२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

सांसदहरुले सोधे, ‘नट-बोल्ट खुस्क्यो भन्न पाइन्छ ?’
ऋषिराम पौड्याल

काठमाडौँ — मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो ।

मेलम्चीको छानबिन प्रतिवेदन अख्तियारमा

मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको जानकारी दिए । गत असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी सिन्धुपाल्चोकको हेलम्बुस्थित फ्लसिङ अडिटको ढोका फुटेर बाहिर आएपछि चार जना कर्मचारीलाई बगाएको थियो । बगाएका मध्ये एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै अख्तियारलाई पठाइएको हो । उक्त प्रतिवेदन मंगलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाइएको थियो । प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र होइन, ढोका र नटबोल्टको गुणस्तरमाथि पनि प्रश्न उठाइएको छ ।

प्रतिवेदनअनुसार मुख्यतः भित्र खुल्ने गरी बनाउनुपर्ने ढोका बाहिर खुल्ने बनाएको र त्यसको विषयमा प्राविधिक पक्षमाथि ख्याल नगरिएकाले दुर्घटना भएको देखिएको छ । ढोकाको डिजाइन परिवर्तन भएको विषयमा परामर्शदाता, निर्माण व्यवसायी र आयोजनाबीच पर्याप्त छलफल नभएको निष्कर्ष प्रतिवेदनमा छ । ढोकाको जडान, निर्माण र डिजाइनको जिम्मेवारी भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले लिएको थियो । आयोजनाको परामर्शदाता भने स्पेनको इप्टिसा बेट्स जेभी कम्पनी रहेको छ । आयोजनाको डिजाइन, जडान, अनुगमनलगायतका सबै विषय हेर्ने जिम्मेवारी परामर्शदाताको हो । सुरुङ निर्माण गर्दागर्दै एकतर्फी रूपमा काम छाडेर गएको इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नाले सब–कन्ट्र्याक्टरका रूपमा आएको प्रेसिजन इन्फ्राटेकले पनि घटना छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार घटना भएलगत्तै आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठाएर अख्तियारमा उजुरी परेको थियो । उजुरीमा आयोजनामा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तर पनि जाँच गर्न माग गरिएको छ । मन्त्रालयले उजुरी सम्बन्धित राय र प्रतिवेदन पठाएको हो ।

मन्त्रालयको प्रतिवेदनको निष्कर्षमा ढोकामा प्रयोग भएका नट र बोल्टहरू मजबुत तरिकाले डिजाइन नगरिएको र तोकिएको गुणस्तर पनि नभएको उल्लेख छ । डिजाइनअनुसार ५० मिटर उचाइको प्रेसर थाम्नुपर्ने ढोका १६ मिटरमै खुलेपछि डिजाइन र गुणस्तरमा शंका बढेको हो । आयोजनाका अन्य ढोकाहरू प्नि जोखिममा हुन सक्ने भएकाले डिजाइन पुनरावलोकन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘पानीको प्रेसर जाँच्ने प्राविधिक पनि छैनन् ?’

सांसदहरूले आयोजनाका संरचनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले पानी लगाउनेबित्तिकै भत्कने ढोकाको गुणस्तरमा प्रश्न गरे । ‘ढोकाको नट–बोल्ट खुस्कियो भनेर सुख पाइन्छ ? उनीहरूले प्रश्न गरे ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गौरवका आयोजनाहरूको अवस्थाका विषयमा बुधबार आयोजना गरेको छलफलमा सांसदहरूले कति पानीको प्रेसर थेग्न कस्तो डिजाइन चाहिन्छ भन्ने प्राविधिक पनि छैनन् कि कसो भन्दै मन्त्रालयका सचिव माधव बेल्बासेलाई प्रश्न राखे । नेकपाका रामचन्द्र रायले मुहानमा खुल्ने ढोका सुन्दरीजलमा खुलेको भए कति धनजनको क्षति हुन्थ्यो भन्दै उक्त घटना छानबिनको माग गरे ।

कांग्रेस सांसद अनिता देवकोटाले मेलम्ची आज आउँछ, भोलि आउँछ, यो दसैंमा आउँछ, त्यो दसैंमा आउँछ भन्दाभन्दै दिन गएको बताइन् । ‘भोलि आउने आर्थिक वर्ष कहिले हो,’ उनले प्रश्न गरिन् । राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले कमसल नट–बोल्ट लगाएकाले ढोका खुलेको भन्दै यस्तो लापरबाही गर्न नपाइने बताए ।

यसअघि सचिव बेल्बासेले प्राविधिक त्रुटिका कारण ढोका खुलेको जानकारी समितिलाई दिएका थिए । उनले ढोकाको डिजाइन र जडानमा समस्या देखिएको बताए । सचिवले जानकारी दिएपछि सांसदहरूले मेलम्चीमा भएको घटनाको विरोध गरे ।

प्रकाशित : श्रावण १५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?