फुल्पिङकट्टी पहिरो : बेपत्ता सबैको शव फेला

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षात्‌का कारण खकुण्डोलमा पहिरोले पुरिएर बेपत्ता भएका भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका ५ जनाकै शव फेला परेको छ । असार ३१ गते राति करिब साढे १ बजे झरेको पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा स्थानीय गेन्जेन शेर्पाका आमा ८५ वर्षीया सुमबुट्टी, श्रीमती ४० वर्षीया सेमसङ्ग, बहिनी ३५ वर्षीया साङ्मुसहित छोरी १४ वर्षीया छिरिङवाङ्गु र १६ वर्षीया याङ्जी बेपत्ता भएका थिए । 

फुल्पिङकट्टी पहिरो : बेपत्ता सबैको शव फेला

उनीहरुमध्ये बुधबार दिउँसो सुमबुट्टी र सेमसङ्गको शव भेटिएको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

‘गएको बिहीबार र पहिरो झरेको दिन गरी ३ जनाको शव फेला परिसकेको थियो, अहिले बाँकी दुईको पनि शव पुरिएको अवस्थामा फेला परेको छ,’ उनले भने । सशस्त्र, नेपाली सेनासहित अन्य सुरक्षाकर्मी जनप्रतिनिधि, स्थानीयसँग मिलेर बेपत्ताको खोजी जारी थियो ।

पहिरोले स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा क्षति पुगेको छ भने ६० परिवार विस्थापित भएका छन् । स्थानीय नोर्साङ शेर्पाले भने- ‘तल भोटेकोसी बाढीको कटान, माथि पहिरो हामी कहाँ जाने ?,’

प्रकाशित : श्रावण १४, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?