१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थापा अब कांग्रेस ‘सहमहामन्त्री’

महाधिवेशनमा फाइदा लिन पद बाँडेको भन्दै पौडेल पक्ष असन्तुष्ट
कुलचन्द्र न्यौपाने

काठमाडौँ — राप्रपाबाट सुनिलबहादुर थापा नेतृत्वको समूह पार्टीमा आउन लागेकामा कांग्रेसभित्र कुनै विमति थिएन । तर विधानमै नभएको व्यवस्थाविपरीत सभापति शेरबहादुर देउवाले मनोमानी रूपमा पद बाँडेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूह सुरुदेखि नै असन्तुष्ट थियो । मंगलबार बिहानसम्म पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे पौडेल पक्ष निष्कर्षमा पुग्न सकेको थिएन ।

थापा अब कांग्रेस ‘सहमहामन्त्री’

उपसभापति विमलेन्द्र निधिले सोमबारदेखि नै पौडेल र उनीपक्षीय नेताहरूसँग सहमतिका लागि संयोजन गरिरहेका थिए । निधि पार्टीद्वारा गठित अन्तरपार्टी समायोजन समितिका संयोजकसमेत हुन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी समायोजनका लागि निधिको नेतृत्वमा समिति बनाइएको थियो र अहिले थापा नेतृत्वको समूह समायोजनको जिम्मा पनि यसै समितिले पाएको छ ।

पार्टी प्रवेश कार्यक्रम सुरु हुनुअघि देउवाले पनि बूढानीलकण्ठस्थित निवासमा आफ्नो समूहको बैठक राखेका थिए । त्यस बैठकमा थापाको पार्टी प्रवेश र पौडेल पक्षको असन्तुष्टिबारे छलफल भएको थियो । पौडेल पक्षीय कतिपय सदस्यले थापा नेतृत्वको राप्रपालाई कांग्रेसमा स्वागत गरेको वक्तव्य जारी गरेर कार्यक्रममा सहभागी नहुने बताएका थिए । सभापति देउवा सुरुमा थापालाई महामन्त्री र मागेजति केन्द्रीय सदस्य दिएरै भित्र्याउन तयार भएका थिए । तर वरिष्ठ नेता पौडेल समूह र संस्थापन पक्षकै महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूले असन्तुष्टि जनाए । देउवा थापा समूहलाई ९ केन्द्रीय सदस्य दिन तयार थिए । तर पछि पाँच केन्द्रीय सदस्य र दुई आमन्त्रित सदस्य दिने समझदारी बनेपछि पौडेल पक्ष पार्टी प्रवेश कार्यक्रममा सहभागी भयो ।

‘सुनिल थापा नेतृत्वको राप्रपा समूह कांग्रेस प्रवेश गरेकामा हामीले स्वागत नै गरेका छौं । सुनिलजीका बुवा सूर्यबहादुर थापा पनि उदारवादी नेता नै हुनुहुन्थ्यो । उहाँका छोराको प्रवेशले कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्छ भन्ने हाम्रो पनि मान्यता छ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘तर विधानमा नै नभएको व्यवस्थाविपरीत सभापतिजीले पद बाँडफाँट गर्न खोज्नु भएको छ, त्यसमा हाम्रो गुनासो छ । विधानमा व्यवस्था नभएकाले के–के पद दिने भन्नेबारे पार्टीमा छलफल गरेर मात्रै तय गर्नुपर्छ ।’ कांग्रेस नेता मीनेन्द्र रिजालले पनि सभापति देउवाको तौरतरिका गलत भएको बताए । ‘उदार लोकतान्त्रिक विचार राख्ने पार्टीमा आउन खोज्ने जोकोहीलाई स्वागत गर्नुपर्छ । सुनिलजी र उहाँको समूह आएकोमा हामीलाई पनि भित्रैदेखि नै सन्तोष मिलेको छ,’ रिजालले भने, ‘तर जुन तौरतरिकाले पदको बाँडफाँट गर्न खोजियो, त्यो गलत छ ।’

