बाढीपीडितलाई चाउचाउकै भर- समाचार - कान्तिपुर समाचार

बाढीपीडितलाई चाउचाउकै भर

मोहन बुढाऐर, गणेश चौधरी

धनगढी, टीकापुर — कैलालीको भजनी नगरपालिका–३ कुसमघाटकी भावना सोपका ७ वर्षमुनिका चार छोराछोरी छन् । बुधबारको डुबानबाट विस्थापित भएका उनीहरूले तीन दिनदेखि भात–रोटी खान पाएका छैनन् । बच्चाहरू बारम्बार आमासँग भात मागिरहेका छन् ।

कैलालीको भजनीमा शुक्रबार केही परिवारलाई उद्धार गरिँदै । तस्बिर सौजन्य : गंगा चौधरी

दाल–चामल र पकाउने भाँडासमेत नहुँदा उनले छोराछोरीलाई पकाएको खाना खुवाउन सकेकी छैनन् । ‘चाउचाउ, बिस्कुटले बच्चाहरू पेट दुख्यो भन्न थाले,’ उनले भनिन्, ‘अहिले त चाउचाउ खानै मन गर्दैनन् । भात केले पकाउने ? बाढीले समस्यामा पार्‍यो ।’

बुधबार बाढी बस्ती पसेर डुबानमा परेका भावनाको परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेर स्थानीय सुरक्षित गृहमा पुर्‍याएको हो । उनीहरूले राहतका नाममा शुक्रबारसम्म चाउचाउ, बिस्कुट र पानी मात्रै पाएका छन् । डुबानबाट विस्थापित भएका ४५ परिवारलाई कुसमघाटमा राखिएको छ । वडा कार्यालयले उनीहरूलाई चाउचाउ, बिस्कुट र खानेपानीको मात्रै व्यवस्था मिलाउन सकेको छ ।

उक्त सुरक्षित गृहमै रहेका अर्का बाढीपीडित प्रभातकुमार सोपले उद्धारपछि चाउचाउ, बिस्कुट र पानीका बोतलबाहेक कसैबाट अरू खानेकुरा नपाएको बताए । भजनी–७ का रञ्जित लामाले त चाउचाउ र बिस्कुट पनि पाउन नसकेको गुनासो गरे । ‘कसैले ड्राइफुड, पानी र त्रिपाल पाइरहेका छन्,’ उनले भने, ‘कोहीले त्यही पनि पाउन सकेका छैनन् ।’

वडाध्यक्ष विक्रम चौधरीले अहिलेसम्म उद्धार चलिरहेकाले ड्राइफुड र पानीको व्यवस्था मात्रै मिलाउन सकेको बताए । ‘पानीको सतह फेरि बढेको छ । जनताको जीउज्यानको चिन्ता बढेको छ । अन्य व्यवस्था गर्नतिर ध्यान पुर्‍याउन सकिएको छैन,’ उनले भने । उद्धार सकिएपछि मात्रै खाद्यान्न, भाँडाकुँडा र लुगाकपडालगायतको व्यवस्था मिलाउनतिर लाग्ने उनले बताए ।

बुधबार स्थानीय नदी र खोलाहरूमा आएको बाढी पस्दा डुबानमा परेका भजनी र टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका ५ हजारभन्दा बढी परिवारको उद्धार गरिएको थियो । भजनीका नगरप्रमुख शेरबहादुर चौधरीले बाढीपीडित कसैलाई पनि भोको र नांगो हुन नदिने दाबी गरे । ‘अहिलेसम्म उद्धार चलेकाले कोही भोकभोकै पनि बसेका होलान् । अब राहत वितरणमा ध्यान दिन सुरु गरेका छौं,’ उनले भने । एकद्वार प्रणालीबाट राहत वितरणमा जोड दिइएको उनले बताए । अन्य संघसंस्थाले आफ्नो किसिमले राहत वितरण गर्दा कसैले पाउने कसैले नपाउने अवस्था हुन सक्ने उनले बताए ।

