कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाबाट बीपी प्रतिष्ठानमा मोरङका एक पुरुषको मृत्यु

देवनारायण साह

(मोरङ) — कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

कोरोनाबाट बीपी प्रतिष्ठानमा मोरङका एक पुरुषको मृत्यु

‘कोसी अस्पतालले बिना कुनै समन्वय दिउँसो १ बजे एम्बुलेन्समा पठाएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल भेन्टिलेटरमा राखेर उपचार थाले पनि ४:४५मा उनको मृत्यु भयो ।’ समन्वय गरेर रेफर गर्दा भेन्टिलेटर खाली गरेर राख्ने लगायतको तयारी गर्न सहज हुने उनको भनाइ थियो ।

कोसी अस्पतालका डा. दिपक सिग्देलले अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा श्वास फेर्न गाह्रो भएर उपचारका लागि ती पुरुष आएको बताए । ‘श्वास फेर्न गाह्रो भएकाले तत्काल स्वाब परीक्षण गर्दा मंगलबार राति १०:३० बजे पोजिटिभ रिपोर्ट आएको थियो,’ उनले भने, ‘श्वास फेर्न गाह्रो भएको र संक्रमण पुष्टि भइसकेपछि तत्काल भेन्टिलेटरमा राख्न धरान पठाउने प्रयास गरेको तर एम्बुलेन्स नभएर आइसोलेसन वार्डमा राख्न बाध्य भयौं ।’

ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । ‘यसअघि पनि ती पुरुष भारतस्थित ससुरालीबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए,’ उनले भने, ‘तर पछिल्लो पटक भने क्वारेन्टाइनमा बसेका थिएनन् । ’

केही दिनदेखि खोकी लाग्‍न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । ‘गोल्डेन अस्पतालले कोरोना संक्रमणको आशंकामा कोसी अस्पतालमा मंगलबार नै रेफर गरेको थियो,’ यादवले भने । प्रवक्ता यादवले प्रतिष्ठानका डा. सन्दिप शर्मासँग समन्वय गरेरै ती व्यक्तिलाई थप उपचारका लागि पठाइएको दाबी गरे ।

यसैबीच विराटनगर महानगरमा समुदायमा कोरोना फैलिएको भन्दै महानगरले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । मोरङमा हालसम्ममा चिकित्सक, प्रहरीलगायत गरी २ सय ९४ जना संक्रमित भएका छन् । तीमध्ये १ सय ९३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रदेश १ मा बुधबारसम्ममा ९७५ जना संक्रमित भएका मध्ये ७४७ जना निको भएर घर फर्किसकेका छन् । अन्यको कोभिड १९ उपचार केन्द्रहरुमा चिकित्सकको निगरानीमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्ममा ४० हजार ७ सय ३५ जनाको स्वाब परीक्षण गरिएको छ ।

प्रकाशित : श्रावण १४, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?