१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कहिले आउला मेलम्ची ?

अख्तियारले कागजपत्र झिकाएर छानबिन सुरू गरेकाले आयोजना निर्माण कतिन्जेल अवरूद्ध होला भन्नेमा अन्योल छ ।
ऋषिराम पौड्याल

काठमाडौँ — ‘कहिले यो दसैं, कहिले अर्को दसैं । कहिले यो आर्थिक वर्ष, कहिले अर्को वर्ष । यो सुन्दा–सुन्दा हामी दिक्क भइसकेका छौं,’ सांसद अनिता देवकोटाले गत बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मेलम्चीबारे प्रश्न गरिन्, ‘सचिवज्यू भन्दिनुस्, पानी आउने दसैं र अर्को आर्थिक वर्ष कहिले आउँछ ?’

कहिले आउला मेलम्ची ?

राजधानीवासीलाई खानेपानी उपलब्ध गराउने ३० वर्षअघिको सपना पूरा हुनै लाग्दा मेलम्ची सुरुङको ढोकै भत्केपछि सांसद देवकोटाले खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेसँग व्यंग्यात्मक शैलीमा यस्तो प्रश्न राखेकी हुन् ।

परीक्षणकै क्रममा गत असार ३० गते सुरुङको ढोका भत्केर हेलम्बुस्थित मुहानको फ्लसिङ अडिटबाट पानी बाहिर निस्केपछि सांसद मात्र होइन, सर्वसाधारणमा पनि मेलम्चीको पानी अब कहिले आउँछ भन्ने प्रश्न फेरि उब्जिएको छ । खानेपानीमन्त्री विना मगरले अब तत्कालै राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने घोषणा गरेको १० औं दिनमा सुरुङको ढोका फुट्यो । अब यसको प्राविधिक जाँचमै समय बितिरहेको छ । ढोका खुलेको घटनालाई आधार बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र झिकाएर छानबिन सुरु गरेपछि आयोजनाको निर्माण कतिन्जेल अवरुद्ध होला भन्नेमा अन्योल देखिएको खानेपानी मन्त्रालयका अधिकारीले बताए ।

ढोकाको डिजाइन नै परिवर्तन गरेर भित्र खुल्नुपर्नेमा बाहिर खुल्ने बनाउनु दुर्घटनाको पहिलो कारण भएको मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको २७ किमि सुरुङको अन्य तीन ठाउँमा यस्तै ढोका जडान गरिएको छ । उक्त समितिले डिजाइन, गुणस्तर र जडानमा गम्भीर त्रुटि भएको भन्दै सुरुङका ती ढोकाको पनि जाँच हुनुपर्ने सुझाव दिएको छ । समितिले बनाएको प्रतिवेदन नै अख्तियारले लगेकोले आयोजनाको गुणस्तरमाथि छानबिन हुने सम्भावना देखिएको सरोकारवाला प्राविधिकको भनाइ छ ।

‘समितिले तयार गरेको प्रतिवेदन पायौं,’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले कान्तिपुरसँग भने, ‘त्यसमाथि छानबिन सुरु भएको छ ।’ अख्तियारले आयोजनाको संरचनाको गुणस्तरमाथि छानबिन गर्न खोज्यो भने आयोजना तत्काल अघि बढाउन समस्या हुने मन्त्रालयका अधिकारी बताउँछन् । अख्तियारमा आयोजनाको सबै संरचनाको गुणस्तर जाँच गर्न माग गर्दै उजुरी परेको छ । सुरुङको ढोका डिजाइन र जडानको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडको हो । छानबिन प्रतिवेदनमा आयोजना, परामर्शदाता र प्रेसिजनबीच समन्वय नभएको ठहर गरिएको छ । परामर्शदाता स्पेनको इप्टिसा बिट्स जेभी रहेको छ ।