विस्थापित परिवारलाई स्थानीय विद्यालय, सुरक्षित गृह र हुलाकी सडकमा राखिएको छ । उनले हुलाकी सडक पनि असुरक्षित नै भएकाले त्यहाँबाट सुरक्षित स्थानमा सार्नका लागि विकल्पमा छलफल भइरहेको उनले बताए । बुधबार बाढीले बगाएर बेपत्ता भएका भजनीका तीनै जनाको शव फेला परेको छ । यसअघि ११ वर्षीय स्केल चौधरीको शव बिहीबार फेला परेको थियो ।

प्रकाशित : श्रावण १७, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

समन्वयबिनै त्रिचन्द्र र पुस्तकालय सार्ने तयारी

‘राष्ट्रिय पुस्तकालयको नाममा जग्गा छ, उसैलाई थाहा नदिई गुरूयोजना बनाएका छौं भन्नु प्रायोजित कुरा हो । क्याम्पस कहाँ राख्ने, पुस्तकालय कहाँ बनाउने भनेर शिक्षा मन्त्रालयलाई थाहा हुनु पर्दैन ?’
सुदीप कैनी

काठमाडौँ — सरकारले राष्ट्रिय पुस्तकालय बनाउन रोक लगाएको जमलको ८ रोपनी जग्गामा घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस सार्ने योजना रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रस्ट्याएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय पुस्तकालय भने पुल्चोकस्थित हरिहरभवनमै बनाइने बताए ।

पुस्तकालयले दुई वर्षअघि लालपुर्जा प्राप्त गरेर नक्सापासका लागि दुई करोड खर्चिसकेको जग्गामा प्राधिकरणले समन्वयबिनै क्याम्पस सार्ने गुरुयोजना बनाएको पुस्तकालयकर्मीहरूले गुनासो गरेका छन् । शिक्षा मन्त्रालयले पनि त्रिचन्द्र सार्ने र हरिहरभवनमै पुस्तकालय पुनर्निर्माण गर्ने योजनामा प्राधिकरणले समन्वय नगरेको जनाएको छ । मन्त्रालयको पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले पुस्तकालयको जग्गामा त्रिचन्द्र सार्ने र हरिहरभवनमै पुस्तकालय बनाउने योजनाबारे अनभिज्ञता प्रकट गरे । प्राधिकरणले हरिहरभवन समग्र पुनर्निर्माण गरेर तयार हुने भवनको एक तला राष्ट्रिय पुस्तकालयलाई उपलब्ध गराउने योजना अघि सारेको हो ।

मन्त्रिपरिषद्ले ०७५ असोज २८ मा जमलमा त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो । सरकारको निर्णयपछि ०७५ कात्तिकमा पुस्तकालयले मालपोत कार्यालय डिल्लीबजारबाट जग्गाधनी प्रमाणपत्र लिइसकेको छ । प्राधिकरणले ०७६ भदौ ६ मा मात्रै त्रिचन्द्र क्याम्पस सार्न त्रिविसँग प्रारम्भिक छलफल गरेको थियो । ‘पुस्तकालयको नाममा जग्गा छ, उसैलाई थाहा नदिई गुरुयोजना बनाएका छौं भन्नु प्रायोजित कुरा हो,’ निरौलाले भने, ‘क्याम्पस कहाँ राख्ने, पुस्तकालय कहाँ बनाउने भनेर शिक्षा मन्त्रालयलाई थाहा हुनु पर्दैन ?’

पुस्तकालय सम्बद्ध अधिकारीले गत साउन ४ गते मन्त्रिपरिषद्ले पुस्तकालय निर्माणमा रोक लगाएपछि व्यापारिक समूहको जग्गा हडप्ने चलखेलमा रोकिएको दाबी गरेका थिए । यति समूहका केही प्रतिनिधिले उक्त जग्गामा पार्किङसहितको व्यापारिक भवन बनाउन आफूहरूसँग कुराकानी गरेको पुस्तकालयका कर्मचारी बताउँछन् । ‘व्यापारिक भवन बनाउन भनेर आएका थिए, हामीले हाम्रो नाममा लाजपुर्जा आइसकेको देखाएपछि हच्किए,’ पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने । उनले पनि जमलमा क्याम्पस स्थानान्तरण गर्ने विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामी त नक्सा पास गरेर टेन्डर सूचना प्रकाशन गर्ने तयारीमा थियौं,’ उनले भने ।

