२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओली–दाहाल अविश्‍वास उत्कर्षमा, संवादका लागि ‘दूत’ को खाँचो !

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्‍वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार चालेका फरक कदमले आपसमा अविश्‍वास चुलिएको छ ।  अविश्वासको ‘पारो’ यतिसम्म पुगेको छ कि विवाद सुल्झाउन भन्दै दैनिकजसो भेट गर्ने ओली-दाहालबीच संवादहीनताको अवस्था छ । त्यतिमात्र होइन आपसमा फोन संवाद गरेर उनीहरुले भेटको समय र विषयवस्तुसमेत तय गर्न सकेका छैनन् ।

ओली–दाहाल अविश्‍वास उत्कर्षमा, संवादका लागि ‘दूत’ को खाँचो !

दुई अध्यक्षबीचको संवादहीनता तोडाउन ‘दूत’ का रुपमा दोस्रो तहका नेताको दौडधूप चलेको छ ।

यही सिलसिलामा बुधबार, बिहीबार र शुक्रबार दोस्रो तहका नेताहरुले दुई अध्यक्षसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । महासचिव विष्णु पौडेल भने दुई अध्यक्षको संवादहीनता तोडाउने दौडधूपमा छन् । उनले बिहीबार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका थिए ।

मंगलवार ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले बहुमत सदस्यहरुको बैठक गरेका थिए । यद्यपि त्यो बैठक सञ्‍चालन गर्नुपूर्व दाहालले अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ओलीसँग भेट गरेका थिए । तर, ओलीले स्थगित बैठकमा आफू नआउने भन्दै गएका थिएनन् । दाहालले बसालेको बैठकमा ओली समूहका नेता पनि सहभागी भएका थिएनन् । बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो । त्यहीबाट उनीहरुबीचको अविश्वास चुलीमा पुगेको हो । मंगलबारयता ओली–दाहालबीच संवाद भएको छैन ।

दाहालको नेतृत्वको बैठकले समेत ओलीसँग संवाद गर्न दाहाललाई नै जिम्मा दिएको थियो । ‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । यो अविश्वास हटाउन मध्यमार्गी भूमिकाका रुपमा दुवै अध्यक्षले महासचिवलाई अगाडि सारेका हुन् । अध्यक्ष दाहालले महासचिवमार्फत अर्का अध्यक्ष ओलीलाई निकास निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । बिहीबार महासचिव पौडेललाई खुमलटार बोलाएर अध्यक्ष दाहालले ओलीलाई यस्तो प्रस्ताव गरेका हुन् ।

अध्यक्ष दाहालले महासचिव पौडेललाई बोलाएर समाधानमुखी ढंगले छलफलका लागि ओली तयार हुनुपर्ने त्यहीअनुसार समय मिलाउन प्रस्ताव गरेका थिए । ‘मुख्यतया निकासका बारेमा छलफल गर्नुपर्‍यो । छलफल गर्ने 'स्पिरिट’ सहित भेट्न पर्‍यो भनेर महासचिवलाई अध्यक्ष दाहालले भन्नु भएको छ,’ सचिवालयका एक नेताले भने । भेटघाट र छलफल विवाद समाधान गर्ने 'स्पिरिट’सहित होस् भन्ने उत्तरको अपेक्षामा दाहाल बसेको ती नेताले बताए । महासचिव पौडेलले दाहालको प्रस्ताव ओलीलाई पुर्‍याएका छन् । तर, दुई अध्यक्षबीच भेटघाटको ससमय तय भएको छैन । यहीबीचमा दाहाल निकट नेता जनार्दन शर्मा र पौडेलबीच दुई अध्यक्षको संवाद गराउने विषयमा पनि कुराकानी भएको छ ।

संवादहीनता तोड्न दोस्रो तहका अरु नेताले पनि ओली र दाहाललार्ई सुझाव दिएका छन् । बिहीबार पूर्वमाओवादी निकट केही स्थायी कमिटी सदस्य दाहाललाई भेट्न खुमलटार पुगेका थिए । उनीहरुले पनि दुई अध्यक्षबीच संवाद गर्न, सहमति जुटाउन र हरहालतमा पार्टी विभाजन रोक्न अध्यक्ष दाहाललाई सुझाव दिएका थिए ।

