सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन
मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनीहरुलाई संक्रमण पुष्टि भएलगत्तै रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा एक जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण १७, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

मर्यादाको चिन्ता

‘मर्यादामा आघात न्यायाधीशको निर्णयले पुगेको हो कि निर्णयबारे जनताको टीकाटिप्पणीले ?’
शरच्चन्द्र वस्ती

लामो यात्राले लखतरान परेको रामजीवन माइक्रोबसबाट ओर्लनासाथ सीधै मामाघरतिर लम्कियो । कोरोनाको जगजगीबीच सप्तरीबाट काठमाडौं आउन त्यति सजिलो थिएन । तर लकडाउनका कारण चार महीनादेखि अड्किएको जग्गा–मुद्दाको चिन्ताले उसलाई घरमा बस्न दिएन । कथंकदाचित् त्यो मुद्दा बिग्रिएमा उसको घरबास उठ्ने थियो ।

रामजीवनलाई देखेर उसका मामा–माइजू भन्दा पनि १०२ वर्षे हजूरबा अर्थात् नानाजी दंग परे । ऊ मात्र त्यस्तो नाति थियो, जो घण्टौं उनका कुरा स्वाद मानेर सुनिरहन्थ्यो । राणाशासन देखे–भोगेका उनको स्मरणशक्ति यो उमेरमा पनि उम्दा थियो, त्यसवेलाका असंख्य घटना रिठ्ठो नबिराई वर्णन गर्थे । बोली उत्तिकै टडकारो थियो । कतै नलेखिएका, नसुनिएका, दन्त्यकथा जस्ता लाग्ने सत्यकथा सुन्न पाउँदा रामजीवन दंग पर्थ्यो । आजका जुनसुकै घटनालाई राणाकालमा लगेर दाँज्ने उनको बानी थियो । कोरोनाको कुरा चल्दा उनले भने, ‘महामारी त उसवेला पनि बरोबर आउँथ्यो र मान्छे सोत्तर हुन्थे, तर यसरी महीनौंसम्म आफ्नो घरमा कहिल्यै थुनिनु पर्दैनथ्यो ।’

भोलिपल्ट रामजीवनले सर्वोच्च अदालत पुगेर आफ्नो मुद्दाको खैखबर लिन खोज्यो । उसले ‘सप्तरीबाट आएको’ भन्नु के थियो, फाँटवालाले दुरदुर गर्‍यो, ‘लकडाउनभरि अदालतको शून्य समय हो भन्ने थाहा छैन ? अहिले सब काम बन्द छ । तपाईंहरू जस्ताको मुद्दा हेरिंदैन । कोरोना फैलिन सक्छ, तुरुन्तै फर्किहाल्नोस् । लकडाउन सकिएपछि आउनू ।’

फाँटवालाले सब काम बन्द छ भने पनि अदालत सुनसान थिएन । केही वकील ओहोरदोहोर गरिरहेका थिए र झगडिया जस्ता नलाग्ने केही मानिस यताउति गुजुमुज्ज परेर कुरा गरिरहेका थिए । त्यहीं भेटियो रामजीवनले चिनेको एउटा पुरानो वकील । उसले भन्यो, ‘आज रमाइलो होला जस्तो छ, एकछिन बस्नोस् है ।’

नभन्दै एकै छिन पछि ‘जितियो, जितियो’ भन्दै केही मानिस दुई जना वकीलसँगै अदालतभित्रबाट निस्केर दुइटा गाडीमा सवार भए । वकीलले ‘ल आउनोस्’ भन्दै रामजीवनलाई आफ्नो मोटरसाइकलमा बसायो । गाडीको पछि लागेर उनीहरू एउटा जेलमा पुगे । अदालतको आदेश देखेपछि जेलरले राताराता आँखा र लामो कपाल भएको, गजक्क परेको एक जनालाई जेलको ढोकाबाट बाहिर निकालिदियो । ऊ आफ्ना वकीलहरूसँग हात मिलाएर ‘भरे आउनोस्’ है भन्दै एउटा गाडी हाँकेर हुइँकियो ।

वकीलले सुनायो, ‘त्यो मान्छेले चार दिन अघि एउटी आइमाईलाई बीच बजारमा त्यही गाडीले किचेर मारेको थियो । मानिसले ठाउँको ठाउँ पाता फर्काएर प्रहरीलाई बुझाएका थिए । हेर्नोस् त, आजै छुट्यो ।’

‘कसरी छुटेको नि ?’

‘जेलमा राख्ता उसलाई असजिलो हुन्छ, खानपान मिल्दैन, रहनसहन मिल्दैन, स्वास्थ्य बिग्रन सक्छ भनेर रे ।’

‘यस्तो पनि हुन्छ ?’ रामजीवन स्तब्ध भयो, ‘अब सबै हत्यारा यसैगरी छुट्ने हुन् त ?’

