१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निकुञ्जमा सैनिकको पिटाइपछि मृत्यु : काठमाडौंमै शव छाडेर फर्कियो परिवार

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा खटिएका सेनाको कुटाइपछि निधन भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङको सोमबार पोस्टमार्टम भएको छ । तर उनका परिवारले शव बुझेका छैनन् ।

निकुञ्जमा सैनिकको पिटाइपछि मृत्यु : काठमाडौंमै शव छाडेर फर्कियो परिवार

सोमबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि प्रतिवेदन नआएको भन्दै आफन्तहरू शव नबुझी चितवन फर्किएका हुन् ।

निकुञ्जको सीमाभित्र पर्ने ज्युँडी खोलामा घोंगी टिप्दै गरेका बेला साउन १ मा राजकुमारसहित मिलनटोलका ७ जनालाई सेनाले पक्राउ गरी कुटपिट गरेको थियो । त्यसको एक सातापछि गत बुधबार राजकुमारको मृत्यु भएको थियो ।

राजकुमारका बुबा विष्णुलालले सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै शुक्रबार प्रहरीमा उजुरी दिए पनि पोस्टमार्टम गर्नेबारे टुंगो लागेको थिएन । शुक्रबारयता लगातारजसो जिल्ला प्रशासन कार्यालयमा प्रहरी, निकुञ्ज र पीडित परिवार तथा चेपाङ संघ, नगरपालिका, मध्यवर्तीका प्रतिनिधिबीच छलफल र वार्ता भएको थियो । दोषीलाई कानुनी कारबाहीका साथै पीडित परिवारलाई राहतका विषयमा भएको वार्तामा सहमति नजुट्दा पोस्टमार्टम रोकिएको थियो । शनिबार राति तत्कालका लागि किरिया खर्चबापत एक लाख रुपैयाँ दिने र अन्य विषय व्यवस्थापन गर्दै जाने सहमति भएपछि पोस्टमार्टम गर्न परिवार तयार भएका थिए । तर लिखित नभएको भन्दै पीडित पक्षले चित्त नबुझाएपछि आइतबार पनि दिनभरजसो चितवन जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो ।

आइतबारको छलफलमा शनिबारकै सहमतिमा चल्न पीडित परिवार तयार भएपछि पोस्टमार्टम गर्न साँझ शव काठमाडौं लगिएको थियो । ‘मृतकको पोस्टमार्टम भएको जानकारी आएको छ । रगत र भिसेरा परीक्षण पनि भयो । परीक्षण प्रतिवेदन प्राप्त भइसकेको छैन,’ चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले भने, ‘अस्पतालले आफ्नो प्रक्रियाअनुसार सबै प्रतिवेदन पठाउला ।’ परीक्षणसम्बन्धी सबै काम टुंगिएकाले शवको सद्गत गर्न मिल्ने अवस्था रहेको उनले बताए ।

तर मृतकका बुबा विष्णुलालले परीक्षण प्रतिवेदनसँगै शव बुझ्ने बताएका छन् । ‘प्रतिवेदन आएको छैन भनियो । मृतकका बुबाले नै प्रतिवेदन र शव एकै पटक बुझ्ने भनेपछि हामी फर्केका छौं,’ विष्णुलालसँगै काठमाडौं गएका छिमेकी रूपेश अर्यालले भने ।

प्रकाशित : श्रावण १३, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?