राजकुमारको परिवारलाई १० लाख दिने सहमति

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेको साता दिनपछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने लिखित प्रतिबद्धता जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार साँझ भएको छलफलमा मृतकका परिवारलाई निकुञ्‍जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ दिने सहमति जनाएका हुन् । सहमतिपछि राजकुमारका बुवा विष्णुलाल उनको शव बुझ्न शनिबार काठमाडौं गएका छन् ।

मृतकका परिवारलाई राहत उपलब्ध गराउने मिति भने सहमतिपत्रमा उल्लेख छैन । ‘त्यसैले शव बुझ्न जाने कि नजाने भन्ने थियो । तर जनप्रतिनिधिहरुका साथै प्रशासककै रोहबरमा भएको सहमति पालना हुन्छ भन्ने विश्वासले बुझ्ने भइयो,’ विष्णुलालले भने ।

राप्ती नगर प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङको रोहबरमा सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र निकुञ्‍ज सुरक्षार्थ तैनाथ बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठसमेत सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

रुपाखेतीको विभागमा सरुवा भइसकेको छ । उनको ठाउँमा अणनाथ बराल आउने भएका छन् । बरालले जिम्मेवारी सम्हालिसकेका छैनन् । राहत उपलब्ध गराउने मिति उल्लेख नगर्नु र सरुवा भएका निकुञ्‍ज प्रमुखको उपस्थितिमा निर्णय भएका कारण परिवारले सहमति कार्यन्वयनमा आशंका प्रकट गरेका थिए । तर सबैले सम्झाएपछि उनीहरु शव बुझेर दाहसंस्कार गर्न राजी भएका हुन् ।

राजकुमारसहित मिलनटोलका ५ युवक र २ महिला गत साउन १ मा निकुञ्‍जको सिमाना राप्ती नदी तरेर निकुञ्‍जभित्र रहेको ज्युँडी खोला गएका थिए । खोलामा घोँगी र जंगलमा अमिलो टिप्ने योजना उनीहरुको थियो । उनीहरुलाई निकुञ्‍ज सुरक्षाका लागि खटिएका एक सैनिकले ज्युँडी खोलाबाट पक्राउ गरेका थिए । त्यसपछि कुटपिट गर्दै निकुञ्‍जको लिगलिगे पोस्ट पुर्‍याएका थिए ।

दुई महिलाबाहेक सबैले पिटाइ खाए पनि राजकुमार धेरै बिरामी परेका थिए । स्थानीय मेडिकलमा गरिएको उपचारले निको नभएपछि साउन ७ गते बुधबार राति उनलाई परिवारले पिप्लेबाट भरतपुर लगेका थिए । भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउने बित्तिकै चिकित्सकले राजकुमारलाई मृत घोषणा गरेका थिए । उनको बाटोमै मृत्यु भएको थियो । तत्काल किरिया खर्च एक लाख रुपैयाँ दिने भनेपछि परिवारका सदस्यहरुले पोस्टमार्टम गर्न स्वीकृति दिएका थिए । तर, भरतपुर अस्पतालले पोस्टमार्टमका लागि शव काठमाडौं पठाएको थियो ।

गत सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि परिवार शव नबुझी चितवन फर्केका थिए । शुक्रबार भएको छलफलमा घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने समेत सहमति भएको छ । मृतक राजकुमारकी डेढ वर्षीया छोरीलाई उमेर नपुग्दासम्म भरणपोषण र १२ कक्षासम्मको शिक्षाका लागि लोथर मध्यवर्ती उपभोक्ता समितिमार्फत चितवन निकुञ्‍जले सहयोग गर्ने पनि जनाइएको छ । राजकुमारको परिवार बस्ने घर मर्मतमा पनि निकुञ्‍जले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १७, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटमा १ हजार ३२२ संक्रमित निको भए

शिव पुरी

रौतहट — कोरोना संक्रमितहरु निको भएर धमाधम घर जान थालेपछि जिल्लाका आइसोलेसन वार्डहरु खाली हुँदै गएका छन् ।  एक हजार बढी संक्रमित रहेका रौतहटमा अहिले ६ जना मात्र आइसोलेसनमा छन् ।

जेठको पहिलो सातासम्म जिल्लाका आइसोलेसनहरुमा १ हजार ३ सय २८ संक्रमित थिए । हाल ६ जना मात्रै उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य छ ।

संक्रमितको संख्या एकै पटक बढेपछि आइसोलेसनको अभावका कारण राजपुर र ईशनाथ नगरपालिकाले संक्रमितहरुलाई क्‍वारेन्टाइनमै राखेका थिए । अहिले बिरामीहरु धमाधम कोरोना जितेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले सुनाए । ‘अहिले नै ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘अहिले ६ जना मात्र संक्रमति रहे पनि समुदायमा फैलियो भने संख्या बढ्न सक्छ । त्यसैले सबै सजग हुनु जरुरी छ ।’

उनले ‘हटस्पट’ को रुपमा चिनिएको जिल्लामा संक्रमतिहरु कुनै समस्या बिना घर फर्कनु सुःखद भएको सुनाए । जिल्ला प्रशासनको तथ्यांक अनुसार शनिबारसम्ममा १ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये १ हजार ३ सय २२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×