कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सशस्त्रको सुडान मिसनमा कमजोर हतियार

राष्ट्रसंघबाट कम घातक हतियार प्रयोग गर्नुपर्ने आग्रह भएबमोजिम इन्सास राइफल पठाउन लागिएको हो । – राजु अर्याल, प्रवक्ता, सशस्त्र प्रहरी बल
मातृका दाहाल

काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ ।

सशस्त्रको सुडान मिसनमा कमजोर हतियार

युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी जुबा र अर्को सहर बोरस्थित एफपीयूमा कार्यरत एपीएफले हाल प्रयोग गरिरहेका एसएलआर राइफल फिर्ता गरेर त्यसको सट्टामा ५.५६ एमएम क्यालिभरका इन्सास पठाउन लागिएको हो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले राष्ट्रसंघबाट कम घातक हतियार प्रयोग गर्नुपर्ने आग्रह भएबमोजिम इन्सास राइफल पठाउन लागिएको बताए । ‘अहिले प्रयोग भइरहेका एसएलआर राइफल विस्थापन गरेर छिट्टै जुबा र बोरस्थित एफपीयूका लागि इन्सास राइफल पठाउन लागिएको हो,’ उनले भने, ‘सोही प्रयोजनका लागि सरकारले निर्णय गरेपछि सेनाबाट आवश्यक मात्रामा राइफल प्राप्त गरेका छौं ।’ सशस्त्रले मिसनका लागि बुधबार सेनाबाट ६ सय थान इन्सास राइफल लिएको छ । सेनाले द्वन्द्वकालमा भारतबाट किनेको इन्सास क्रमशः विस्थापित गर्दै आएको छ । बुधबार सशस्त्रलाई हस्तान्तरण गरिएका इन्सास पनि त्यतिबेलै किनिएका हुन् ।

दक्षिण सुडानका दुई मिसनमा सशस्त्रका ३ सय २० जना एफपीयूअन्तर्गत तैनाथ छन् । सन् २०१४ देखि एसएलआर राइफलसहित सशस्त्र त्यहाँ खटिँदै आएको छ । लडाइँमा एसएलआर निकै भरपर्दो हतियार मानिन्छ । एक उच्च सैनिक अधिकारीका अनुसार इन्सास राइफलबाट लगातार फायर गर्नुपर्ने अवस्था आएमा ब्यारेल तातेर प्रहार नै गर्न नमिल्ने अवस्था आउन सक्छ ।

‘सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएका इन्सास प्रतिविद्रोहकै बेला भारतबाट खरिद गरिएका हुन्, धेरैजसो हतियार सेनाका युनिटले प्रयोग गरे, केही जगेडामा थियो,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले भने, ‘सरकारबाटै निर्णय भएबमोजिम सशस्त्रको क्षमता अभिवृद्धिका लागि निःशुल्क रूपमा दिइएको हो ।’ राष्ट्रसंघअन्तर्गत द्वन्द्वग्रस्त विभिन्न १२ वटा मिसनमा तैनाथ रहेको सेनाले भने सबैमा एम–१६ सिरिजका हतियार उपलब्ध गराइसकेको छ ।

१० वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोह दबाउन सरकारले भारतबाट इन्सास राइफल खरिद गरेको थियो । तर लडाइँमा इन्सासले काम नगरेपछि यसलाई थन्क्याएर सेनालाई नयाँ हतियार किनिएको थियो । तर अहिले तिनै कमजोर हतियार मिसनमा पठाउन लागिएको हो । भारतले पनि इन्सास राइफलको प्रयोग घटाउँदै लगेको छ । नेपालसहित भारत, भुटान र ओमानमा मात्रै इन्सास प्रयोगमा रहेको एक सुरक्षा अधिकारीले बताए ।

संयुक्त राष्ट्रसंघको लाइबेरियास्थित युनाइटेड नेसन्स मिसन इन लाइबेरिया (अनमिल) मा नीतिगत तहमा बसेर काम गरिसकेका नेपाल प्रहरीका पूर्वएआईजी पुष्कर कार्की द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ जाने फौज व्यवस्थित र भरपर्दो हातहतियारमा सुसज्जित हुनैपर्ने बताउँछन् । ‘उनीहरूका हतियार कमजोर त हुनै हुँदैन,’ उनले भने, ‘यसको प्रयोग र जनधनको क्षति हुन नदिन सावधानी अपनाउनुपर्छ । लडाइँका बेला प्रयोग गर्दागर्दै हतियार बेकामे भइदियो भने विद्रोहीबाट ठूलो क्षति बेहोर्नुपर्ने जोखिम रहन सक्छ ।’

दक्षिण सुडानका विद्रोहीले त्यहाँका सरकारी फौज र राष्ट्रसंघअन्तर्गत खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी एके–४७, एम–१६, एम–४ लगायतका शक्तिशाली हतियार प्रयोग गरिरहेका छन् । केही वर्षअघि मिसनबाट फर्किएका सशस्त्र प्रहरीका एक अधिकारी उच्च सुरक्षा जोखिम भएका स्थानमा कमजोर हतियारसहित फौज परिचालन गर्दा विद्रोहीबाट क्षतिको सामना गर्नुपर्ने अवस्था आउने बताउँछन् । दक्षिण सुडानमा शक्तिशाली हातहतियारसहित डिफेन्स फोर्स, डेमोक्रेटिक मुभमेन्ट, लिबरेसन मुभमेन्ट, प्याट्रिओटिक आर्मी, पिपुल्स डिफेन्स फोर्सलगायत दुई दर्जनजति साना/ठूला सशस्त्र समूह सक्रिय छन् ।

प्रकाशित : श्रावण १५, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?