कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि

कान्तिपुर टिम

काठमाडौँ — देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् । वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा लकडाउनसँगै निषेधाज्ञा लगाइएको एक साताभन्दा बढी भइसकेको छ ।

वीरगन्ज र राजविराजमा निषेधाज्ञा, बाँकेमा आइतबारदेखि

बाँकेमा आइतबारदेखि निषेधाज्ञा हुने घोषणा गरिएको छ । मोरङको सुनवर्षी–८ मा संक्रमितको मृत्यु भएपछि बिहीबारदेखि वडा सिल गरिएको छ । टाढा कतै आउजाउ नभएका व्यक्तिमा संक्रमण देखिएपछि वीरगन्जमा त्रास फैलिएको छ । त्रासले विगतमा जस्तो निषेधाज्ञा अवहेलना भएको छैन । यहाँ साउनमा मात्रै सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीलगायत गरी २०३ संक्रमित थपिएका छन् ।

पछिल्लो समय लक्षणसहितका संक्रमित भेटिने क्रम बढेको छ । अस्पताल भर्ना भएका र उपचारमा संलग्न चिकित्सकमा संक्रमण देखिएपछि नारायणी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । बिरामीमा संक्रमण पुष्टि भएपछि एडभान्स मेडिकेयर, अली अर्थो एन्ड ट्रमा, वीरगन्ज हेल्थ केयर हस्पिटलका सेवा पटकपटक अवरोध भएका छन् ।

सरकारले पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढी देखिएको हो । वीरगन्ज महानगरपालिकाभित्र समूहगत परीक्षण भइरहेको छ । पर्साका प्रमुख राजनीतिक दलले जिल्लामा कोरोना संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गर्दै बिहीबार संघीय सरकारसँग विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् । नेकपा, कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजका अगुवाहरूले बैठक गरेर संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक वीरेन्द्रप्रसाद साहले सरकारी पक्षको अकर्मण्यताका कारण जनता फेरि निषेधाज्ञामा बस्नुपरेको बताए । ‘करिब ४ महिनापछि जनजीवन सहज बन्दै गएको थियो,’ उनले भने, ‘तर स्थानीय प्रशासन र सरकारको कमजोरीले कोरोना फैलियो ।’ स्वास्थ्य सतर्कता अपनाएर जनजीवन सहज बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने उनको बुझाइ छ । ‘अलिकति सहज भयो कि प्रशासन सुत्ने र नागरिक पनि सचेत नहुने गरेको देखिन्छ,’ उनले भने । साहले सीमाबाट आउनेजाने क्रम नरोकिएको बताए ।

असार अन्त्यसँगै पर्सा कोरोना मुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए । गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना मात्र संक्रमित भर्ना थिए । जिल्लाका क्वारेन्टाइन खाली हुने क्रममा थियो । तर पछिल्ला १५ दिनमा संक्रमित ह्वात्तै बढेका छन् । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई ‘होम आइसोलेसन’ (घरमै) राख्न थालिएको छ । महानगरपालिकामा स्थानीय बासिन्दालाई सतर्क रहनू भनी होम आइसोलेसनमा बसेका संक्रमितको घरमा बुधबारदेखि सूचना टाँस्न थालेका छन् । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौं’ लेखिएको सूचना स्वास्थ्यकर्मीले टाँसेका हुन् ।

सरकारले साउन ७ बाट लकडाउन हटाए पनि तोकिएबाहेकका अन्तर्राष्ट्रिय नाकामा आवागमन बन्द नै राख्ने निर्णय गरेको छ । तर त्यसअघिदेखि नै लुकीछिपी भारतीय कामदार भित्र्याएर यहाँका उद्योगले काममा लगाएका छन् । लुकीछिपी भित्रिएकाबाट वीरगन्ज र आसपास क्षेत्रमा कोरोना संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘तोकिएको नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको होइन,’ उनले भने, ‘लुकीछिपी भित्रिएकाहरूबाट कोरोना फैलिएको हो ।’ चैतमा लकडाउन हुँदा भारतीय कामदार घर फर्किएका थिए । सहायक प्रजिअ बस्नेतले भारतीय कामदार भएको उद्योगलाई सिल गरेर उद्योगीकै खर्चबाट लुकीछिपी आएकाहरूको पीसीआर परीक्षण गरिने बताए ।

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो गत चैतमा फैलिएको संक्रमण प्रभावकारी रूपले गरिएको कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र क्वारेन्टाइनले नियन्त्रण आएको बताउँछन् । ‘वैशाखको मध्यतिर एउटै घरका १७ जनासम्म संक्रमित भेटिएका थिए,’ उनले भने, ‘त्यसबेलाको प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनले संक्रमण नियन्त्रणमा आएको थियो । असारमा वीरगन्जमा नयाँ केस थिएनन् ।’ भारतमा रेलवेलगायत अन्य सवारीसाधन सञ्चालनमा आएका बेला सयौं नेपाली भित्रिएको जानकारी दिँदै उनले भने । ‘त्यसबेला गाउँगाउँमा निगरानी समूह थिए । भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा पठाउन गाउँलेले नै खबर गर्थे । तर अहिले त्यसो हुन सकेन । उद्योगहरू सञ्चालनमा आएपछि सयौं भारतीयलाई लुकाइछिपाई ल्याइयो ।’

