१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'नेपालमा गाईगोरुबाट वार्षिक २ लाख ५४ हजार टन मिथेन ग्यास उत्सर्जन'

'साइन्स अफ टोटल इन्भायर्मेन्ट जर्नल'मा प्रकाशित अनुसन्धानले नेपालमा एउटा लोकल गाईगोरुले वार्षिक रुपमा ३३ केजी र उन्नत जातका गाइगोरुहरुले ४६ केजी मिथेन ग्यास निकाल्ने दाबी गरेको छ ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा पनि गाईगोरुले उघ्राउने क्रममा निकाल्ने मिथेन ग्यासको परिमाण पहिलो पटक गणना गरेर निकालिएको छ । वन तथा वातावरण मन्त्रालयको सहयोगमा वातावरण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु सम्मिलत अनुसन्धानमा नेपालमा गाईगोरुले उघ्राउने क्रममा वार्षिक २ लाख ५४ हजार टन मिथेन ग्यास निकाल्ने गरेको देखिएको छ ।

'नेपालमा गाईगोरुबाट वार्षिक २ लाख ५४ हजार टन मिथेन ग्यास उत्सर्जन'

'साइन्स अफ टोटल इन्भायर्मेन्ट जर्नल'मा प्रकाशित अनुसन्धानले नेपालमा एउटा लोकल गाईगोरुले वार्षिक रुपमा ३३ केजी र उन्नत जातका गाइगोरुहरुले ४६ केजी मिथेन ग्यास निकाल्ने दाबी गरेको छ । विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीको संयोजनमा गरिएको उक्त अनुसन्धानमा रैथानेभन्दा उन्नत जातका गाइगोरुहरुले बढी मात्रामा मिथेन उत्सर्जन गर्ने गरेको पाइएको थियो ।

जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायतका ग्यासलाई हरित गृह ग्यासका रुपमा पनि परिभाषित गरिन्छ । कृषि क्षेत्र हरित गृह ग्यास उत्सर्जन गर्ने प्रमुख क्षेत्र पनि हो । कृषि क्षेत्रमा विशेषतः घर पालुवा पशुपंछी, धानखेत, बालीनालीमा प्रयोग हुने कृषि चुन तथा युरियाको प्रयोग लगायत माटो र मलको व्यवस्थापन जस्ता कार्यहरुबाट हरित गृह ग्यासको उत्सर्जन हुने गर्छ । यसबाट मिथेन ग्यास धेरै मात्रामा उत्सर्जन हुने गरेको छ । त्यसमा पनि पशु चौपायहरुको भूमिका प्रमुख छ ।

नेपालमा गाई/गोरुको संख्या ७३ लाखभन्दा बढी रहेको कृषि तथा पशुपंछी विकास मन्त्रालयको तथ्यांकमा छ । मिथेन, कार्बन डाइआक्साइडपछि जलवायु परिवर्तन गराउने दोस्रो कारक हरित गृह ग्यास हो । एक केजी मिथेनले जलवायु परिवर्तनमा कार्बनडाइक्साइड भन्दा २५ गुणा बढीले असर गर्छ ।

गण्डकी नदी प्रणाली अन्तर्गत पर्ने चितवन, नवपरासी, तनहुँ, गोरखा र लमजुङमा झन्डै दुई वर्ष लगाएर गरिएको उक्त अनुसन्धानले नेपालमा कृषि क्षेत्रमा हुने मिथेन उत्सर्जनका लागि एउटा आधार समेत निर्माण भएको सहप्राध्यापक ठकुरीले दाबी गरे । प्रत्येक मौसममा एक सय ५८ वटा गोठहरुबाट ८ सय ८६ वटा गाई/गोरुबाट अध्ययनका क्रममा तथ्यांक संकलन गरिएको थियो ।

यी अध्ययनको नतिजालाई आधार मानेर नेपालका हरेक जिल्लाहरु तथा प्रदेशहरुका गाईगोरुले उघ्राउने क्रममा उत्सर्जन गर्ने मिथेनको मात्रा समेत निकालिएको छ । जसमध्ये मोरङ जिल्लामा वार्षिक रुपमा १४ हजार टन मिथेन निस्कने गरेको पाइएको छ भने मनाङमा सबैभन्दा कम सय टन मात्रा उत्सर्जन हुने गरेको छ । प्रदेश १ मा ६७ हजार ३ सय टन उत्सर्जन हुने र कर्णालीमा १९ हजार १ सय टन उत्सर्जन हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।

