कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

काठमाडौंमा झोला फ्याँकेर भागेका ३ जना सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ

दरबारमार्ग प्रहरीले घटनास्थल परिवर्तन गरेको आशंकामा अनुसन्धान हुँदै
मातृका दाहाल

काठमाडौँ — २ थान पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुनसहितको झोला सडकमा फ्याँकेर भागेका ३ भारतीय नागरिक नवलपरासी पूर्वबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई बुधबार पक्राउ गरेको हो ।

काठमाडौंमा झोला फ्याँकेर भागेका ३ जना सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ

प्रहरी स्रोतका अनुसार देवान पटेल, विजय पटेल र निलेश सखिया बुधबार दिउँसो पक्राउ परेका हुन् । सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएको खुलेको छ । तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ ।

उनीहरुलाई राति नै काठमाडौं ल्याइएको छ । प्रहरी जाँचमा परेपछि मंगलबार बिहान कमलादीमा चाँदीको बिस्कुटमा जलप लगाइएको साढे १४ केजी र ५ सय ग्राम सक्कली सुन तथा २ थान पेस्तोल बाटैमा मिल्काएर उनीहरु भागेका थिए । त्यहीदिन उनीहरु काठमाडौंबाट भागेका थिए । महानगरीय अपराध महाशाखाले घटनामा छानबिन गरिरहेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल कमलादी बताएको थियो । तर महाशाखाको अनुसन्धानमा घटनास्थल अन्यत्रै रहेको हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले किन त्यसदिन घटनास्थल परिवर्तन गरेको भन्नेमा पनि अनुसन्धान भइरहेको महाशाखा स्रोतले बतायो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनास्थल कमलादीस्थित नबिल बैंक अगाडी भएको बताएका थिए ।

प्रकाशित : श्रावण १५, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?