‘सबै होइन, कोही कोही मात्र छुट्छन् ।

छुट्नलाई त माथिसम्म पहुँच हुनुपर्‍यो, भित्रभित्र धेरै हिसाबकिताब मिलाउन सक्नुपर्‍यो, त्यत्तिकै कहाँ हुन्छ र ?’ वकीलले कुरा बुझाउन खोज्यो, ‘अरूका लागि त अदालतमा सधैं शून्य समय नै छ नि । धाउँदै जाऊ, तारीख लिंदै जाऊ । के हतार छ ? बाबु मरे छोराले तारीख बोक्छ, के बिग्रन्छ ?’

कुरा नबुझेर अलमल्ल परेको रामजीवनलाई उसले भन्यो, ‘भोलि योभन्दा रमाइलो देखिनेवाला छ । दशै बजे आइपुग्नोस् है !’

बेलुका नानाजीलाई दिउसोको वृत्तान्त सुनाउँदा उनले भने, ‘हेर् नाति, उहिले उहिले पनि यस्तै हुन्थ्यो । जुद्धशमशेर महाराजकी एउटी भित्रेनी थिइन्, हात्ती चढेर शहर घुम्दा कुनै घरको झ्यालमा देखेपछि आठपहरिया लगाएर ल्याइएकी । नाम सपना थियो तर महाराजले स्वप्नपरी भन्थे । एक दिन तिनको टोल्याहा भाइले एउटी जनानालाई नरदेवी चोकमा दाउराको चिर्पटले हिर्काएर मारेछ र पक्राउ पर्‍यो । त्यसवेला स्वप्नपरीले भनिछन्— मर्ने मरिगई । अब मेरो भाइलाई जेल हाल्यो भने उसले दुःख पाउँछ । मासुभात खान नपाएर दुब्लाउला । चीसो ओछ्यानमा निद्रा नपरेर सिठ्ठो होला । अरू कैदीको पसीना गन्हाएर दमको रोगी होला । महाराजले निगाह गर्नुपर्‍यो । ...महाराज सारै दयालु थिए । उनले त्यसको सजाय माफ मात्र गरिदिएनन्, जागीर पनि दिए ।’

एक छिन अडिएर उनी मुसुक्क हाँसे, ‘हामीहरू त्यसलाई स्वप्नपरीको फैसला भन्थ्यौं । आज तैंले पनि स्वप्नपरीको फैसला देखिछस् ।’

रामजीवन भोलिपल्ट सर्वोच्च अदालत पुग्दा चहलपहल झन् बढेजस्तो थियो । त्यस दिन झन् ठूलो स्वरले ‘जितियो जितियो’ भन्दै एउटा जत्था अदालतबाहिर निस्क्यो र गाडीको लश्कर लिएर अर्को जेलमा पुग्यो । जेलको ढोकैनिर चारघोडे बग्गी राखिएको थियो । बाक्लो मेकअपमा एउटी अधबैंसे महिला बग्गीछेउ उभिएकी थिइन् । एकै छिनमा जेलरले भय जन्माउने अनुहारको एउटा अधबैंसे कैदीलाई ससम्मान बाहिर ल्यायो र सलाम ठोक्यो । अदालतबाट गएकाहरूले ताली बजाउँदै उसलाई सयपत्रीका माला लगाइदिए र टाउको झुकाएर हात मिलाए । महिला ङिच्च गर्दै ऊसँग टाँसिइन् । संक्षिप्त ‘फोटो सेसन’ भयो र ऊ ती महिलासँगै बग्गी चढेर सबैलाई हात हल्लाउँदै विजयी मुद्रामा प्रस्थान गर्‍यो ।

वकीलले रामजीवनका कानमा साउती गर्‍यो, ‘यो मान्छे ठूलै ओहोदामा थियो । आफ्नी श्रीमतीलाई मारेर पेट्रोल खन्याई जलाए बापत जेल परेको थियो । आधा सजाय पनि नभोगी आज सरक्कै छुट्यो । त्यो आइमाई यसकी प्रेमिका हो । त्यसैका लागि श्रीमतीलाई मारेको रे ।’

‘यो चाहिं कसरी छुटेको त ?’