निर्माण अघि बढाउन प्रेसिजन इन्फ्राटेकले तयार गरेको प्रस्तावलाई परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले अनुमोदन गर्नुपर्छ । ढोकाको डिजाइन परिवर्तन गर्दा परामर्शदातासँग पर्याप्त छलफल नभएको छानबिन प्रतिवेदनमा उल्लेख छ । लगातार काम गर्ने हो भने पनि प्रक्रिया पूरा गर्न लागि केही समय त लाग्छ । ‘त्यसमा पनि गुणस्तर जाँच गर्दा डिजाइन र जडानमा ठूलो परिवर्तन गर्नुपरेमा समय अरू थपिन सक्छ,’ आयोजनाका एक प्राविधिकले भने, ‘जसरी सजिलै काम सुरु गर्ने भनिएको छ त्यो सम्भव छैन ।’ स्थानीयले आयोजानमा प्रयोग भएका गिट्टी, बालुवा र सिमेन्टबाट बनेका संरचानको पनि छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त सामग्री स्थानीय सप्लायर्सहरूले उपलब्ध गराएका हुन् ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने दुई महिनामा सबै काम सक्ने दाबी गरे । ‘हामीले काम गर्ने तालिका नै बनाइसकेका छौं, उनले भने, ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले सुधार गरेर काम गर्ने प्रतिबद्धता जनाइसकेको छ ।’ समितिको प्रतिवेदनमा खुस्केको भनिएको नट–बोल्ट तथा ढोका गुणस्तर जाँच गरेर मात्र नयाँ संरचना तयार गर्न भनिएको छ । प्रेसिजन इन्फ्राटेकले लकडाउनका कारण दक्ष प्राविधिक ल्याउन नसकेकाले डिजाइन र जडानमा गल्ती भएको स्पष्टीकरण आयोजनालाई दिएको छ । ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेक र परामर्शदाताले ‘रिभ्यु रिपोर्ट’ पेस गर्ने तयारीमा छन्,’ खत्रीले भने । निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले ढोकाको डिजाइन र संरचना भारतमा बनाएर ल्याएको हो । हाल सुरुङलगायतका संरचना निर्माणमा संलग्न सिनो हाइड्रो आउनुअघि नै इन्फ्राटेकले इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नसँग सव–कन्ट्र्याक्टरका रूपमा ढोकाको सबै काम गर्ने जिम्मेवारी पाएको थियो । सीएमसीडीले सुरुङ निर्माण छाडेर गए पनि इन्फ्राटेकलाई भने निरन्तरता दिइएको थियो । नयाँ कम्पनी ल्याउन प्रक्रिया पूरा गर्दागर्दै ढिलाइ हुने भएपछि पुरानैलाई दिएको आयोजनाको भनाइ छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आयोजनाको बाँकी काम पूरा गर्न अहिले १० वटा प्याकेजमा ९ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । सिनोको मुख्य काम सुरुङ र हेड–वर्क्सको हो । सुरुङ निर्माणको ब्रेक–थ्रु भने सीएमसीडीले गरेको थियो ।

सीएमसीडीले काम छाडेपछि मन्त्रिपरिषद्को २०७६ जेठको निर्णयअनुसार सोही आर्थिक वर्षको कात्तिकमा इन्फ्राटेकसँग हाइड्रोमेकानिक निर्माण व्यवसायीका रूपमा सम्झौता गरिएको हो । निर्माणमा संलग्न परामर्शदाता इप्टिसा बिट्स जेभीका प्रबन्धनिर्देशक विलास कोइराला आफूहरूले पनि घटनाको छानबिन गरिरहेको बताउँछन् । उनले कहाँ, कसको गल्ती भएको हो सुधार गरेर जान सकिने भएकाले आयोजना अघि बढाउन धेरै समय नलाग्ने दाबी गर्छन् । उनले भने, ‘सुरुङको संरचनामा २–२ मिटरको फरकमा परीक्षण गरेकाले ठूलो समस्या आउँछ भन्ने लाग्दैन ।’

हालसम्म निर्माणका लागि करिब २९ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । घटनापछि आयोजना प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रका बासिन्दाले सुरुङ नभत्किने ग्यारेन्टी गरेर मात्र पानी प्रवेश गराउन माग गर्दै आएका छन् । समितिले पनि स्थानीय बासिन्दा र आयोजनाका कर्मचारीको सुरक्षा प्रविधिको संरचना बनाउन सुझाव दिएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?