विचार र विधिको बहसलाई पद प्राप्तिका लागि हो भनेर गलत प्रचार गरियो : दाहाल- समाचार - कान्तिपुर समाचार

विचार र विधिको बहसलाई पद प्राप्तिका लागि हो भनेर गलत प्रचार गरियो : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको पनि गुनासो गरेका छन् । 

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । 'पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,' उनले भने ।

आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । 'पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं,' दाहालको भनाइ थियो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुदा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ थियो । 'पार्टी एकतालाई यो बहसले अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्नेछ । पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, परास्त गरिनुपर्छ । यो सबै एकताबाट हुने हो,' उनले भने, 'इतिहासका तितामिठा अनुभवहरूबाट शिक्षा लिएर जनता, कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ । एकता अक्षुण्ण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुनुहुँदैन । तिनको फर्छ्यौट ठीक ढंगले गरिनुपर्दछ भन्नेमा हामी सचेत छौं ।'

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको बताए ।

नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र दाहाल-नेपाल समूहबीच विवाद चर्किएको छ । स्थायी कमिटी बैठक जारी रहेको अवस्थामा यो विवाद सतहमा आएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम अभाव, खाद्यान्नको मूल्यवृद्धि

घनश्याम खड्का

म्याग्दी — लामो समयदेखि बेनी–जोमसोम सडकको विभिन्न खण्ड पहिरोले अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । मनसुन सुरु भएसँगै अनियमित भएको पेट्रोलियम पदार्थको ढुवानी गत असार २७ गतेदेखि बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जन बढी स्थानमा बाढीपहिरोले भत्काएपछि मुस्ताङमा  खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको ढुवानी ठप्प छ ।

ढुवानी रोकिएपछि खाद्यान्नमा मूल्यवृद्धि भएको छ । ‘दाउरा नपाइने मुस्ताङमा खाना पकाउने ग्याँस पाइँदैन, २२ सय पर्ने चामलको मूल्य बढेर ३५ सय पुगेको छ,’ जोमसोममा कार्यरत एक कर्मचारीले सुनाए ।

मुस्ताङमा नेपाल आयल निगमको डिलर (पम्प) नभएकोले व्यवसायीले बेनी र पोखराबाट ब्यारेल (२ सय २० लिटर क्षमताको ड्रम)मा भरेर डिजेल,पेट्रोल ल्याई पानीको बोतलमा भरेर बेच्ने गर्छन । खाना पकाउने एलपी ग्याँस पनि पोखराबाटै सिलिण्डर भरेर लैजाने गरिएको छ ।

‘पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि हाहाकार नै भएको छ । सडक मर्मत गर्न डोजर चलाउने समेत इन्धन समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले भने, ‘असारे विकासले पनि एक्कासि पेट्रोलियम पदार्थ सकिएको हो । खाद्यान्नमा मूल्यवृद्धि हुँदा कर्मचारी र निम्न वर्गका मजदुरलाई समस्या देखिन थालेको छ ।’

खाना पकाउने एलपी ग्याँस अभाव हुँदा ठूलो संख्यामा रहने सुरक्षाकर्मी, कर्मचारी र मजदुर समुदाय बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बजारमा खाना पकाउने एलपी ग्याँससमेत डिजेल, पेट्रोलको स्टक आउट छ ।

पेट्रोलियम पदार्थसँगै निर्माण सामग्री ढुवानी पनि रोकिएकोले मुस्ताङमा सञ्चालित विभिन्न पूर्वाधारका योजनाहरु प्रभावित भएका छन । पानी नपर्ने र गर्मी मौसम भएकोले मुस्ताङमा वैशाख–भदौ पूर्वाधार निर्माणको उपयुक्त समय हो ।

‘बाढीपहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्री ढुवानी पूरै रोकिएको छ,’ घरपझोङ्ग गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले भनिन्, ‘लकडाउनले गर्दा पर्यटन नआउने भएपछि व्यवसायीले पनि धेरै खाद्यान्न स्टक नराखेकोले सडक अवरुद्ध हुँदा छिट्टै अभाव देखिएको हो ।’

पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा सञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भइरहेको काम समेत धेरै योजना प्रभावित भएका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×