६ कैदीसहित पर्सामा थप ३४ जनामा कोरोना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ कैदीसहित पर्सामा थप ३४ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् ।

नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार ३४ संक्रमितमध्ये एक जनाले मात्र पैसा तिरेर परीक्षण गराएका थिए । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू हुन् । ‘दुई वर्षदेखि ६५ वर्ष उमेरसमूहका ३४ संक्रमितमध्ये १० महिला छन्,’ उपाध्यायले भने ।

कैदीहरूलाई अस्पताल र अदालत लैजाने–ल्याउने क्रममा कोरोना फैलिएको हुन सक्ने वीरगन्ज कारागारले जनाएको छ । ‘कुनै लक्षण देखिएर परीक्षण गराइएको होइन,’ कारागारका एक कर्मचारीले भने, ‘अदालत र अस्पताल जाने–आउनेलाई र्‍यान्डम परीक्षण गरिएको हो ।’

संक्रमित कैदीहरूलाई राख्न कारागार परिसरको समता स्कुलमा आइसोलेसन वार्ड बनाउन थालिएको छ । कारागारका कर्मचारी र त्यहाँ कार्यरत प्रहरीमा पनि संक्रमण देखिएको छ । संक्रमित हुने अन्यमा वीरगन्ज महानगरपालिका–१५ भिस्वाका ८ जना छन् । वीरगन्ज–२५ सिर्सियाका तीन र वडा–१० आदर्शनगरका दुई जना संक्रमित थपिएका छन् ।


प्रकाशित : श्रावण १४, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

भोज खाँदा बिरामी परेका रामपुरका ५४ जना थप उपचारका लागि तानसेन आए

माधव अर्याल

पाल्पा — पितृप्रसाद खाएर बिरामी परेका पाल्पाको रामपुर नगरपालिका–७, मोहटी गाउँका ५४ जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास आएका छन् ।मंगलबार राति उनीहरु थप उपचारका लागि ६५ किलोमिटर टाढा रामपुरबाट तानसेन आएका हुन् ।

रामपुर अस्पतालमा उपचारका लागि पुगेका ३७ जनालाई रिफर गरेर पठाएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा अस्पताल प्रमुख डा. विजय परियारले बताए । ‘सबैको उस्तै प्रकृतिको लक्षण देखिएको थियो,’ उनले भने, ‘घरमै बसेका अरु १७ जना डरले गर्दा पनि अस्पतालमा थप उपचारका लागि गएका हुन् ।’

मोहटीमा साउन ११ गते १३ दिनको पितृप्रसाद खाएका व्यक्ति बिरामी परेका हुन् । डा. परियारका अनुसार उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको छ । भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएकाले सबै जना थप उपचारका लागि तानसेन आएका हुन् । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलका अनुसार ज्वरो आउने, पखाला लाग्नेलगायतका समस्या भएकाले उपचारमा जोखिम रहेको छ ।

अस्पतालका अनुसार दुई जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको छ । मोहटीका मानबहादुर सुनारको निधन भएको र परम्पराअनुसार उम्किने दिन पितृप्रसाद खाँदा उनीहरु बिरामी परेका हुन् । पितृप्रसादमा खीर, तरकारी र अचार खाएका थिए । उनीहरुले बजारबाट किनेको पोके दूधबाट बनेको खीर, मेवाको अचार र तरकारी खाएका थिए । बिरामीको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरीक्षक दीपक खरेलसहित सुरक्षा निकायका प्रमुखले मंगलबार राति नै लुम्बिनी मेडिकल कलेज पुगेर जानकारी लिएका छन् । बिरामीको उपचार अवस्था र स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको प्रजिअ न्यौपानेले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १४, २०७७ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×