१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार स्याङ्जामा मात्रै १८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी छन् ।

स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण

साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । ९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा कोरोना देखिएको थियो । तीन जना नै कार्यालयभित्रै सुरक्षित तवरले बसेका छन् ।

‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ शर्माले भने, ‘खासै लक्षण नदेखिएपछि चेक गरिँदैन । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएको थियो ।’

संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको शर्माले बताए । ‘एसपी साबलाई भने आफ्नै निवासमा बस्न दिने कुरा भएको छ’ उनले थपे, ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ ।’

यसैगरी सोमबार मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई पनि कोरोना पोजिटिभ देखिएको छ । अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सोमबार २२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये पोखराका २ र लमजुङका २ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ९९ पुगेको छ ।

यसअघि आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौंका १३ र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण १२, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?