२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सीमामा निस्फिक्री आउजाउले जोखिम

प्रदेश ब्युरो

काठमाडौँ — नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो ।

सीमामा निस्फिक्री आउजाउले जोखिम

सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।

कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर प्रदेश २ मा भारतबाट निस्फिक्री भित्रिनेको संख्या उच्च छ । कोरोना संक्रमण फेरि बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले लगत्तै सुरक्षा निकायका सबै प्रमुखलाई डाकेर नाकामा निगरानी बढाउन निर्देशन दिएका हुन् । ‘नाकाबाट लुकीछिपी आउनेका कारण संक्रमण बढेको छ,’ मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरूलाई भने, ‘अहिले कडा लक्षणसहितको कोरोना संक्रमण भेटिएको छ ।’

प्रदेश २ का आठ वटै जिल्ला भारतको बिहारसँग जोडिएका छन् । बिहारमा अहिले संक्रमण उच्च दरमा फैलिइरहेको छ । प्रदेश २ को भारतसँग जोडिएको ४ सय ६५ किलोमिटर खुला सीमामा सशस्त्र प्रहरीका ५५ वटा बीओपी छन् । एउटा बीओपीमातहत रहेका ४ देखि ५ वटा थप फरवार्ड बेसबाट निगरानी गरिरहे पनि पारिबाट भित्रिने क्रम रोकिएको छैन ।

प्रदेश २ का सुरक्षा अधिकारीहरू मल ल्याउने किसानको भेषमा भारतीयहरू नेपाल छिरिरहेको बताउँछन् । भारतबाट मल ल्याउँदा नदेखेझैं गरिरहेको नाकाका प्रहरीले भने सोमबारदेखि उनीहरूलाई पनि भारततिरै फर्काउन थालेको छ । ‘बोर्डरमा कडाइ गर्न भनिएको छ,’ प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यले कान्तिपुरसँग भने, ‘मल बोकेर आउनेले पन्जासमेत लगाएका हुँदैनन् । पारिबाट आउँदा मलसँगै कोरोना पनि बोकेको हुन सक्छ । सोमबारदेखि मल ल्याउनेलाई पनि रोक्न निर्देशन दिइसकेको छु ।’ डीआईजी ब्रह्मचार्यका अनुसार वर्षाको मौसम रहेकाले भारतीय नाकासँग जोडिएको सबैजसो खोलामा पानी उर्लिएको छ । खोला छेउछाउमा खटिएका सुरक्षाकर्मीलाई अहिले सुरक्षित ठाउँमा मर्ज गरिएको छ । त्यसैले खोला तरेर आउने क्रम पनि बढेको उनले बताए ।

भारतबाट पछिल्लो समय भित्रिएकाबाट सप्तरी र पर्सामा संक्रमण फेरि बढेको छ । साउनयताका १२ दिनमा प्रदेशमा सात जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पर्सा र सप्तरीका बीओपीका सबै इन्चार्जलाई नाकामा कडाइ गर्न भनिएको ब्रह्मचार्यले बताए ।

सुदूरपश्चिममा भारतबाट फर्कने नेपालीलाई बिनाजाँच होम क्वारेन्टाइनमा पठाउँदा र अवैध रूपमा आउजाउ जारी रहँदा संक्रमण फैलिने जोखिम बढेको छ । मध्य असारयता भारतबाट फर्केकालाई क्वारेन्टाइन नराखेर सिधै घर पठाउने गरिएको छ । होम क्वारेन्टाइनमा बस्न भने पनि उनीहरू सिधै समुदायमा घुलमिल भइरहँदा संक्रमण फैलिने जोखिम छ । जेठ पहिलो सातादेखि भारतमा रोकिएका नेपालीलाई फर्कन दिन नाका खुला गरिएको थियो ।

कैलालीको १ सय २ र कञ्चनपुरको १ सय २९ किलोमिटर सीमा भारतको उत्तराखण्ड र उत्तरप्रदेश राज्यसँग जोडिएको छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट फर्कने र भारतीयहरू सीमापारि जानेक्रम चलिरहेको भए पनि दुवै जिल्लाका ग्रामीण क्षेत्रका खुला नाकाबाट अवैध आउजाउले पनि संक्रमणको जोखिम बढाएको छ ।