आसन्न महाधिवेशनमा सभापति देउवा आफैं सभापतिका आकांक्षी हुन् । थापासहितको समूहबाट केन्द्रीय कार्यसमितिमा जति धेरै सदस्य बनाउन सकियो उति नै लाभ हुने बुझाइ सभापति देउवामा थियो । त्यही बुझेर नै देउवाले बिनाहिच्चकिचाहट राप्रपा नेता थापा र उनको समूहलाई मागेजति केन्द्रीय सदस्यमा ल्याउन चाहेका हुन् । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशनको स्वतः मतदाता हुन्छन् । उनीहरू तल्लो तहबाट निर्वाचित भएर आउनु नपर्ने र सिधै महाधिवेशनको मतदाता हुने भएकाले वरिष्ठ नेता पौडेल र उनको समूह बढी सशंकित भएको हो । पौडेल पक्षले यो समूहको प्रवेशबाट देउवा पक्षलाई ५०/६० मतको लाभ हुने आकलन गरेको छ ।

कांग्रेसमा प्रवेश गर्नु अघिल्लो दिन थापाले उपसभापति निधिलाई राप्रपाबाट प्रवेश गर्ने ४२ जनाको सूची बुझाएका थिए । प्रवेश कार्यक्रममा भने नेता थापा र ११ केन्द्रीय सदस्य मात्रै उपस्थित थिए । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार अन्य नेता तथा कार्यकर्तालाई जिल्ला–जिल्लामा कार्यक्रम गरेर प्रवेश गराउने योजना बनेको छ । थापासहित ३१ जनाले गत शनिबार राप्रपाबाट राजीनामा दिएका थिए ।

थापालाई सभापति देउवाले पार्टीको सदस्यता दिएका थिए भने वरिष्ठ नेता पौडेलले माला लगाएर स्वागत गरेका थिए । देउवाले कार्यक्रममै थापालाई सहमहामन्त्री दिने घोषणा गरे । तर कति जनालाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य बनाउने भन्नेबारे उनले खुलाएनन् । उपसभापति निधिले पद बाँडफाँट गर्नेबारे पछि केन्द्रीय कार्यसमितिकै बैठकले निर्णय लिने बताए । पार्टी प्रवेश गराइसकेपछि देउवाले कम्युनिस्ट र राप्रपाकै कतिपय नेताहरूले संघीय गणतन्त्र स्वीकार गर्न नसकिरहेका बेला थापा संविधानका उपलब्धि कार्यान्वयनका लागि आफ्नो पुरानो पार्टी नै त्यागेर आएकोमा खुसी व्यक्त गरे । ‘यसले गणतन्त्र, संघीयता र संविधान कार्यान्वयनप्रतिको भावनालाई कदर गर्छ,’ देउवाले भने ।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक विधि, पद्धति बसाल्न पार्टी र पार्टीबाहिर समेत आफूहरूले डटेर सामना गरेको बताउँदै मूल्य, मान्यताको राजनीतिलाई अघि बढाउने दिशामा जुट्न अपिल गरे । ‘पार्टीभित्र धेरै दुःख पाएका, त्यागी नेता र कार्यकर्ताको जमात छ । उनीहरूको भावनालाई समेत सम्मान गरेर अघि बढ्न सक्नुपर्छ,’ पौडेलको भनाइ थियो । उपसभापति निधिले थापा नेतृत्वको समूहको कांग्रेस प्रवेशले पार्टीलाई अझै बलियो र एजेन्डामुखी बनाउन सहयोग पुर्‍याउने बताए । ‘केपी ओली नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा पुर्‍याउने काम गरिरहेको छ, यसविरुद्धको अभियानमा यो प्रवेशले कांग्रेसलाई अझै ऊर्जा र शक्ति मिलेको छ’ निधिले भने ।

थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका मुद्दामा सैद्धान्तिक मतान्तर भएरै आफूले राप्रपा छाडेको बताए । राप्रपाले संवैधानिक राजतन्त्रसहितको हिन्दु राज्यको मुद्दालाई अघि बढाए पछि थापाले विमति जनाउँदै आएका थिए । उनी पाँच महिनाअघि भएको दुई पार्टीबीचको एकीकरण प्रक्रियामा पनि सामेल भएका थिएनन् ।

प्रकाशित : श्रावण १४, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?