जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुग्यो

चाँदनी कठायत

वीरेन्द्रनगर — गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिकाका थप १ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गत सोमबारदेखि उपचाररत २२ वर्षीय ललित चलाउनेको बिहीबार राति मृत्यु भएको हो । 


योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । विषालु च्याउ खाँदा गत शनिबार एकै घरका ८ जना बिरामी परेका थिए । बिरामी भएकामध्ये २ वर्षीया अन्जनाको साउन ११ गते गाउँमै मृत्यु भयो । अन्य ७ जना बिरामीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल उपचारका लागि ल्याइएको थियो ।

उपचार गराइरहेकामध्ये घरमुली टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातीनी निरुता सिंहको मंगलबार राति मृत्यु भएको थियो ।

अहिले टेकबहादुरसहित उनकी ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । टेकबहादुरलाई अहिले सघन उपचार कक्ष (आईसीयु) मा राखिएको अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडलले बताए । ‘उहाँको अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘तर पनि आईसीयुमा रहुन्जेल केही भन्न सक्ने अवस्था छैन ।’

अरु २ जनाको अवस्था सामान्य भए पनि पेट दुख्ने, होस हराउने र सास फेर्न मुस्किल हुनेजस्ता लक्षण देखिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

सुनको भाउले लाख छुनै लाग्यो, प्रतितोला ९९ हजार ३ सय रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको  छ ।  शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।

नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३४ हजारभन्दा बढीले बढेको छ । गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित : श्रावण १६, २०७७ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×