‘न टेक्ने भुइँ छ, न समात्ने हाँगो नै’
लमजुङ — पहिरोले घरखेत लगेपछि मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । ‘टेक्ने भुइँ न समात्ने हाँगो भयौं,’ ५६ वर्षीया गंगा सार्कीले भनिन्, ‘अब कहाँ बस्ने, के खाने थाहा छैन ।’ उनकी दिदी चन्द्राको पनि यस्तै हालत छ । अविवाहित उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए ।
साउन ७ र ८ गतेको पहिरोले विस्थापित पल्लोटारीका ८२ परिवारलाई अहिले पालिकाले अन्यत्र व्यवस्थापन गरेको छ । ‘पहिलो दिन पहिरो आउनेबित्तिकै वडाध्यक्षले नसारेको भए हामी ३०/४० जनाको अवस्था कस्तो हुन्थ्यो होला,’ पूर्वशिक्षक अतिमान गोतामेले भने, ‘कसैका एक पाइला टेक्ने खेत छैन । ओत्ने छाप्रो पहिरोले लग्यो । अब कसरी कहाँ बस्ने हो ?’
मध्यनेपाल नगरपालिकाका पहिरोपीडितको पीडा पनि उस्तै छ । मध्यनेपाल–६ रानीपानीकी ६० वर्षीया देवी कुँवर बुहारी र नातिसँग बस्दै आएकी छन् । कान्छो छोरो लकडाउनले कतारमा रोकिएका छन् । जेठो छोरा र पतिको निधन भइसकेको छ । पहिरोले कुँवर परिवार पनि विस्थापित भएको छ । रानीपानीका ३१ परिवार इशानेश्वर क्याम्पसमा बस्दै आएका छन् । वडाध्यक्ष विष्णुभक्त पौडेलका अनुसार रानीपानीसंगै लामासोतीका २७ घर, भदौरेका ११, गुम्बाबेंसीका ९ परिवार विस्थापित भएका छन् । उनीहरूलाई खानपानको व्यवस्थापन गरिएको छ । वडा ९ रातामाटाका २१, वडा ३ सूर्यपालका ५, वडा २ पराजुलीटारका ३, वडा १ खवासगाउँ र वडा ४ चर्दीका १/१ घर गरी नगरपालिकाका १ सय ९ परिवार विस्थापित छन् ।
लमजुङको मध्यनेपाल नगरपालिकाका पहिरोपीडित राहतको पर्खाइमा ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार मध्यनेपाल, मर्स्याङ्दी, दोर्दीलगायत गाउँपालिकाका पहिरोपीडितलाई प्रदेश सरकार, स्थानीय तह, विभिन्न गैरसरकारी संस्थाको सहयोगमा तत्कालका लागि खानेबस्ने व्यवस्थापन गरिएको छ । दीर्घकालीन समाधानका लागि संघीय र प्रदेश सरकारसँग माग गरिएको उनले बताए ।
प्रकाशित : श्रावण १४, २०७७ १०:३०