नाकाको जिम्मेवारी लिएका निकायले यसको जवाफ दिनुपर्ने आवाज उठेको छ । ‘असार दोस्रो साता सीमावर्ती रक्सौल बजारमा एक सय हाराहारी संक्रमित देखिएका बेला नै मैले सबैलाई सतर्क रहन सावधान गराएको थिएँ,’ महतोले भने । वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र, वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा सयौं भारतीय कामदार र कर्मचारी काम गर्छन् । उनीहरू लुकीछिपी भारतबाट आएका हुन् ।

परीक्षण बढेन

राजविराजमा स्थानीयस्तरमा संक्रमण फैलिन थालेपछि नगरपालिकाले लकडाउन जारी गरेको ९ दिन भएको छ । नगरले लकडाउन गरेको भोलिपल्ट गत बिहीबार स्थानीय प्रशासनले पनि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । तर राजविराजमा संक्रमित थपिने क्रम जारी छ । संक्रमित पहिचानका लागि पर्याप्त परीक्षण पनि हुन सकेको छैन । लकडाउन र निषेधाज्ञा लम्बिँदा ज्यालादारी गर्नेहरूलाई समस्या परेको छ । ‘निषेधाज्ञापछि काममा जान पाएका छैनौं । हातमुख जोर्नै समस्या भयो,’ राजविराज–५ का मजदुर महिन्दर मण्डलले भने, ‘हाम्रा लागि गाँसको व्यवस्था सरकारले गर्नुपर्छ ।’ संक्रमण बढ्न नदिन लकडाउन जरुरी भए पनि भोको पेट बस्नुपर्ने स्थिति आएको राजविराज–२ का चनर यादवले बताए ।

नगरले लकडाउन गर्नुअघि सप्तरीमा संक्रमित भेटिने दर कम थियो । श्रीमती उपचार गराउन भारत गएका राजविराज–६ का ७२ वर्षीय व्यापारी बिनारोकटोक घर फर्किए । ‘होम क्वारेन्टाइन’ बसेका उनले भेटघाट भने निरन्तर गरिरहे । उनले आफूलाई कोरोना हुन सक्छ वा परीक्षण गराउनुपर्छ भन्ने ख्याल गरेनन् । जब असार ३० गते मुटुमा समस्या भयो, उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गए । उपचारअघि उनको स्वाब परीक्षण गरियो । साउन १ गते साँझ ८ बजे रिपोर्ट पोजिटिभ आयो भने राति ११ बजे उनको मृत्यु भयो । त्यसपछि राजविराजमा त्रास फैलियो ।

निषेधाज्ञापछि सुनसान राजविराज

भोलिपल्टबाट उनको परिवार र सम्पर्कमा आएकाको परीक्षण सुरु भयो । परिवारका पाँच सदस्यसहित सम्पर्कमा आएकाहरू, उनको घर अगाडिको चिया पसले हुँदै न्यायाधीशसम्ममा संक्रमण पुष्टि भयो । संक्रमितहरू होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा लापरबाही भए संक्रमण फैलिने जोखिम उच्च रहन्छ । सीमा सिल भनिए पनि आवतजावत खुलेआम भइरहेको छ । निषेधाज्ञाका कारण ८ दिनदेखि राजविराजमा बजार, पसल खुलेका छैनन् । सरकारी कार्यालय, वित्तीय संस्था बन्द छन् । मास्क नलगाई बाहिर निस्कनेलाई नियन्त्रणमा लिन थालिएको छ । तर बजारमा सर्वसाधारणको उपस्थिति बिस्तारै बढ्दै गएको छ । जिल्लामा हालसम्म ४ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्रै राजविराजमा ४ जना संक्रमित थपिएका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ भने ३ सय १२ जना निको भएर घर फर्किएका छन् ।

राजविराजस्थित साईकृष्ण मेकिडल कलेजको पुरानो भवनमा आइसोलेसन छ । उक्त आइसोलेसनमा फोहोरको डंगुर थुप्रिएको संक्रमितहरू बताउँछन् । आइसोलेसनमा रहेका मुस्तिकिम आलमले बिहीबार सामाजिक सञ्जालमा लाइभ गरी त्यहाँको वास्तविकता देखाएका छन् । जहाँ संक्रमितलाई दूरी कायम नगरी राखिएको, संक्रमित बस्ने कोठामा फोहोर थुप्रिएको, शौचालय फोहोर रहेको देखिएको छ । राजविराजस्थित आइसोलेसनको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ भने खानाको व्यवस्थापन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले गर्दै आएको छ ।

