१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चुलो नबल्ने ठाउँ गोठ हो : मन्त्री बस्‍नेत

जयसिंह महरा

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषयमा गरेको टिप्पणीप्रति आलोचना खेपिरहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा बुधबार मन्त्री बस्नेतले चितवनमा घर नभई गोठ नै जलेको दाबी गरे ।

चुलो नबल्ने ठाउँ गोठ हो : मन्त्री बस्‍नेत

‘स्थायी रूपमा चुलो बल्ने ठाउँ घर हो । आकार कत्रो छ, ठाउँ कति ठूलो छ भन्नेले प्रभाव पार्ने होइन,’ उनले भने, ‘चुलो नबल्ने ठाउँ जति ठूलो भए पनि गोठ हो ।’

मन्त्री बस्नेतले साउन ११ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा चेपाङका घर नभई गोठ जलाइएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो । बुधबार उनले सशस्त्र द्वन्द्वका क्रममा धादिङको रुविभ्यालीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म हिँडेको उल्लेख गर्दै घर र गोठबारे आफू जानकार रहेको प्रस्टीकरण दिए । उनले चेपाङ बस्तीका नाममा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका तस्बिरलाई विश्वास नगर्न सांसदहरूसँग आग्रह गरे । ‘चेपाङ बस्तीका तस्बिर भनेर सन् २०१९ मा खिचिएका र अन्य सहरका तस्बिर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भइरहेका छन्,’ मन्त्री बस्नेतले भने, ‘अवस्थालाई उत्तेजित पार्न र राजनीतिक लाभ लिन सकिन्छ कि भन्ने शक्ति लागेका छन् ।’

उनले चेपाङका गोठ जलाउनु र हात्ती लगाएर भत्काउनु दुःखद् र अनुचित भएको बताए । कुसुम खोलाका २ सय १ चेपाङ परिवारमध्ये १ सय ९३ लाई स्थानान्तरण गरिसकिएको र बाँकी ८ परिवारलाई स्थानान्तरण गर्ने क्रममा उक्त घटना भएको मन्त्री बस्नेतको भनाइ थियो । उनले सरकारका तर्फबाट यस विषयमा छानबिन भइरहेको जनाउँदै गल्ती ढाकछोप नहुने बताए । उक्त घटनामा संलग्न वार्डेन र सहायक वार्डेनलाई फिर्ता बोलाइएको पनि उनले जानकारी दिए ।

‘कम्युनिस्ट सरकारको निधारमा कलंक’

सत्तारूढ नेकपाका सांसदहरूले कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायको घर जलाइएको र सेनाको कुटपिटबाट राजकुमार चेपाङको ज्यान गएको घटनाले कम्युनिस्ट सरकारको निधारमा कलंक लागेको बताएका छन् । ‘यो घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ,’ नेकपा सांसद भूमि त्रिपाठीले भने ।

नेकपाकै सांसद राधा ज्ञवालीले सरकारको निधारमा कलंक लागेको उल्लेख गर्दै यो लामो समयसम्म इतिहासमा लेखिने उल्लेख गरिन् । ओनसरी घर्तीले चेपाङका घरमा हात्ती लगाउने र आगो झोस्ने कार्य निकुञ्जको नियम विपरीत भएको बताइन् । ‘दुई तिहाइको कम्युनिस्ट सरकारको पालामा यस्तो घटना हुनु लज्जाको विषय हो,’ सांसद शान्तिमाया पाख्रिनको भनाइ थियो । नेकपा सचेतकसमेत रहेकी सांसद शान्ता चौधरीले चेपाङका घर जलाउने कार्यको दोषी वनमन्त्री बस्नेत भएको आरोप लगाइन् । बैठकमा निकुञ्ज विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले मानवीय त्रुटिले घटना भएको भनेर दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका थिए । उनीहरूले यो आपराधिक कार्य भएको भन्दै माफी मागेर नहुने बताएका थिए ।

सांसदहरूले राजकुमार चेपाङको मृत्युबारे पनि प्रश्न उठाए । राजकुमारलाई साउन १ गते सेनाले पक्राउ गरेर कुटपिट गरेको र उपचारक्रममा ८ गते मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १५, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?