पूर्वमाओवादी तर्फका नेता रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाफी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र मणि थापालाई बोलाएर दाहालले संवाद गरेका थिए । भेटमा सहभागी नेता गजुरेलले भने, ‘छलफल गरेर सहमति खोज्न सुझाव दिएका छौं । कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । एकता जोगाउनु पर्छ । र, उहाँ (दाहाल) ले पनि यसका लागि आफूले पूरै प्रयास गरेको र अर्का अध्यक्षसँग थप संवाद गरेर निकास खोज्ने कोसिसमा रहेको सुनाउनु भएको थियो ।’

ओलीले बुधबार राति बालुवाटारमा पूर्वमाओवादी तर्फका यिनै ७ जना नेताहरुसँग सामूहिक छलफल गरेका थिए ।

पूर्वमाओवादीका यी नेतासहित पूर्वएमाले तर्फका नेता शंकर पोखरेल, सुवास नेम्वाङले बुधबार साँझ प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीसँग बालुवाटारमा भेट गरेका थिए । त्यो भेटमा महासचिव पौडेल पनि सहभागी थिए । भेटमा सहभागी एक नेताले बताएअनुसार ओलीले आफू पार्टी एकताकै पक्षमा रहेको र संवादबाट निकास निस्कने विश्वास दिलाएका थिए । बालुवाटार निकट स्रोतका अनुसार शुक्रबार पनि दोस्रो तहका केही नेताले दुई अध्यक्षको संवाद गराउने कोसिस गरेका थिए । त्यसमा सहभागी एक नेता भन्छन्, ‘मंगलबारको घटनाले दुवैपक्षलाई पाठ दिएको छ । अब नयाँ आधारमा संवादको वातावरण बनेको छ । यसले लामो समयदेखिको अनिर्णयको अवस्था तोडिन पनि सक्छ ।’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शुक्रबार साँझसम्म दुई अध्यक्षबीच भेट भएको छैन ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । अहिले नेपाल–दाहाल समूह दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा छ । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । यही कारण असार १० देखि जारी नेकपा बैठक पटक-पटक स्थगित छ ।

र, अनिर्णयको बन्दी बनेको छ । बरु, यहीबीचमा १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएका छन् ।

यस्तो थियो ओली–दाहाल भेटवार्ताको शृंखला

स्थायी कमिटी बैठकपछि संवानहीनताको अवस्था भए पनि असार १० मा स्थायी कमिटी बैठक सुरु भएदेखि ओली र दाहालबीच पटक-पटक संवाद भएका थिए । मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगित गरेर ओली–दाहालबीच असार १८ मा छलफल भएको थियो । त्यसपछि असार १९ मा अध्यक्षद्वयबीच करिब ४ घन्टा छलफल भएको थियो । असार २१ मा दुई अध्यक्षबीचको भेटमा भनाभन नै भयो । असार २२ र २३ मा ओली र दाहालले आफ्नो अडान कायम राख्दै धारणा व्यक्त गरेका थिए ।

त्यसपछि असार २६ मा फोन संवाद भएको थियो भने असार ३० मा दुई अध्यक्षबीच एक घन्टा छलफल भएको थियो । साउन १ मा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच दुई घन्टाभन्दा बढी छलफल भएको थियो ।

यस्तै, साउन ३ दुई अध्यक्षबीच भेटवार्ता र सोही दिन सचिवालय बैठक बसेको थियो । बैठकमा 'अर्ली' महाधिवेशनको ओलीको प्रस्तावमा दाहालले सहमति जनाएका थिए । सोही दिन साँझ दुवै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । दुई अध्यक्षबीच साउन ४ गते साँझ पनि छलफल भएको थियो । यस्तै, ९ गते ओली र दाहालबीच बालुवाटारमा एक घन्टा लामो भेटवार्ता भएको थियो ।

त्यसपछि भने साउन १३ गते बालुवाटारमा बहुमत सदस्यको बैठक सुरु गर्नुअघि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न गएका थिए । त्यहीबेला छोटो भेटघाट भएको थियो ।

प्रकाशित : श्रावण १६, २०७७ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?