के होला मत्स्येन्द्रनाथको रथयात्रा ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के होला मत्स्येन्द्रनाथको रथयात्रा ?

‘निर्णयविपरीत अनुमति दिन सकिँदैन, संक्रमण कम हुँदै गए विचार गर्न सकिन्छ’– नारायणप्रसाद भट्ट, प्रजिअ, ललितपुर
भदौ १ बाट पनि अनुमति नदिए सरकारको मापदण्डमा रहेर रथयात्रा गर्छौं’— चन्द्र महर्जन, अध्यक्ष, ज्यापू समाज
प्रशान्त माली

काठमाडौँ — नाग पञ्चमीको शुभसाइत पारेर साउन १० गते पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथारोहण गराइयो । परम्पराअनुसार सहज अवस्था हुन्थ्यो भने भोलिपल्टबाटै रथ तान्‍न थालिन्थ्यो ।

उपत्यका जात्राको उत्सवमा रमाइरहेको हुन्थ्यो । तर कोरोना महामारीका कारण रथ कहिलेबाट तान्ने अझै निश्चित भएको छैन । स्थानीयले रथ तान्न पाउनुपर्ने दबाब दिए पनि सरकारले संक्रमणको जोखिमका कारण अनुमति दिन नसकिने जनाएको छ ।

मत्स्येन्द्रनाथको जात्रा संकटमा परेको यो नै पहिलो घटना होइन । यसअघि २००० सालको १२ वर्षे मेलामा रथ बुङमतीबाट पाटन ल्याउने क्रममा ढल्यो । ०२७ र ०३६ मा पनि पाटनमा रथको गर्भगृह नै क्षतविक्षत हुने गरी ढलेको थियो ।

०३६ मा पाटन सुन्धारामा यात्राका क्रममा ढलेको रथ ।

०२५, ०३४, ०३६, ०४८, ०५२, ०५७, ०६१, ०६६ र ०७२ को भूकम्पको कारणले जात्रा सञ्चालनमा समस्या आएको थियो । त्यसबेला जात्रा भने रोकिएन । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन भन्छन्, ‘पुर्खाले यस्तै प्राकृतिक विपत्तिको हल गर्न जात्रापर्व चलाएका हुन् । भदौ १ गतेबाट पनि जात्रा गर्न अनुमति नदिए सरकारको मापदण्डमा रहेर रथयात्रा गरिनेछ ।’

मत्स्येन्द्रनाथको जात्रा अन्यभन्दा फरक छ । यो उपत्यकाको सबैभन्दा लामो समय चल्ने रथयात्रा हो । रातो मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमर्दन जोशीले सरकारले विकल्प दिएर बुङमती पुर्‍याउने वातावरण बनाउन पटकपटक ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएको बताए । मत्स्येन्द्रनाथलाई मलमासअगाडि बुङमती पुर्‍याउन नसके मुलुकमा अनर्थ र ठूलो राजनीतिक दुर्घटना हुन सक्ने उनले दाबी गरे । मलमास सुरु हुन डेढ महिना मात्र बाँकी छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रथयात्रा गर्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको बताए । ‘सरकारले लकडाउन खोले पनि जात्रापर्व निषेध गरेको छ । सरकारको निर्णयविपरीत अनुमति दिन सकिँदैन,’ उनले भने, ‘कोभिड–१९ संक्रमण कम हुँदै गएमा विचार गर्न सकिन्छ ।’


रातो मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा बुङमती र उत्तरायण हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसाइन्छ । सौर्यमास तिथिअनुसार श्रावण कृष्ण एकादशी (साउन १ गते) बाट सूर्य दक्षिणायण भएको छ । यो पुस मसान्तसम्म अर्थात् ६ महिना चल्छ । माघ १ गतेबाट अर्को ६ महिना उत्तरायण चल्छ ।

दक्षिणायणका बेला मत्स्येन्द्रनाथलाई बुङमतीस्थित मन्दिरमा विराजमान गराउनुपर्छ । ‘मत्स्येन्द्रनाथको रथयात्रा लवालस्कर बाजागाजासहित जात्रा गर्नुसँग मात्र सम्बन्धित छैन । पाटनबाट बुङमती लैजाने परम्परा पनि हो,’ ज्योतिषी जोशी भन्छन्, ‘असोज २ गतेबाट एक महिने मलमास छ । मलमासमा रथयात्रा गर्न मिल्दैन । मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ । दसैंमा बुङमतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्ने चलन छ ।’


प्रकाशित : श्रावण १५, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्

रातको समयमा काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्रालयले बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् । तर अत्यावश्यक सेवा र ढुवानी भने गर्न पाइनेछ ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।

'देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरुको उपत्यकाका नाकामा चेक गर्दा ठूलो संख्यामा कोभिड १९ पोजिटिभ पाइएकोले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था हुन, अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आज मिति २०७७/४/१५ गतेदेखि लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउन,' विज्ञप्तिमा भनिएको छ, 'उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास आवागमन पूर्ण बन्द गर्न/गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन जारी गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि हार्दिक अनुरोध छ '

मन्त्रालयको विज्ञप्ति

प्रकाशित : श्रावण १५, २०७७ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×