शिक्षा मन्त्रालयले ०७३ मा गठन गरेको जग्गा खोजबिन समितिले हरिहर भवनले चर्चेको २४ रोपनीमध्ये कम्तीमा एक तिहाइ जग्गा प्राप्त गरे मात्र राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण गर्न सकिने औंल्याएको थियो । ‘पुस्तकालयको बालशाखा रहेको स्थानमा ६ रोपनीभन्दा बढी जग्गा छ । त्यहीं राष्ट्रिय पुस्तकालय बनाउन सुझाव दिएका थियौं,’ त्यतिबेला पुस्तकालय प्रमुख रहेका निरौलाले भने, ‘दुई रोपनी जग्गा मात्र रहेको थाहा पाएपछि ठाउँ पुग्दैन भनेर जमलमा बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको हो ।’

शिक्षा मन्त्रालयले नै राष्ट्रिय पुस्तकालय बनाउन थालेपछि प्राधिकरणले आफ्नो योजनाबाट राष्ट्रिय पुस्तकालय निर्माणको कार्यक्रम हटाएको थियो । भारत सरकारको अनुदानमा देशभर ७० वटा विद्यालय, राष्ट्रिय पुस्तकालय र त्रिविस्थित केन्द्रीय पुस्तकालय बनाउने सम्झौता थियो । हाल ७० वटा विद्यालय र केन्द्रीय पुस्तकालय निर्माणको काम अघि बढे पनि राष्ट्रिय पुस्तकालय बनाउने योजना हटाइएको प्राधिकरणका एक प्राविधिकले बताए । ‘शिक्षा मन्त्रालयले नै बनाउने भएपछि हामीले योजनाबाट हटायौं, अहिले हरिहरभवनमा बन्ने नयाँ बिल्डिङको एक तला राष्ट्रिय पुस्तकालयलाई दिने कुरा भएको छ,’ उनले भने ।

पुस्तकालयकर्मी भोलानाथ शर्माले सरकारले जमलमा पुस्तकालय बनाउन रोकेर राष्ट्रघाती काम गरेको आरोप लगाए । ‘हरिहरभवनमा नै बनाउनु थियो त अहिलेसम्म किन जमल भनेर अलमल्याएको ?’ उनले भने, ‘राष्ट्रिय पुस्तकालय राष्ट्रिय गौरवको कुरा हो, अहिले क्याम्पस बनाउने भनेर बहाना मात्र बनाइएको हो ।’ जमल केन्द्र र सबैलाई पायक पर्ने स्थानमा रहेकाले राष्ट्रिय पुस्तकालय त्यहीं बनाउनुपर्नेमा उनले जोड दिए । ‘डिजाइन इस्टिमेट भइसक्यो, दुई करोड खर्च पनि भइसक्यो, बनाउन थालिहाल्नुपर्छ,’ मोती सामुदायिक पुस्तकालय पर्वतका संरक्षकसमेत रहेका शर्माले भने, ‘सरकारले भाँजो हालिराखे हामी आन्दोलनमा जान्छौं ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले मन्त्रालयको सहमति बिना गरिएको निर्णय सच्याउन मन्त्रिपरिषद्लाई आग्रह गरिएको जानकारी दिए । ‘जमलमा त्रिचन्द्र क्याम्पस सार्ने, पुस्तकालय हरिहरभवनमा सार्ने कुरा हामीलाई थाहा छैन,’ उनले भने, ‘मन्त्रिपरिषद्मा समेत यस विषयमा मन्त्रीज्यूले असहमति राख्नुभएको छ ।’ मन्त्रालयका कर्मचारीहरू राष्ट्रिय पुस्तकालयका लागि साँघुरो ठाउँभन्दा ठूलो र छुट्टै अस्थित्व आवश्यक हुने बताउँछन् । हरिहरभवनमा निजामती कर्मचारी किताबखाना, राष्ट्रिय मानवअधिकार आयोग लगायतका कार्यालय रहेकाले साँघुरो हुने मैनाली बताए । ‘०१८ सालदेखि पुस्तकालय १२/१३ कोठामा थन्किएर बस्यो, जमलको जग्गामा पनि त्रिविले ०३२ सालदेखि केही गर्न सकेन,’ उनले भने, ‘राष्ट्र नै चिनाउने गरी पुस्तकालय बनाउन सरकारले पुनः अनुमति दिन्छ भन्ने विश्वास छ ।’ मन्त्रिपरिषद्ले नै जमलमा नेपालको कला, संस्कृति र परम्परा झल्कने गरी राष्ट्रिय पुस्तकालय बनाउन अनुमति दिएको थियो ।