लापरबाहीले संक्रमण बढ्यो

लकडाउनका बेला बाँकेको त्रिभुवन चोकस्थित बेकरी क्याफे बन्द थिएन । प्रहरीको आँखा छल्दै लुकीछिपी व्यापार चलिरहेकै थियो । लकडाउन खुकुलो भएपछि क्याफेका सञ्चालक श्रीमती लिन जाने बहानामा मजदुर लिन भारत गए । उनले ल्याएका मजदुरमा संक्रमण देखियो । अहिले तिनै मजदुरबाट नेपालगन्ज उपमहानगरपालिका–११ को उक्त क्याफेका सञ्चालकको सिंगो परिवार संक्रमित भएको छ । स्वास्थ्य कार्यालयले समुदायस्तरमा परीक्षण सुरु गरेसँगै ती व्यापारीले ख्यालठट्टा गर्दै स्वाब जाँच गराएका थिए । गत बिहीबार नतिजा पोजिटिभ आएपछि उनको परिवारका १० जनाको पीसीआर जाँच गरिएको थियो । जसमा बुबाबाहेक परिवारका ९ जनामा संक्रमण पुष्टि भयो । संक्रमित क्याफे सञ्चालकसहित उनको परिवारका सदस्य अहिले आफ्नै निवासमा आइसोलेसनमा छन् । ‘हामी घरमै बस्छौं,’ संक्रमितले भने, ‘लक्षण केही देखिएको छैन, चिन्ता छैन ।’

ती क्याफे सञ्चालकका अनुसार १६ वर्षकी छोरी र १० वर्षका छोरालाई पनि कोरोना पुष्टि भएको छ । क्याफे अगाडि बस्ने छिमेकी कादिर फारुकीले लकडाउनमा पनि भीडभाड गर्दै पसल खोलिरहेकाले संक्रमण भएको बताए । ‘बिहानदेखि बेलुकासम्म व्यापार गर्थे,’ उनले भने, ‘न प्रशासनले केही भन्यो, न वडाले ।’

कन्ट्याक्ट ट्रेसिङ गर्दा क्याफे सञ्चालकको सम्पर्कमा आएका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख रामबहादुर कुरुम्बाङले बताए । कोरोना संक्रमितका तीनवटा बेकरी क्याफे सञ्चालनमा छन् । जसलाई प्रशासनले बिहीबारदेखि सिल गरेको छ । घरमा बस्दै आएका संक्रमित परिवारको टोलमा भने सुरक्षा व्यवस्था खासै देखिँदैन । स्थानीयले चिया खाने बहानामा संक्रमितका सदस्य बाहिर घुमफिर गर्ने गरेको बताए । यहाँको जमुनाह सीमा नाका पूर्णरूपमा बन्द भनिएको छ । तर व्यवस्थापन प्रभावकारी नहुँदा कोरोना संक्रमण भुसको आगोजस्तै फैलिरहेको छ । जमुनाह नाका हुँदै दिनमा २ सय हाराहारीले सीमा वारपार गर्छन् । औषधि लिने, मलामी जाने, बिहेमा जाने त कोही बिरामी भेट्ने बहानामा वडादेखि जिल्ला प्रशासनसम्मको सिफारिस लिएकाहरू आउजाउ गर्ने गरेका हुन् । ‘सिफारिस बोकेर आएपछि नियन्त्रण गर्न गाह्रो छ,’ प्रहरी जवान टीकाराम रिजालले भने ।

समुदायस्तरको नमुना परीक्षण गर्दा ट्राभल हिस्ट्री नभएकाहरूमा पनि कोरोना संक्रमण देखिएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय नेपालगन्जका थप ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै दुई जनामा संक्रमण देखिएको थियो । राजस्वका सहित जिल्ला अदालतका एक जना कर्मचारी, क्याफे सञ्चालकको कन्ट्याक्ट ट्रेसिङमा देखिएका १७ जनासहित बाँकेमा २७ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।

तेस्रोपटक निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर आइतबारदेखि तीन दिनसम्म तेस्रोपटक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । ‘अत्यावश्यक कामबाहेकमा आदेश उल्लंघन गर्नेलाई पक्राउ गरिनेछ,’ प्रजिअ कुरुम्बाङले भने । जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएकाले यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको उनले बताए । यसअघि गत जेठ १४ गते दोस्रोपटक र वैशाख २२ देखि २५ गतेसम्म पहिलोपटक यहाँ निषेधाज्ञा जारी गरिएको थियो ।

-भूषण यादव (वीरगन्ज), अवधेशकुमार झा (राजविराज), मधु शाहीरूपा गहतराज (बाँके)

प्रकाशित : श्रावण १६, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?