‘न्यायाधीशको चित्तले यसलाई जेलमा राख्ता यसमाथि अन्याय हुन्छ भन्यो रे ।’

‘जय होस् न्यायाधीशको चित्तको ! अब सबै हत्याराका दिन फिर्ने होलान्,’ रामजीवनको मुखबाट निस्कियो । आज भने वकीलले उसको प्रतिवाद गरेन ।

साँझ त्यो घटना सुनाएपछि नानाजी मुसुक्क हाँसे र आफ्नो पालाको इतिवृत्त सुनाउन थाले, ‘जुद्धशमशेर महाराजको एउटा हजूरिया झपटसिङले पनि एकपल्ट यस्तै गरेको थियो । रखौटी लिएर घरमै पुगेपछि स्वास्नीसँग झगडा पर्दा उसलाई घाँटी थिचेर मारिदिएछ । केही दिन जेल पनि पर्‍यो । तर ऊ महाराजको कौडा खेल्ने साथी थियो । कौडा खेल्न नपाएर निस्ताएपछि महाराजले उसलाई जेलबाट निकालेर फेरि हजूरिया बनाए । महाराज सारै दयालु थिए । उनको भनाइ थियो— रखौटी घरमा ल्यायो भन्दैमा लोग्नेसँग झगडा गर्नु स्वास्नीकै गल्ती हो । त्यही गल्तीले उसको ज्यान गएको हो । आफ्नो मृत्युको दोषी उही हो । त्यसबापत झपटसिङ जस्तो काविल मान्छेलाई सजाय दिंदा यसमाथि अन्याय हुन्छ । म न्यायमूर्ति हुँ । कसैमाथि पनि अन्याय गर्दिनँ ।’

रामजीवन ट्वाल्ल परेको देखेर नानाजीले थपे, ‘किन दिक्क मान्छस् नाति, उहिले जस्तो हुन्थ्यो, अहिले पनि त्यस्तै भएको त हो नि ।’

‘त्यसो भए राणाशासन र आजको दिनमा केही फरक छैन त ?’

‘कता के फरक देखिस्, तैं भन् न त ! राणाको भूतले पीछा गरेसम्म यस्तै हो । फैसला गर्ने न्यायाधीशको अनुहारमा ध्यान दिएर हेरिस् भने राणाको छाया छर्लंग देख्नेछस् । के बुझिस् ?’

रामजीवनको बोली हराएको थियो । नानाजीले भने, ‘त्यसपछि के भयो, त्यो पनि सुन् । के थाहा, आज पनि त्यस्तै भइजाओस् । ...झपटसिङलााई जेलबाट निकालेर फेरि हजूरिया बनाएको रैतीले मन पराएनन् । महाराजले न्यायको हत्या गरे भन्न थाले । क्रुद्ध भएर महाराजले केहीलाई ठिंगुरा ठोके । केहीको जिभ्रो थुते । तैपनि रैती चूप लागेनन् । महाराजको निन्दा बढ्दै गयो । अनि महाराजले इश्तिहार जारी गरे । त्यसमा भनिएको थियो :

‘प्यारा प्रजा गैह्रके यथोचित,‘हामीले गर्ने निर्णय ईश्वरको आदेश हो भन्ने तिमीहरू सबैले पितृपुर्खादेखि जानीबुझी आएकै छौ । त्यसलाई शिर झुकाएर स्वीकार गर्नु तिमीहरूको कर्तव्य हो । ईश्वरलाई साक्षी राखेर सबैले यो कर्तव्य पालन गर्नँ । अन्यथा गाथगादी ताकेको अपराधमा सजाय पाउनेछौ ।’

‘कस्तो तानाशाही !’ रामजीवनले भन्यो, ‘यी सब कुरा कहीं लेख्या पनि होला हगि ?’

‘खोज्दै गए इश्तिहारसम्म त भेटिएला, अरू थोक चाहिं कुन्नि,’ नानाजीले भने, ‘इतिहासका जम्मै कुरा कसले लेख्या हुन्छ र ?’

नानाजीको आशंका गलत थिएन । न्यायाधीशहरूका निर्णय जनताबीच तीव्र आलोचित हुँदै गए । चार दिन नबित्दै अदालतले वक्तव्य जारी गरेर भन्यो : हाम्रा निर्णयबारे गरिएका टीकाटिप्पणीले हाम्रो मर्यादामा आघात पुगेको छ । यसबाट हामी चिन्तित छौं । अदालत पवित्र संस्था हो । यसको मर्यादामा आघात नपुगोस् भन्नेतर्फ सचेत हुन सबैलाई अनुरोध गर्दछौं ।

वक्तव्य पढेर सुनाएपछि रामजीवनले भन्यो, ‘भाषा फरक, तर आशय चाहिं इश्तिहारकै जस्तो, हगि नानाजी ?’

नानाजीले भने, ‘यो सब छोड् नाति ! अब एउटा कुरा भन्— मर्यादामा आघात न्यायाधीशको निर्णयले पुगेको हो कि निर्णयबारे जनताको टीकाटिप्पणीले ?’

बिचरो रामजीवन, के भनोस् ? जवाफ नफुरेर अलमल्ल परेको छ । के तपाईं उसलाई सघाउन सक्नुहुन्छ ?

प्रकाशित : श्रावण १७, २०७७ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×