कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

शिक्षण संस्थाका क्‍वारेन्टाइन हटाइने

विद्यालय पुनः सञ्‍चालनको कार्यढाँचा बनाइँदै
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले शिक्षण संस्थामा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र त्यस्ता संरचना बनाई प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार निर्मलीकरण गर्नुपर्ने बताए ।

शिक्षण संस्थाका क्‍वारेन्टाइन हटाइने

विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवागमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्रनिकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने सरकारको निर्णय छ ।

मुलुकभरका ४ हजार ५ सय सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयका २५ क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको छ । तिनलाई स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउनुपर्ने मन्त्री खतिवडाले बताए ।

सरकारले देशभरका विद्यालय पुनः सञ्‍चालनको कार्यढाँचासमेत जारी गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको जानकारी दिएका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यढाँचा निर्माणको काम भइरहेको बताए । भदौ १ देखि विद्यार्थी भर्ना खोल्ने निर्णय यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको थियो । विद्यार्थीको अभिलेखीकरण गरेर कोरोना संक्रमण कायम रहेसम्म वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या यकिन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चालनार्थ शिक्षकहरू अविलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

प्रकाशित : श्रावण १५, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?