पहाडी जिल्ला दार्चुला, बैतडी र डडेलधुरामा पनि महाकालीमा तुइन, डुंगा र ट्युबबाट लुकीछिपी आउजाउ हुने गरेको छ । नेपाल र भारत दुवैतर्फ सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको र महाकालीमा बहाव बढेका कारण अवैध आउजाउ रोकिएको स्थानीयवासी बताउँछन् ।

‘भारतबाट आलुप्याजलगायत विभिन्न सामान बोकेर आउने भारतीय नागरिक सीमाका गाउँगाउँ डुलिरहेका हुन्छन्,’ हसुलियाका कुलदीप चौधरीले भने, ‘स्थानीयले सस्तोका लागि उनीहरूबाट सामान किन्छन् ।’ उनले यताबाट पनि सीमा क्षेत्रका नेपाली भारतका छिमेकी बजार लुकीछिपी जाने गरेको बताए । उनका अनुसार भारतमै काम गर्ने नेपाली पनि फाट्टफुट्ट खुला सीमा नाकाबाट भित्रिने गरेका छन् । कैलालीको हसुलियामा नेपाल–भारत सीमामा पर्ने मोहना नदी पारिसमेत नेपालका गाउँ छन् । त्यहाँका बासिन्दा नेपालभन्दा भारततिर बढी निर्भर भएकाले पनि किनमेलकै लागि लुकीछिपी आउजाउ हुने गरेको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका, बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा नेपाली र भारतीयको आउजाउको जोखिम छ । यी नाकाबाट सुरक्षा निकायले बरामद गरेको तस्करीका सामानबाट पनि यसको पुष्टि गर्छ । हाल जिल्लाको मुख्य नाका गड्डाचौकी भएर दैनिक रूपमा डेढ सय नेपाली भारतबाट भित्रिरहेको र ५०/६० भारतीय सीमापारि जाने गरेका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समेत दैनिक ५ देखि ७ सय नेपाली घर फर्किरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले कैलालीको अन्य सीमा नाकाबाट भने दुई देशका नागरिकको आउजाउलाई पूर्ण बन्द गरिएको बताए । ‘सशस्त्रका बीओपीहरूबाट खुला सीमामा निगरानी भइरहेको छ,’ उनले भने, ‘कसैलाई पनि वारिपारि गर्न दिइएको छैन ।’

सशस्त्र प्रहरी गण धनगढीका डीएसपी नेत्र केसीले सिमाना पूर्ण बन्द राखेको दाबी गरे । पैसा लिएर मिलाएर सीमा वारपार गर्न दिने गरेको आरोप निराधार भएको उनले बताए । ‘बीओपीका सुरक्षाकर्मीबाट त्यस्तो बदमासी हुने कुनै सम्भावना छैन,’ उनले भने, ‘हामीले कडाइका साथ अवैध घुसपैठ हुन नदिन निर्देशन दिएका छौं ।’ पछिल्लो समय जिल्लामा सशस्त्र प्रहरीको बीओपी थप भएसँगै १० वटा बीओपी र ७ वटा अस्थायी पोस्टहरू सीमामा राखिएका छन् । यसले अवैध नाकाबाट आउजाउ पूर्ण रूपमा रोकेको सशस्त्र प्रहरी बल ३५ नं. गणका एसपी वीरसिंह साहुको दाबी छ ।

निगरानी फितलो

सीमावर्ती सहरमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका बेला प्रदेश ५ का नाकामा निगरानी फितलो बनेको छ । सीमाबाट निर्बाध आउजाउ भइरहेको छ । नियमनकारी निकाय मौन छन् । पछिल्लो समय दैनिक आवश्यकताका सामान खरिद गर्न सीमावर्ती भारतीय बजारमा जाने क्रम बढेको छ । साना नाका बजारमा मल ओसार्ने किसानको दैनिक घुइँचो लाग्ने गरेको छ । उपचार र आफन्त भेटघाटको सिलसिला सुरु भएको छ ।

