भदौबाट विद्यालय सञ्चालन कार्यविधि बनाउन छलफल सुरु

गणेश राई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौबाट विद्यालय खोल्नका निम्ति सरोकार निकायसँग छलफल थालेको छ । कोभिड–१९ फैलिन नदिन भएको लकडाउनले वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्रको हालसम्म सुरु भएको छैन । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टर हटाउने, भदौ १ गतेबाट विद्यालय खोल्ने लगायत निर्णय गरेपछि मन्त्रालय गृहकार्य थालेको हो ।

भदौबाट विद्यालय सञ्चालन कार्यविधि बनाउन छलफल सुरु

मन्त्रालयले गठन गरेको शैक्षिक सत्र २०७७ क्यालेन्डर व्यवस्थापन कार्यदलले शुक्रबार शिक्षक महासंघ, प्याब्सन, नेसनल प्याब्सन, अभिभावक महासंघ, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिलाई निमन्त्रणा गरी परामर्श लिएको हो । विद्यालय खोल्ने, विद्यार्थी भर्ना गर्ने, पठनपाठन गर्नेबारेमा प्रारम्भिक छलफल भएको जनाइएको छ ।

पहिलो बैठकमा सामान्य छलफलमात्र भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन् । ‘मन्त्रीपरिषदले भदौ १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेपछि शैक्षिक क्यालेन्डरबारे सरोकार पक्षलाई बोलाएर प्रारम्भिक छलफल गरेका छौं,’ कार्यदलका संयोजकसमेत रहेका शर्माले भने, ‘छलफल सुरु गरेका छौं । उहाँहरुले सांगठनिक छलफल गर्नु हुनेछ ।’

‘भदौ १ गतेबाट शैक्षिक सत्र आरम्भ गरी भर्ना लिने र १५ गतेबाट पठनपाठन सुरु गर्न उपयुक्त हुने सुझाव दिएका छौं,’ प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले भने, ‘विद्यार्थी पाठ्यभार जम्मा १ सय ९२ दिन अर्थात् १ हजार २४ घन्टा क्रेडिट आवर हो र ७० प्रतिशत हाजिर हुनुपर्छ ।’ यस निम्ति दसैंमा ८ दिन र तिहारमा २ दिन र अन्य चाडवाडको बिदा कटौती गर्नुपर्ने सुझाव पेस गरेको उनले बताए । शैक्षिक सत्र आगामी २०७८ वैशाख १३ गते सक्ने प्रस्ताव गरेको उनले जनाए । अर्को नयाँ सत्र वैशाख २२ गतेबाट सुरु गर्न उपयुक्त हुनसक्ने सुझाव दिइएको जनाइएको छ ।


प्रकाशित : श्रावण १६, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?