विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका ४ को मृत्यु

सुर्खेत — विषालु च्याउको तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका–१ स्याक्रीका एकै घरका ४ जनाको मृत्यु भएको छ ।

विशालु च्याउको तरकारी खाएपछि ३ वर्षीया अञ्जना चलाउनेको गाउँमै ज्यान गएको थियो भने प्रदेश अस्पताल सुर्खेत ल्याइएका ३ जनाको उपचारका क्रममा ज्यान गएको हो ।
सोमबार जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । प्रदेश अस्पतालका अनुसार उपचारको क्रममा टेकबहादुरकी छोरीहरु १६ वर्षीया औसरा, १३ वर्षकी धनसरा र ११ वर्षीया नातिनी निरुताको मृत्यु भएको हो ।
च्याउको विषले धेरै असर गरिसकेका कारण उनीहरुलाई बचाउन नसकिएको अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बताए । उनका अनुसार टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको गाउँमै मृत्यु भएको थियो । बिरामीमध्ये १ जनाको अवस्था अझै गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ ।
विषालु च्याउ खाएर बिरामी भएका ७ जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार सुर्खेत पुर्याएको थियो । अस्पतालका अनुसार टेकबहादुरसहित ३० वर्षीय छोरा ललित, ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।
प्रकाशित : श्रावण १३, २०७७ २०:५०