कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

थापा प्रवेश गर्न लागेपछि कांग्रेसमा हलचल

आफ्ना नेतालाई कारबाही गरेर राप्रपाबाट भित्र्याउन लागिएकामा कांग्रेसभित्र असन्तुष्टि
कुलचन्द्र न्यौपाने

काठमाडौँ — राप्रपा नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेश यस्तो बेला हुँदै छ, जहाँ आसन्न महाधिवेशनलाई लिएर नेताहरूबीच नेतृत्वको लडाइँ चलिरहेको छ । यही बेला, अर्को संयोग थपिएको छ, पार्टीका पुराना नेतामाथि कारबाही । एकातिर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ, अर्कोतर्फ राप्रपाबाट सुनीलबहादुर थापासहितका नेताहरूलाई मंगलबार पार्टीमा प्रवेश गराइँदै छ ।

थापा प्रवेश गर्न लागेपछि कांग्रेसमा हलचल

थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा नेताहरूलाई भित्र्याउने तयारी भइरहँदा जोशी, ओझा र विष्टमाथि भएको कारबाहीप्रति भने पार्टीमा असन्तुष्टि छ । आफ्ना पार्टीका नेतालाई कारबाही गरेर अर्को पार्टीबाट भित्र्याउँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरूले असन्तुष्टि जनाएका छन् ।

थापाको कांग्रेस प्रवेशको चर्चाले राप्रपाको समेत जग हल्लाएको छ । उनको कांग्रेस प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक विरासत पनि अन्त्य हुने भन्दै अध्यक्ष कमल थापाले दुई दिनअघि ट्वीट गरेका थिए । उनले सुनीललाई पिताको मौलिक विचारको रक्षाका लागि राप्रपा नछाड्न पनि अपिल गरेका थिए ।

आसन्न महाधिवेशन केन्द्रित भएर गुटहरू सक्रिय बनिरहेका बेला सुनीललाई कांग्रेस प्रवेशमा पनि निकै ‘पापड’ बेल्नुपर्‍यो । उनको प्रवेशलाई कांग्रेस नेताहरूले महाधिवेशनमा आ–आफ्नो लाभ/हानिसँग तुलना गरिरहेका थिए । सभापति शेरबहादुर देउवाको इच्छामा मात्रै चल्दा अर्को पक्ष असन्तुष्ट बन्ने सम्भावना थियो । थापा आफैं वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मन जित्नका लागि उनीहरूको ढोकासम्म पुगेका थिए । त्यसपछि मात्रै उनको पार्टी प्रवेशसँगै सहमहामन्त्रीको पद सुनिश्चित भएको हो । आफ्नो पद सुनिश्चित भएपछि उनीसहित ३१ जनाले शनिबार राप्रपाबाट राजीनामा दिएका थिए । राजीनामा दिनेहरूमा १९ जना केन्द्रीय तहका नेता छन् । मंगलबारको पार्टी प्रवेशमा भने २१ जना मात्रै सहभागी हुने भएका छन् ।

सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य दिने निर्णयप्रति वरिष्ठ नेता पौडेल भने सन्तुष्ट छैनन् । पार्टी प्रवेशको कार्यक्रम राखिए पनि पौडेल उपस्थित हुने/नहुने अनिश्चित भएकाले कांग्रेसले साँझसम्म पनि कार्यक्रमको जानकारी दिन सकेको थिएन । उपसभापति विमलेन्द्र निधि पौडेलनिवास बोहराटारमै पुगेर मनाएपछि मात्रै कार्यक्रम निश्चित गरिएको हो ।

सुनील लामो समय संयुक्त राष्ट्रसंघमा जागिरे थिए । एक दशकअघि मात्रै उनी राजनीतिमा आएका हुन् । पिताको जीवनको उत्तरार्द्धसँगै राजनीतिमा होमिएका उनको संसद्मा ‘इनिङ’ ०७० को चुनावबाट भएको हो । त्यतिबेला पिताकै निर्वाचन क्षेत्र धनकुटाबाट उनी निर्वाचित भए । जितसँगै मन्त्री पनि भइहाले । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा उनी आपूर्ति तथा वाणिज्यमन्त्री बनेका थिए ।

गत फागुनमा दुई राप्रपा एकीकृत हुँदा नै उनी पार्टी छाड्ने मनस्थितिमा पुगिसकेका थिए । त्यतिबेलैदेखि कांग्रेस प्रवेश गर्ने तयारीमा थिए । धनकुटाका कांग्रेस जिल्ला सभापति अग्नि पौडेलका अनुसार त्यतिबेला सबै तारतम्य मिलिसकेको थियो । जिल्लामा ठूलो आमसभा गरेर पार्टी प्रवेश गराउने योजना थियो । ‘तयारी हुँदाहुँदै लकडाउन भयो,’ उनले भने, ‘महाधिवेशनअघि नै प्रवेश गर्नुपर्छ भन्ने जिल्लाकै आग्रहमा मंगलबारको कार्यक्रम तय भएको हो ।’ कांग्रेस प्रवेश गर्ने तयारी धेरैअघिदेखि भएकै कारण दुई राप्रपाको एकीकरण सभा थापाले बहिष्कार गरेका थिए । यद्यपि उनले राजतन्त्र र संघीयताको मुद्दामा विचार नमिलेका कारण नगएको प्रतिक्रिया दिएका थिए ।

लामो समय र सबैभन्दा बढी अवधि प्रधानमन्त्री भएका हिसाबले पनि सूर्यबहादुरको धनकुटासँग विशेष सम्बन्ध थियो । पञ्चायतका पहिला प्रधानमन्त्री उनी महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका शासनकालमा सत्तामा रहे । बहुदल आएपछि एक पटक कांग्रेसकै समर्थनमा पनि उनी प्रधानमन्त्री भए । बाबुकै सल्लाहमा राजनीतिमा आएका सुनीलले पनि धनकुटालाई आफ्नो केन्द्र बनाउन चाहेका छन् । यसका लागि राजनीतिक र वैचारिक सम्बन्धका दृष्टिले कांग्रेसमा रहे सुरक्षित हुन सकिने बुझाइ उनमा धेरै अघिदेखिकै हो ।

प्रकाशित : श्रावण १३, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?