यहाँका उद्योगी, व्यवसायीले धमाधम भारतीय कामदार बोलाएका छन् । असार अन्तिमसम्म भारतबाट आउनेलाई क्वारेन्टाइनमा बसाउने गरिएको थियो । अहिले सीमावर्ती जिल्लाका विद्यालयमा रहेका अधिकांश क्वारेन्टाइन बन्द भइसकेका छन् । यसरी आउने व्यक्तिको दशगजामा ज्वरो नाप्न छाडिएको छ । परीक्षण नहुँदा प्रदेशमा कोरोना संक्रमितको संख्या घटेको देखिन्छ । तर, सीमावर्ती भारतीय जिल्लामा संक्रमण उच्च छ । रूपन्देहीको बेलहियामा भन्सार पास गराउन भन्दै घाँटीमा ‘नक्कली परिचयपत्र’ झुन्ड्याएर सुनौली नाका पार गर्नेको संख्या बढेको छ । यसरी नेपाल छिर्ने भारतीय नागरिक बिहानदेखि साँझसम्म सीमामा भेटिन्छन् । यसरी आएकामध्ये केही भन्सारमा काम सकिएपछि फर्किने गर्छन् । कतिपय भैरहवा, बुटवललगायत स्थानमा दिनभरि घुमेर साँझ फर्किन्छन् ।

परिचयपत्रका आधारमा नेपाल छिरेका उनीहरूले कहाँ पुगेर दिनभरि के कस्तो काम गर्छन् भन्नेबारे प्रशासन बेखबर छ । त्यस्ता कैयौं व्यक्ति नक्कली परिचयपत्र बनाएर नेपाल छिर्ने गरेको भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष तथा बेलहियाका स्थानीय कृष्णप्रसाद घिमिरेले बताए । ‘भन्सार एजेन्टको प्रतिनिधिका नाममा परिचयपत्र भिरेर कतिपय दिनभरि भैरहवा, बुटवलमा आफ्नो कारोबार गरेर साँझ घर फर्किने गरेका छन्,’ उनले भने । सुनौली नाकास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले नाकाबाट प्रतिदिन सरदर ८० जना परिचयपत्र भिरेर नेपाल आउने जाने गरेको बताए । ‘नक्कली परिचयपत्र बनाएर पनि भारतीय नागरिक नेपाल आउन थालेको पाइएपछि दुई दिनदेखि उनीहरूको परिचयपत्र छानबिन गर्न थालेका छौं,’ उनले भने ।

नेपालमा लकडाउन हटाइएपछि सडक र बजारमा सवारी साधनसहितको आवागमन र भीड अहिले ह्वात्तै बढेको छ । सम्पूर्ण पसल खुलेका छन् । व्यवसाय र निर्माण कार्य पनि सञ्चालन हुन थालेको छ । सीमावर्ती भारतीय गाउँबाट मजदुरी गर्न नेपालमा ठूलो संख्यामा आउने गर्छन् । घर निर्माण, वायरिङ, प्लम्बर, मार्बल टायल जोड्ने, भारी बोक्ने लगायत कामका लागि भारतबाट कामदार आउने क्रम सुरु हुन थालेको छ । चोरी नाकाबाट उनीहरूको आवागमन हुन थालेको हो ।

अहिले भारतमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । परिचयपत्र भिरेर सीमा नाकाबाट आउनेहरू नेपाली नम्बर प्लेटकै मोटरसाइकलबाट भैरहवा, बुटवललगायत स्थान पुगेर आफ्नो कारोबार गर्न थालेपछि र चोरी नाकाबाट भित्रिने मजदुर तथा कामदार नेपालको बस्ती र टोल–टोलमा काम गर्न थालेपछि संक्रमणको जोखिम उच्च भएको छ । उनका अनुसार छानबिनका क्रममा दुई दिनमा ४२ वटा नक्कली परिचयपत्र जफत गरिएको छ । सीमाबाट कुनै पनि मोटरसाइकल आवतजावत हुन नदिए पनि भन्सारमा काम गर्नेर् तथा नेपालमा कारोबार गर्ने भारतीय नागरिकले नेपाली नम्बर प्लेटका मोटरसाइकल प्रयोग गर्ने र तिनलाई नेपालतर्फ नै राखेर पैदल सीमा वारपार गर्ने गरेका छन् ।

