१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

चेपाङ बस्तीमा आगो र हात्ती लगाउनु गल्ती भन्दै विभागले माफी माग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ ।

चेपाङ बस्तीमा आगो र हात्ती लगाउनु गल्ती भन्दै विभागले माफी माग्यो 

विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट माफी मागेका हुन् ।

समितिको बुधबारको बैठकमा कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी मागेका हुन् । 'केही छिटफुट घटना भएको छ । अमानवीय भन्नाले पनि केही मानवीय त्रुटिले घटना हुन गएको छ । म विभागकोतर्फबाट क्षमा याचना गर्न चाहन्छु,' उनले भने ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसेका चेपाङ समुदायका घर भत्काइएको र जलाइएको थियो । व्यापक विरोधपछि विभागले क्षमा याचना गरेको हो ।

कँडेलले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको बताएका हुन् । घर र गोठको रूपमा प्रयोग गरिएका 'कटेज'मा आगो लगाइएको र भत्काइएको उनले बताए ।

उक्त क्षेत्रमा २०५३ सालयता स्थानीय बसोबास गर्दै आएको र पछिल्लो समय दुर्घटना बढेसँगै हटाउन लागिएको कँडेलको भनाइ थियो । चेपाङ बस्ती भएको क्षेत्र भारत र पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने बाटो भएकाले खाली गर्न लागिएको उनले जानकारी दिए । समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतले मानवीय त्रुटिका कारणले घर जलेको बताएका थिए ।

प्रकाशित : श्रावण १४, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?