कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

के होला मत्स्येन्द्रनाथको रथयात्रा ?

‘निर्णयविपरीत अनुमति दिन सकिँदैन, संक्रमण कम हुँदै गए विचार गर्न सकिन्छ’– नारायणप्रसाद भट्ट, प्रजिअ, ललितपुर
भदौ १ बाट पनि अनुमति नदिए सरकारको मापदण्डमा रहेर रथयात्रा गर्छौं’— चन्द्र महर्जन, अध्यक्ष, ज्यापू समाज
प्रशान्त माली

काठमाडौँ — नाग पञ्चमीको शुभसाइत पारेर साउन १० गते पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथारोहण गराइयो । परम्पराअनुसार सहज अवस्था हुन्थ्यो भने भोलिपल्टबाटै रथ तान्‍न थालिन्थ्यो ।

के होला मत्स्येन्द्रनाथको रथयात्रा ?

उपत्यका जात्राको उत्सवमा रमाइरहेको हुन्थ्यो । तर कोरोना महामारीका कारण रथ कहिलेबाट तान्ने अझै निश्चित भएको छैन । स्थानीयले रथ तान्न पाउनुपर्ने दबाब दिए पनि सरकारले संक्रमणको जोखिमका कारण अनुमति दिन नसकिने जनाएको छ ।

मत्स्येन्द्रनाथको जात्रा संकटमा परेको यो नै पहिलो घटना होइन । यसअघि २००० सालको १२ वर्षे मेलामा रथ बुङमतीबाट पाटन ल्याउने क्रममा ढल्यो । ०२७ र ०३६ मा पनि पाटनमा रथको गर्भगृह नै क्षतविक्षत हुने गरी ढलेको थियो ।

०३६ मा पाटन सुन्धारामा यात्राका क्रममा ढलेको रथ ।

०२५, ०३४, ०३६, ०४८, ०५२, ०५७, ०६१, ०६६ र ०७२ को भूकम्पको कारणले जात्रा सञ्चालनमा समस्या आएको थियो । त्यसबेला जात्रा भने रोकिएन । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन भन्छन्, ‘पुर्खाले यस्तै प्राकृतिक विपत्तिको हल गर्न जात्रापर्व चलाएका हुन् । भदौ १ गतेबाट पनि जात्रा गर्न अनुमति नदिए सरकारको मापदण्डमा रहेर रथयात्रा गरिनेछ ।’

मत्स्येन्द्रनाथको जात्रा अन्यभन्दा फरक छ । यो उपत्यकाको सबैभन्दा लामो समय चल्ने रथयात्रा हो । रातो मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमर्दन जोशीले सरकारले विकल्प दिएर बुङमती पुर्‍याउने वातावरण बनाउन पटकपटक ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएको बताए । मत्स्येन्द्रनाथलाई मलमासअगाडि बुङमती पुर्‍याउन नसके मुलुकमा अनर्थ र ठूलो राजनीतिक दुर्घटना हुन सक्ने उनले दाबी गरे । मलमास सुरु हुन डेढ महिना मात्र बाँकी छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रथयात्रा गर्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको बताए । ‘सरकारले लकडाउन खोले पनि जात्रापर्व निषेध गरेको छ । सरकारको निर्णयविपरीत अनुमति दिन सकिँदैन,’ उनले भने, ‘कोभिड–१९ संक्रमण कम हुँदै गएमा विचार गर्न सकिन्छ ।’


रातो मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा बुङमती र उत्तरायण हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसाइन्छ । सौर्यमास तिथिअनुसार श्रावण कृष्ण एकादशी (साउन १ गते) बाट सूर्य दक्षिणायण भएको छ । यो पुस मसान्तसम्म अर्थात् ६ महिना चल्छ । माघ १ गतेबाट अर्को ६ महिना उत्तरायण चल्छ ।

दक्षिणायणका बेला मत्स्येन्द्रनाथलाई बुङमतीस्थित मन्दिरमा विराजमान गराउनुपर्छ । ‘मत्स्येन्द्रनाथको रथयात्रा लवालस्कर बाजागाजासहित जात्रा गर्नुसँग मात्र सम्बन्धित छैन । पाटनबाट बुङमती लैजाने परम्परा पनि हो,’ ज्योतिषी जोशी भन्छन्, ‘असोज २ गतेबाट एक महिने मलमास छ । मलमासमा रथयात्रा गर्न मिल्दैन । मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ । दसैंमा बुङमतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्ने चलन छ ।’


प्रकाशित : श्रावण १५, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?