भारतसँग सीमा जोडिएका रूपन्देहीको मर्चवार, धकधही र लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा सरकारले आवश्यकताअनुरूपको मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजारबाट लुकाएर मल खरिद गर्न बाध्य छन् । यसले गर्दा पनि भारतमा बढ्दो अवस्थामा रहेको कोरोना संक्रमणको जोखिम यहाँका ग्रामीण बस्तीमा समुदाय स्तरमा पर्न थालेको छ । सीमावर्ती नेपाली ती क्षेत्रमा साइकल र मोटरसाइकलमा राखेर भारतबाट किनेर मल ल्याउने किसानको ताँती देखिन्छ । भन्सार एजेन्टको प्रतिनिधिका नाममा नक्कली कार्डको प्रयोग, भन्सार परिसरबाहेक उनीहरूको आवागमन र चोरी नाकाबाट भारतीय मजदुरको नेपाल आवागमनका बारेमा आफूलाई कुनै जानकारी नभएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाका एक सञ्चारकर्मी उपचारका लागि सीमावर्ती भारतीय बजार नौगढ गएर फर्किए । उनीजस्तै यशोधरा गाउँपालिकाका अर्का व्यक्ति सोहरतगढ हुँदै मोबाइल सेट खरिद गर्न नौगढ पुगे ।

कोरोना हटस्पट नौगढ पुगेका उनीहरू अहिले सदरमुकाम तौलिहवा बजारमा निस्फिक्री घुमफिर गरिरहेका छन् । जिल्लासँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ६१ पुगेको छ । त्यसमध्ये १ सय ६५ सक्रिय केस छ । ११ जनाको मृत्यु भइसकेको छ । संक्रमण बढिरहेको सीमावर्ती भारतीय सहर र बजारमा नेपालीको आवतजावत सहज छ । मुख्य नाका बन्द भए पनि ससाना नाका बन्द छैनन् । साइकल र मोटरसाइकल लिएर सहजै नेपाली सीमा वारपार गरिरहेका छन् ।

सीमापारि उपचार, किनमेल र आफन्तकहाँ आवतजावत गर्न बाधा व्यवधान छैन । सीमामा खटिएका सुरक्षाकर्मी पनि चुपचाप बसेका छन् । मल खरिद गर्न पनि भारतीय सीमा बजारमा यहाँका किसानको बाक्लो आवतजावत छ । ‘खुला सीमा छ,’ एक सुरक्षा अधिकारीले भने, ‘सक्दो रोकेका छौं ।’ तर, सुरक्षाकर्मीको आँखा छलेर जाने उत्तिकै छन् ।

सीमाको भारतीय सोहरतगढ र बढनी बजारमा कोरोना संक्रमित पाइएपछि भारतीय प्रशासनले बस्ती नै सिल गरेको छ । तर, त्यही आसपास नेपालीहरू किनमेल र घरायसी कामले जाने गरेका छन् । ‘सीमा क्षेत्रमा निकै कडाइ गरिएको छ,’ प्रजिअ दीर्घनारायण पौडेलले भने, ‘भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा पठाउँछौं ।’

पश्चिम नवलपरासीमा लुकीछिपी मानिस आवतजावत गरिरहेका छन् । मुख्य नाकामा सुरक्षा व्यवस्था कडाइ गरिए पनि खुला सिमानाका कारण लुकीछिपी आउने क्रम रोकिएको छैन । खुलेआम मानिसहरू आवतजावत गर्दा स्थानीयले आफैं लुकाउने गरेका छन् । नेपाल र भारतमा विवाह तथा अन्य नाता सम्बन्ध भएका मानिस आउनेजाने क्रम नरोकिँदा कोरोना संक्रमण समुदायस्तरमा नै फैलिने त्रास बढेको पाल्हीनन्दन–१ का अशोक चौधरीले बताए ।

जिल्लाको सनही, भुजहवा, बैरीहवा क्षेत्रबाट मानिस आवतजावत गरिरहेका हुन् । घरायसी कामका लागि मात्र होइन, भारतबाट सामान ल्याएर सदरमुकाम परासीसम्म तरकारी तथा फलफूल बेच्न भारतीय नागरिक आइपुग्छन् । नेपालमा भन्दा भारतमा तरकारी तथा मलखाद कम मूल्यमा पाइने भएपछि व्यवसायीले समेत लुकीछिपी सामान मगाउने र उपभोक्ताले पनि खरिद गर्ने गरेका छन् । पश्चिम नवलपरासीको परासीमा साप्ताहिक हाट बजार लाग्न सुरु भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीलाई नाकाको तीन–तीन सय मिटरको दूरीमा खटाइएको भए पनि रातको समयमा मानिस आवतजावत गर्ने क्रम रोकिएको छैन । ‘नाकामा कडाइ गरिएको छ । भन्सार अनुमति पाएका सामान र सवारी चालकबाहेक अन्य व्यक्ति प्रवेश गरेका छैनन्,’ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने, ‘रातको समयमा कोही लुकीछिपी प्रवेश गरेको छ भने स्थानीयले खबर गरेमा तुरुन्त कारबाही गर्छौं ।’

