१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपत्यकामा बढेन परीक्षण दायरा

फातिमा बानु

काठमाडौँ — लकडाउन हटेपछि कोभिड–१९ संक्रमणको जोखिम बढे पनि उपत्यकामा परीक्षणको दायरा बढ्न सकेको छैन । हाल भइरहेको परीक्षणमा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ नमिलेको विज्ञले बताएका छन् । दायरा बढाउने भन्दै प्रभावकारी ट्रेसिङ नगरी गरिएको परीक्षणको अर्थ नहुने जनस्वास्थ्यविद् डा.शरद वन्तले बताए ।

उपत्यकामा बढेन परीक्षण दायरा

‘एक त आवश्यकताअनुसार परीक्षण पुगेको छैन । अर्को वैज्ञानिक तरिकाले ट्रेसिङ गरे जस्तो देखिँदैन,’ उनले भने, ‘संक्रमितको परिवार र आफन्तको परीक्षण गर्नु मात्रै ट्रेसिङ होइन । संक्रमित घुमेका हरेक ठाउँका व्यक्ति समातेर परीक्षण गर्न आवश्यक छ ।’ यसो गर्दा दायरा बढ्ने र प्रभावकारी पनि हुने उनले बताए । सरकारले बनाएको नयाँ निर्देशिका ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा व्यापक संक्रमण फैलिएको क्षेत्रबाट फर्किएका, संक्रमितको सम्पर्कमा आएका र लक्षण देखिएकाबाहेक अन्य कसैको परीक्षण नगर्ने भनिएको छ । तर यस्तो निर्देशिकाले परीक्षण खुम्चिने र संक्रमण फैलिने जोखिम बढ्ने वन्तले बताए ।

संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीका अनुसार लकडाउन हटेपछि संक्रमणको जोखिम बढेकाले अब कन्ट्याक ट्रेसिङ चुस्त बनाउनुपर्छ । त्यसका लागि परीक्षणको दायरा अझै बढाउनुपर्छ । ‘संक्रमितमध्ये ४० प्रतिशतलाई मात्रै ज्वरो देखिन सक्ने भएकाले ज्वरो नआएकालाई पनि परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘एउटा केस पनि समुदायमा नछिर्ने खालको नीति नबनाएसम्म नेपाल सुरक्षित छैन ।’ संघीय संरचना लागू भएपछि केन्द्रका कर्मचारी प्रदेश र स्थानीय तहमा खटाइएकाले कन्ट्याक्ट ट्रेसिङ चाहे जस्तो चुस्त बनाउन सम्भव नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका सर्भिलेन्स सेक्सन प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।

‘निर्देशिकाअनुसार कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी स्थानीय तहको हो । हामीले त ती कर्मचारीलाई ट्रेसिङको तालिम दिने र समन्वयसम्म गर्न सक्छौं,’ उनले भने, ‘काठमाडौं आएका बिरामीमा संक्रमण भेटिँदा हामीले बिरामीको जिल्लामै जनशक्ति पठाएर ट्रेसिङ गर्ने गरेका छौं, आवश्यक स्वास्थ्य सामग्री जुटाइदिने गरेका छौं ।’

उपत्यकामा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर ईडीसीडीले १२ ठाउँका एक हजार २ सय जनाको नमुना परीक्षण गरेको थियो । एक साताअघि धेरै भीड लाग्ने र संक्रमण फैलिन सक्ने जोखिम भएका सरकारी कार्यालयमा पनि पाँच हजार जनाको स्वाब संकलन गरेर नमुना परीक्षण गरिएको थियो ।

मालपोत, नापी, बैंक र ठूला अस्पतालका कर्मचारी, सेवाग्राही र कडा रोग लागेका बिरामीको नमुना परीक्षण गर्दा एक जनामा पनि पोजिटिभ देखिएको छैन । नियमित मिर्गौला डायलसिस गरिरहेका, क्यान्सरका बिरामी, आकस्मिक कक्ष र आईसीयूमा भर्ना भएका सबै बिरामी र उनीहरूको उपचारमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा तीन जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको अधिकारीले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?