प्राधिकरणको बृहत्तर गुरुयोजना

प्राधिकरणले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनाअन्तर्गत राष्ट्रिय नाचघर अगाडिको जग्गामा त्रिचन्द्र कलेज पुनर्निर्माण प्रस्ताव अघि सारिएको जनाएको छ । ‘काठमाडौंको मौलिकता झल्काउने र खुला ठाउँ निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘सुरुवाती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ ।’ त्रिचन्द्र क्याम्पसका विद्यार्थी भने क्याम्पस नै स्थानान्तरण गर्ने योजनाको विपक्षमा छन् ।

घण्टाघरतर्फको भवन प्रबलीकरण गर्न विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ डिजाइन सम्पन्न भइसकेको छ । प्राधिकरणका योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणमा भारतीय एक्जिम बैंकको सहयोगअन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ । ज्ञवालीले क्याम्पस भवन निर्माणका लागि त्रिविले शिक्षा मन्त्रालयसँग समन्वय गर्नुपर्ने बताए । ‘मन्त्रिपरिषद्ले पुस्तकालयलाई जग्गा दिने निर्णय गरिसकेपछि गुरुयोजना बनेको हो,’ उनले भने, ‘राष्ट्रिय पुस्तकालयका प्रतिनिधिसँग पनि कुरा भइरहेको छ ।’ हरिहरभवन पुनर्निर्माणका लागि ६५ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । ‘हरिहर भवनमा राष्ट्रिय पुस्तकालय बनाउने प्रक्रिया अघि बढिसकेको र बृहत्तर रानीपोखरीको गुरुयोजनाको प्रस्ताव तयार भएको अवस्थामा जमलको जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्नु सान्दर्भिक हुन्छ,’ ज्ञवालीले भने, ‘व्यापारिक प्रयोजनका लागि भवन बनाउने कुरा सोच्न पनि सकिँदैन ।’

‘त्रिचन्द्र सार्ने समाचार गलत’

त्रिचन्द्र क्याम्पस सार्ने विषयमा सञ्चार माध्यममा आएका समाचार गलत र भ्रामक रहेको क्याम्पसले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उद्धृत गर्दै रानीपोखरी टुँडिखेल बृहत्तर गुरुयोजनाअनुसार त्रिचन्द्रलाई राष्ट्रिय पुस्तकालय निर्माण स्थल जमलमा सार्ने समाचार सार्वजनिक भएको थियो । क्याम्पस प्रमुख सुनिल अधिकारीले क्याम्पस सार्ने प्रस्तावमा असहमति रहेको जनाएका छन् ।

मन्त्रिपरिषद्ले जमलको ८ रोपनी जग्गामा पुस्तकालय बनाउन रोकेपछि कान्तिपुरलगायत सञ्चार माध्यममा व्यापारिक चलखेल भएको समाचार प्रकाशित भएको थियो । ज्ञवालीले सरकारको निर्णयको बचाउ गर्दै जमलमा त्रिचन्द्र सार्न क्याम्पस र त्रिभुवन विश्वविद्यालयसँग छलफल र सहमति भएको बताएका थिए । त्रिचन्द्रले भने शुक्रबार विज्ञप्ति प्रकाशन गरेर प्राधिकरणको भनाइलाई खण्डन गरेको हो । ‘एक सय वर्षभन्दा बढी पुरानो ऐतिहासिक र पुरातात्त्विक भवन भूकम्पले क्षति पुर्‍याएकाले पुनर्निर्माण गर्न सम्बन्धित निकायमा अपिल गरिरहेका छौं,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्ने भन्ने समाचार गलत र भ्रामक हुन्, यससम्बन्धी कुनै सम्झौता सम्बन्धित निकायसँग गरिएको पनि छैन ।’

प्रकाशित : श्रावण १७, २०७७ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×