मनोनयनको विरोधमा लिखित असहमति बुझाउन पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

मनोनयन रोक्ने प्रतिबद्धता नपाए आजै पत्रकार सम्मेलन गर्ने
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका केन्द्रीय विभाग र निकायहरुमा भइरहेका मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई अहिले सामूहिक लिखित असहमति बुझाउने भएको छ । 

मनोनयनको विरोधमा लिखित असहमति बुझाउन पार्टी कार्यालय पुगे पौडेल पक्ष, देउवाले पनि बोलाए आफ्नो पक्षका नेताहरु

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्नेगरी मनोनयन रोक्न पौडेल पक्षले धेरै अघिदेखि माग गर्दै आएको थियो ।

बुधबार पौडेल पक्षको बैठकले लिखित असहमित जनाउने निर्णय गर्दै त्यहींबाट सभापति देउवासँग समय मागेको थियो । देउवाले बिहीबार बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएका थिए ।

देउवालाई भेट्न अहिले पौडलपक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भइसकेको छ । सानेपामा पौडेलका तर्फबाट महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताहरु उपस्थित छन् । उता देउवाले आफ्नो पक्षबाट उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतका नेताहरुलाई बोलाएका छन् ।

यसअघि पनि पौडेल पक्षले लिखित रुपमा सभापति देउवाको ध्यानाकर्षण गराएको थियो । त्यसपछि पनि मनोनयन हुँदै गएपछि देउवालाई भेटेरै सामूहिक रुपमा बिरोध पनि गर्ने र यसै मुद्दालाई पार्टीको तल्लो तहसम्म लैजाने रणनीतिमा पौडेल पक्ष पुगेको हो ।

देउवाले मनोनयनहरु रोक्ने विश्वास नदिलाए पौडेल पक्षले आजै अपरान्ह पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरु सार्वजनिक गर्ने तयारीमा पुगेको छ । देउवाले पार्टी केन्द्रीय विभागलगायतका पार्टी निकायहरुमा मनोनयन गर्ने क्रम नरोकिएपछि पौडेल पक्षले महाधिवेशनको निष्पक्षमता माथि नै प्रश्न उठाएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?