कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभागलाई पूर्णता दिँदै देउवा

पौडेल पक्षलाई केही समय कुर्ने, नआए सबै विभाग गठन गर्ने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको असन्तुष्टिका बीच २० वटा विभागलाई पूर्णता दिने गृहकार्य थालेका छन् । विभाग संयोजकहरूसँग बिहीबार भएको छलफललगत्तै देउवाले विभागलाई पूर्णता दिने गृहकार्य अघि बढाएका हुन्  ।

विभागलाई पूर्णता दिँदै देउवा

उनले शुक्रबार बिहान आफ्नो पक्षका पदाधिकारी र केही सदस्यलाई निवासमा बोलाएरै विभागमा राखिने सदस्यहरूको नामावली उपलब्ध गराउन भनेका छन् ।

देउवाले नामावली छनोटका लागि प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुंगाना, वाग्मती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी सावदलाई जिम्मेवारी तोकेका छन् । उनीहरूले ‘संस्थापन पक्षको हितमा’ महाधिवेशनका अन्य तयारी गर्ने जिम्मेवारीसमेत पाएका छन् ।

पौडेल पक्षले विभाग गठन तथा सदस्यहरूको मनोनयन गर्ने प्रक्रिया तत्काल बन्द गर्न र यसअघिको नियुक्ति खारेज गर्न माग राख्दै बिहीबार देउवालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो । सिटौला समूहले पनि सार्वजनिक रूपमा विभाग र पार्टीका निकायमा भइरहेका मनोनयनको विरोध गर्दै आएको छ ।

देउवाले विभागको गठन र सदस्य मनोनयनको प्रक्रिया नरोकिने जवाफ दिएपछि पौडेल पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत केन्द्रीय विभाग र पार्टी निकायमा भइरहेका गठन तथा मनोनयन महाधिवेशनको आचारसंहिता र पार्टीको विधानविपरीत भएको भन्दै यसलाई मुद्दा बनाएर तल्लो तहसम्म लैजाने बताएको थियो । त्यसै दिन संस्थापन पक्षले विभाग प्रमुखहरूसँग अन्तर्क्रिया गर्दै कसरी विभागलाई प्रभावकारी बनाउने भन्ने विषयमा सुझाव लिएको थियो । ‘गृहकार्य अघि बढाउनुभएको छ, तीन/चार दिनमै विभागले पूर्णता पाउँछ,’ संस्थापनपक्षीय नेता एनपी सावदले भने । उनले इतरपक्षका लागि ४० प्रतिशत संख्या छाडेर सदस्य मनोनयन हुने बताए ।

विधानअनुसार एउटा विभागमा संयोजकसहित ५१ जना सदस्य राख्न मिल्छ । ईश्वरी न्यौपाने संयोजक रहेको महिला विभागले ४० प्रतिशतभन्दा बढी ३८ सदस्य मनोनयन गरिसकेको छ । विधानमा २८ विभागको व्यवस्था भए पनि केन्द्रीय कार्यसमितिले गत पुस ११ गते बहुमतबाट त्यसलाई बढाएर ४७ विभाग बनाउने निर्णय गरेको थियो । पौडेल पक्षलाई मिलाउने भन्दै देउवाले २७ विभागमा संयोजक खाली राखेका छन् । ‘पौडेल पक्षलाई केही समय कुर्ने, नआए सबै विभाग गठन गरी पूर्णता दिने देउवाको भित्री तयारीसमेत छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

९ भ्रातृ संस्थाको म्याद थप

कांग्रेसले कार्यसमितिको पदावधि सकिएका भ्रातृ संस्थाहरूको म्याद ६ महिना थपेको छ । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद थपिएको हो ।

प्रकाशित : श्रावण १७, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?