कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आतंक मच्चाउने ‘नङ्ग्रा’ कहाँ हराई ?

रमेशकुमार पौडेल

चितवन — वन्यजन्तुका विशेषता बुझेकाहरू बाघलाई लजालु जनावर भन्छन् । तर, संकटमा परेपछि बाघजति हिंस्रक अरू हुँदैनन् । चितवनको ‘नङ्ग्रा’ भनिने पोथी बाघ यसैको उदाहरण हो । त्यो बघिनीले आफ्नो जीवनमा १९ जना मानिसको ज्यान लियो । अहिले यो बाघ देखा पर्न छाडेको छ ।

आतंक मच्चाउने ‘नङ्ग्रा’ कहाँ हराई ?

नङ्ग्रा पोथी नदेखिँदा चितवन निकुञ्ज आसपासमा बाघको आक्रमणबाट ज्यान जाने क्रम पनि ह्वात्तै घटेको छ । ‘संकटमा परेका बाघको व्यवस्थापन बेलैमा हुने हो भने मान्छेसँग सम्बन्धित दुर्घटना कम हुन्छन्,’ सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने । उनले नङ्ग्राले सन् २००७ देखि २०१६ सम्म मानिस र घरपालुवा जनावरमाथि गरेको आक्रमणका विषयमा अनुसन्धान गरेका थिए ।

उनको समूहमा चितवन निकुञ्जका तत्कालीन पशु चिकित्सक डा. कमल गैरेलगायत १२ जना थिए । अध्ययन अवधिमा बाघका कारण ४० जनाको ज्यान गएको थियो । ‘त्यसमा १९ जनालाई यो नङ्ग्रा पोथीले मारेको छ,’ अनुसन्धान अधिकृत लामिछानेले भने ।

नङ्ग्रा पोथी यही कालाबन्जर मध्यवर्ती क्षेत्र आडको वनमा विचरण गर्थ्यो । निकुञ्जका जनावरले समस्या ल्याए समाधानका लागि पहल गर्नु मध्यवर्तीको उद्देश्य हो । त्यसैले नङ्ग्रा पोथी जहाँ–जहाँ हिँड्छ, त्यो क्षेत्रमा स्वचालित क्यामेरा राखेर अनुगमन सुरु भयो ।

निकुञ्ज कालाबन्जर मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष रेविजंग गुरुङले एनटीएनसीलगायतका संस्थाले यसमा सहयोग गरेको बताए । ‘दुई वर्षयता त्यो बघिनी न क्यामेरामा क्याप्चर भएको छ न पाइला नै भेटिएको छ,’ गुरुङले भने । धेरैलाई लाग्छ, यो बघिनी मर्‍यो । त्यसको उमेर १५ वर्ष पुग्दै थियो । त्यसैले मर्न पनि सक्ने सम्भावना हुने लामिछाने बताउँछन् । ‘मृत भेटिएको पनि छैन । क्यामेरामा क्याप्चर पनि भएको छैन । पाइला पनि छैन । अन्यत्र सरेको पनि हुन सक्छ । उमेर भएको थियो, मर्न पनि सक्छ,’ उनले भने ।

नङ्ग्रा पोथी सन् २००४ तिर जन्मेको अनुमान छ । त्यसको पछाडिको देब्रे खुट्टाको एउटा नङ्ग्रा अलि बाँगिएको थियो । त्यसैले यसको नाम नै नङ्ग्रा पोथी रह्यो । त्यो जहाँ पुग्थ्यो, आफ्नो फरक पाइलाको निसान छाड्थ्यो । निसानका आधारमा यो बाघले सन् २००८ देखि मानिस मार्न थालेको पत्ता लागेको थियो । पश्चिम चितवनको नारायणी नदी क्षेत्रको १७ किलोमिटर वन क्षेत्रमा यो बाघ डुल्ने गर्थ्यो । ‘यो बघिनी बस्तीमा कहिल्यै आएन । जंगलमा मान्छेसँग जम्काभेट हुँदा मार्ने गर्‍यो,’ पूर्वअध्यक्ष गुरुङले भने ।

बूढो बाघले मान्छे मार्ने खतरा भए पनि सन् २०१६ पछि यो बघिनीले आक्रमण गरेको देखिँदैन । सन् २००७ देखि ०१६ सम्म चितवन निकुञ्ज आसपासमा बाघका कारण ४० जनाको मृत्यु हुँदा बाघको संख्या १ सय २० थियो । मानिसमाथि आक्रमण गरेर ज्यानै लिने बाघहरू जम्मा ७ वटा थिए । हिंस्रक नङ्ग्रा बघिनी ओझेल पर्न थालेसँगै बाघका कारण मानिसको मृत्यु भएका घटना निकै कम आउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत आर्थिक वर्षमा बाघका कारण कसैको ज्यान गएन । त्यसअघि दुई जनाको मात्रै निधन भएको थियो । अनुसन्धानकर्ता लामिछानेका अनुसार सन् २०१६ यता बाघले आक्रमण गर्दा चार जनाको मात्रै ज्यान गएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?