२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उपत्यका छिर्नेलाई निगरानी छैन

यात्रुले मिलाउँछन् पास, पासबिनाका गाडीमा कति भित्रिन्छन् तथ्यांक छैन

भक्तपुर,काभ्रे — सरकारले साउन ७ गतेदेखि लकडाउन पूर्ण रूपमा हटाउने निर्णय गरे पनि बिनापासका सवारीसाधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो । तर उपत्यका प्रवेश गर्ने सवारी र यात्रुको संख्या दिनहुँ बढिरहेको छ ।

उपत्यका छिर्नेलाई निगरानी छैन

पहुँचको भरमा पास बनाएर निजी तथा सार्वजनिक सवारीसाधनमार्फत उपत्यकाको मुख्य प्रवेशद्वार साँगा, नागढुंगा, फर्पिङलगायतबाट ठूलो संख्यामा यात्रु प्रवेश गरिरहेका छन् । साविकभन्दा बढी भाडामा यात्रु बोकेर आएका सवारीसाधनले नाकाको प्रहरी चेक पोस्टनजिकै ल्याएर यात्रुलाई ओराल्ने र त्यहाँबाट पैदलै नाका प्रवेश गर्ने क्रम चलिरहेको छ ।

उपत्यकाको पूर्वी नाका साँगाबाट मात्र दैनिक एक हजारभन्दा बढी सवारीसाधन पास बोकेरै प्रवेश गरिरहेका छन् । तावाचुङ मारातिका यातायात प्रालिको ना१ज ५७३४ नम्बरको सुमोका चालक अजय न्यौपानेले खोटाङबाट प्रतिव्यक्ति ३५ सय भाडामा ६ जना यात्रु लिएर आएको बताए । ‘एक जनाको ३ हजारदेखि ३५ सयसम्म लिएर धेरैपटक ओसारपसार गरिसकेँ, यात्रुहरूले नै पास मिलाउनुहुन्छ,’ उनले भने, ‘प्रहरीले सोधे भने बिरामी ल्याएको भनेर झुक्याउने हो, बिरामी नभनीकन त छाड्दै छाड्दैनन् ।’

पासबिनाका सवारीसाधनले कति यात्रु ल्याएर नाकानजिक ओराल्छन् भन्ने तथ्यांक नाकाका प्रहरीसँग पनि छैन । ‘साँगाबाट मात्र दैनिक सयौंको संख्यामा पैदल यात्रु उपत्यका प्रवेश गरेको देखिन्छ,’ एक प्रहरीले भने, ‘पैदल प्रवेश गर्ने यात्रुलाई फिर्ता पठाएर साध्य छैन । कतिपय पासबिनाका सवारीलाई फर्काएका पनि छौं ।’ प्रहरीको आँखा छलेर यात्रुहरू उपत्यका प्रवेश गरिरहेको उनले बताए । रोक्ने प्रयास गर्दागर्दै पनि उनीहरू वैकल्पिक बाटो भएर उपत्यका छिर्ने गरेका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पासको दुरुपयोग भएको गुनासो आएकोले छानबिन गरिने बताए । ‘एक जिल्लाबाट अर्को जिल्ला जान निजी सवारीसाधनलाई पनि पास आवश्यक पर्छ,’ उनले भने, ‘पास लिएर आउनेको संख्या बढ्दै गएपछि फर्जी हो कि भन्ने आशंकामा छानबिन पनि थालेका छौं ।’ सञ्चालन अनुमति नभएका निजी तथा सार्वजनिक यातायातका साधनले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास ल्याउने गरेका छन् ।

‘सवारीसाधनबाट झरेर परैदेखि पैदल आउँछन्, पासका सवारीसाधनको संख्या उत्तिकै बढेको छ,’ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रमुख डीएसपी चक्रराज जोशीले भने, ‘निश्चित ठाउँसम्म गाडीमा आएर पैदल उपत्यका छिर्नेहरूको लस्कर देखिने गरेको छ ।’ लकडाउनपछि सुरुवाती दिनमा जसरी मान्छेहरू पैदल बाहिरिने गरेका थिए, त्यसैगरी भित्रिइरहेका छन् । उनीहरूलाई कसैले निगरानी नगर्दा जोखिम झनै बढेको छ ।

विभिन्न जिल्लाबाट साँगासम्म आएका यात्रुलाई साझा यातायातले स्वास्थ्य सुरक्षा नअपनाई ओसारिरहेको पाइएको छ । काठमाडौं उपत्यकामा सवारी परिचालनको स्वीकृति पाएका सवारीलार्ई उपत्यकाबाहिरबाट भित्र प्रवेश गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास आवश्यकता पर्छ । तर, साझाले काभ्रेको नासिकास्थानसम्म पुगेर बाहिरी जिल्लाबाट बिनापास आएका यात्रुलाई उपत्यका प्रवेशमा सहजीकरण गरिरहेको छ ।

साझालगायत सार्वजनिक बसले यात्रुको दूरीसमेत पालना नगरी सिटमा राख्ने गरेका छन् । बसमा खचाखच यात्रु राखेर बस सञ्चालन भइरहेको छ । साझाले काभ्रेको नासिकास्थानबाट उभ्याएरै यात्रु बोक्ने गरेको छ । यात्रुलाई सेनिटाइजर लगाउन दिएर थर्मल गनले ज्वरो जाँच गरेपछि मात्र बसभित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, मास्क, पन्जाको प्रयोग गर्ने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न पाउनेजस्ता मापदण्ड अधिकांश बसले उल्लंघन गरेका छन् ।

भीडभाड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँगामा आइतबारबाट यात्रुको स्वाब संकलन थालेको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र मातहतको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले स्वाब स‌ंकलन गरिरहेको हो ।

प्रकाशित : श्रावण १६, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?