त्यसैगरी प्रदेश १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, मोरङको रानी र रंगेली तथा सुनसरीको भन्टाबारी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने व्यवस्था गरिएको छ । झापाको काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका अनुसार साउन ७ मा लकडाउन खुलेसँगै पूर्वी नाकाबाट ४ सय ८७ जना नेपाली आएका छन् । ४ सय ४० भारतीय पारि गएका छन् ।

भारतबाट आएकालाई काँकडभिट्टा माविको मैदानमा बनाएको नेपाली सेनाको स्क्रिनिङ क्याम्पमा केही समय राखेर घर पठाइँदै आएको छ । केही समयअघि दिल्ली, चेन्नई, बैंग्लोर र गोवाबाट फर्किएका नेपालीलाई होल्डिङ सेन्टरमा राखेर आरडीटी गरेपछि मात्रै पठाइन्थ्यो । सरकारको निर्देशनका कारण असार २८ देखि आरडीटी परीक्षण पूर्ण रूपमा बन्द छ ।

अहिले सामान्य ज्वरो मात्रै जाँचेर पठाइन्छ । इलाका प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोख्रेलले सम्बन्धित पालिकाको सिफारिसका आधारमा उनीहरूलाई घर पठाइने गरेको बताए । ‘सम्बन्धित पालिकाले पीसीआर गरेर क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहितको पत्रका आधारमा मान्छे पठाउँछौं,’ डीएसपी पोख्रेलले भने, ‘पालिकाको सिफारिस नल्याउनेहरू जिल्लाकै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।’

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता दीपक पोख्रेलका अनुसार लकडाउन खुलेयता हालसम्म जोगवनी नाकाबाट १ हजार २८ जना भित्रिएका छन् भने ७ सय ४९ जना भारततर्फ गएका छन् । भारतबाट आउनेलाई इलाम, झापा, मोरङ र सुनसरीस्थित होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहलाई क्वारेन्टाइनमा राख्नका लागि जिम्मा लगाउने व्यवस्था गरेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । होल्डिङ एरियाबाट जिम्मा लिएर गएपछि स्थानीय तहहरूले उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिने व्यवस्था गरेको उनले बताए ।

सीमा क्षेत्रमा प्रहरीले कडाइ गरे पनि उनीहरूको आँखा छलेरसमेत आउजाउ भइरहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ । जहदा–७ का वडाध्यक्ष भगवान बेसराले सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छलेर तस्करलगायतका व्यक्तिले सीमामा आवतजावत गरिरहेकाले स्थानीय बासिन्दा कोरोनाको उच्च जोखिममा रहेको बताए । उनले भारतबाट लुकीछिपी आएको सूचना पाउनासाथ क्वारेन्टाइनमा लगेर राख्ने गरेको बताए । भारतबाट अवैध रूपमा आउने गरेको प्रहरीको तथ्यांकले पुष्टि गर्छ । आइतबार भारतबाट अवैध रूपमा ल्याइरहेको चिनी, सुर्ती र युरिया मलसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । लकडाउन अवधिमा प्रदेश १ स्थित नाकाहरूबाट १९ हजार ४ सय ५८ जना भारतबाट भित्रिएका थिए भने २८ हजार २ सय २२ जना भारततर्फ गएको प्रहरीको तथ्यांक छ ।

-देवनारायण साह (मोरङ), पर्वत पोर्तेल (झापा), अजित तिवारी (जनकपुर), मोहन बुढाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर), माधव ढुंगाना (भैरहवा), मनोज पौडेल (कपिलवस्तु) र नवीन पौडेल (परासी)

प्रकाशित : श्रावण १३, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?