कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यसम्पादनको परिणाम शतप्रतिशत निकाल्न गृहमन्त्रीको निर्देशन

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए । ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने ।

विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए । 'सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ', गृहमन्त्री थापाले भने, 'समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।'

उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको शपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको औँल्याए ।

गृहमन्त्री थापाले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

गोठाला गएका बालक पहिरोमा पुरिए

भीमबहादुर सिंह

जाजरकोट — गाईबाख्राको गोठाला गएका भेरी नगरपालिका–७  दोकानाका एक बालक शुक्रबार दिउँसो पहिरोमा पुरिएका छन् भने अर्का बालक गम्भीर घाइते भएका छन् । दोकानास्थित जंगलमा गाईबाख्राको गोठालो गरीरहेका १२ वर्षीय खिमबहादुर परियार एक्कासि माथिबाट खसेको पहिरोमा पुरिएका हुन् ।

पहिरोमा परेर उनीसँगै गोठालो गएका १२ वर्षीय प्रदीप विकको बायाँ हात भाँचिनुको साथै टाउकोमा गहिरो चोट लागेको छ । पहिरोमा पुरिएका खिम स्थानीय धनवीर र गम्भीर घाइते भएका प्रदीप मोतीलालका छोरा हुन् ।

पहिरो पुरिएका प्रदीपको स्थानीयले उद्धार गरेको प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय जगतिपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिरोमा पुरिएको बालकको उद्धार कार्य गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×