वर्षाले घर भत्किँदा कालीकाेटमा दुई बालबालिकाको मृत्यु, ४ जना घाइते- समाचार - कान्तिपुर समाचार

वर्षाले घर भत्किँदा कालीकाेटमा दुई बालबालिकाको मृत्यु, ४ जना घाइते

तुलाराम पाण्डे

कालीकोट — अविरल वर्षाले घर भत्किँदा बुधबार बेलुकी महाबै–७ गेला कोटवाडामा दुई बालबालिकाको मृत्यु भएको छ । 

वर्षाले घर भत्किँदा घरमा खेलिरहेका स्थानीय सूर्ज महताराका १० वर्षीय छोरा गणेश र टेक भण्डारीका ५ वर्षीया छोरी भावनाको घटनास्थलमै मृत्यु भएको छ । आफन्तले मृतकको शव निकालेर बुधबारै अन्तिम संस्कार गरेका छन् ।

घर भत्किँदा घाइते भएका बालबालिकाहरु सुकी महतारा, मन्जु महतारा, संगीता भण्डारी र हिक्मत महताराको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामबाबु ओलियाले बताए । घाइते बालबालिकाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

मृतक र घाइते बालबालिकाका लागि नेकपा महाबै गाउँ कमिटीको पहलमा ५० हजार नगद राहत उपलब्ध गराइएको नेकपा नेता चित्रसिंह गाउँलेले बताए ।

कालीकोटमा हालसम्म पहिरोले मर्नेको संख्या १२ पुगेको छ भने ७ जना बेपत्ता छन् ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : श्रावण १५, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमितको मृत्युपछि वडा सिल

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमितको मृत्यु भएपछि मोरङको सीमावर्ती सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ बिहीबार बिहानदेखि सिल गरिएको छ । उक्त वडाका ४५ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले उक्त वडा सिल गरेको छ ।

नगरका जनस्वास्थ्य प्रमुख किशोर कुमार मण्डलका अनुसार मृतकका आफन्तसहित उनलाई अस्पतालसम्म पुर्‍याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ ।

ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनपुगेको जनस्वास्थ्य प्रमुख मण्डलले बताए ।

सुनवर्षी नगरपालिकाका वडा– ८ भारतसँग जोडिएको छ । मृतक डाइनिया हर्चगढीका हुन् । उनी लकडाउनको तीन सातापछि भारतबाट घर आएका थिए । घर आएपछि उनी दुई सातासम्म क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । नगरका जनस्वास्थ्य प्रमुख मण्डलले भने क्वारेन्टाइनवाट घर गएपछि उनी फेरि भारत गएर फर्किएको पाइएको छ । फर्किएपछि उनी फेरि संक्रमित भएछन् । मण्डलले भने, ‘उनी फर्किएपछि कहाँ कहाँ गए र को–को सँग सम्पर्कमा रहे उनीहरुको खोजी भइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×