पनि कोभिड–१९ महामारीकै बीचमा २२ प्रतिशत कर्मचारी कटौती गरेको थियो । कोभिड–१९ ले अन्य क्षेत्रलाई मात्रै होइन, पैसाको कारोबार गरी धनी हुने प्रायः बैंकलाई पनि छाडेको छैन । युरोपको सबैभन्दा ठूलो बैंक एचएसबीसीले आफ्ना १५ प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरिसकेको छ । यो निर्णयको कार्यान्वयनसँगै ३५ हजार कर्मचारीको रोजगारी गुम्नेछ ।

तेल निर्यातमा आधारित अर्थतन्त्र भएको मुलुकलाई पनि कोभिड–१९ ले नराम्ररी प्रभाव पार्‍यो । कोभिड–१९ को संक्रमण रोक्न विश्वभर लकडाउन हुँदा र उद्योगधन्दा बन्द भएपछि तेलको माग लगभग शून्यमा झर्‍यो । माग नहुँदा यो वर्ष तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म आइपुग्यो । महामारीका बीच गरिएको लकडाउनका कारण कच्चा तेलको मूल्य १८ वर्षयताकै सस्तो भएको हो । तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक र रुसबीच उत्पादन कटौतीको विवादले कम भएको तेलको मूल्यलाई थप सस्तो पार्न लकडाउनले भूमिका खेल्यो ।

कोभिड–१९ का कारण आर्थिक मन्दी आएको अर्को उदाहरण उपभोक्ताको व्यवहार पनि हो । संसारभर उत्पादन ठप्प भएको छ, मानिसको आयमा कमी आएको छ जसको । प्रभावस्वरूप उपभोक्ताले किनमेलमा कमी गरिरहेका छन् । उपभोक्ताको यो व्यवहारमा आएको परिवर्तनस्वरूप महँगा ब्रान्डको बिक्रीमा निकै कमी आएको छ । सपर ट्र्याकले सार्वजनिक गरेको तथ्यांकअनुसार जुनमा मेक्सिकोमा खुद्रा व्यापारमा ८९ र चीनमा ३२ प्रतिशत कमी आयो । अमेरिकाको व्यापारमा ५२ प्रतिशत कमी आएको छ । सपर ट्र्याक विश्वभर खुद्रा व्यवसायको विश्लेषण गर्ने कम्पनी हो ।

अन्य व्यवसाय प्रभावित भए पनि ई–कमर्स साइटका लागि भने लकडाउन फाइदाजनक भयो । लकडाउनका कारण फस्टाएको व्यापारका कारण अमेजनका मालिक जेफ बेजोस विश्वकै धनाढ्यको सूचीमा नम्बर एक स्थानमा उक्लिए । योभन्दा नसोचेको फाइदा भने औषधि उत्पादक कम्पनीहरूलाई भएको छ । कोभिड–१९ को भ्याक्सिन निर्माणका लागि परीक्षण गरिरहेको कम्पनीको सेयरको भाउ ह्वात्तै उकालो लाग्यो । कोभिडविरुद्धको खोपका लागि परीक्षण गरेका अस्ट्राजेनाका र रोचे जस्ता कम्पनीको सेयरको भाउ नसोचिएको हिसाबले बढेको छ ।

प्रकाशित : श्रावण १८, २०७७ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×