सह-प्राध्यापक ठकुरीले कान्तिपुरसँग भने, 'हाम्रो देशमा गाई/गोरुहरुबाट कति मिथेन उत्सर्जन हुन्थ्यो भन्ने तथ्यांक थिएन । हामीले वार्षिक वृद्धिदर, तौल र खानाको प्रकारका आधारमा उत्सर्जन दर निकाल्यौं । एउटा डाटावेश तयार भएको छ जुन देशको हरित गृह ग्यासको लगत(इन्भेन्टोरी) तयार गर्नका लागि प्रत्यक्ष प्रयोग हुन्छ ।'

अनुसन्धानका क्रममा गाई/गोरुलाई तौलहरुका आधारमा ८ वटा समूहमा विभाजन गरिएको थियो । तिनीहरुको आवरण, घाँटीको गोलाइ, शरीरको लम्बाईको मापनलाई आधारमा मानेर तौल अनुमान गरिएको थियो । उनीहरुले खाने खाद्यान्‍नले उत्सर्जनमा असर पुग्ने ठकुरीले बताए ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी एजेन्सी (आईपीसीसी)ले हरेक देशहरुले आफ्‍नो देशमा विभिन्‍न क्षेत्रको उत्सर्जन दर (इमिसन फ्याक्टर) निकाल्नुपर्ने बताउँदै अएको छ । यो अध्ययनले नेपालको हरित गृह ग्यासको इन्भेन्टोरी तयार गर्न पनि सघाउ पुर्याउने अनुसन्धानमा सहभागी प्राध्यापकहरको भनाइ छ ।


अनुसन्धानमा सहभागी एवं वातावरण विज्ञान केन्द्रीय विभागका पूर्व प्रमुख प्राध्यापक डा. केदार रिजालले यो अनुसन्धानले नेपालको हरित गृह ग्यास उत्सर्जन प्रतिवदेन तयार गर्नका लागि महत्वपूर्ण खुट्किला रहेको बताए । उनले भने, 'अहिलेसम्म हामीले अन्य देशमा भएको अध्ययन र आईपीसीसीले दिएको उत्सर्जन दर प्रयोग गरेर कूल उत्सर्जित ग्यासको अनुमान गर्दै आएका थियौं । तर अब यो तथ्यांक प्रयोग गर्न सकिन्छ ।' यो अध्ययनले घर पालुवा जनावारहरुबाट कति उत्सर्जन हुँदो रहेछ भन्‍ने नेपालका लागि पनि पहिलो भएको प्राध्यापक रिजालले बताए ।

यो अनुसन्धानका निष्कर्षहरु चौथो राष्ट्रिय सञ्चार प्रतिवेदन तयार गर्नका लागि तथा देशमा हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण योजना तयार गर्नका लागि पनि प्रयोग गर्न सकिने सहप्राध्यापक ठकुरीले बताए । यो अध्ययनले नेपालको लागि हरित गृह ग्यास उत्सर्जनका लागि एउटा 'बेसलाइन' तयार भएको प्राध्यापकहरुले बताए ।

अनुसन्धानले घरपालुवा जनावारहरुबाट हुने उत्सर्जनको 'रिफरेन्स भ्यालू' पनि तयार भएको विभागले जनाएको छ । विभागले भैंसी,बाख्रा,भेडा लगायत अन्य घर पालुवा जीवहरुबाट उत्सर्जन हुने मिथेनको पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।

यसअघि आईपीसीसीको तथ्यांकलाई आधारमा मानेर नेपालमा गाईवस्तुबाट वार्षिक रुपमा २ लाख २१ हजार टन मिथेन उत्सर्जन हुने गरेको बताइपनि यो अनुसन्धानले सो भन्दा १५ प्रतिशत बढी २५४ गिगा ग्राम उत्सर्जन हुने देखाएको छ ।

अनुसन्धानको निष्कर्षलाई आधारमा मानेर अगामी दिनहरुमा नेपालको कृषि क्षेत्र र दूध तथा डेरीजन्य उत्पादनमा गाइवस्तुको योगदान र उत्पादन पनि कम भएकाले उत्सर्जन झनै बढ्ने पनि देखाइएको छ । नेपालमा वार्षिक ९१ लिटर प्रति व्यक्ति दूध आवश्यक रहेकोमा ७२ लिटर दूधमात्र देशभित्रबाट उत्पादन भइरहेको छ । यसका लागि गाईवस्तुले खाने खाद्यान्नको प्रकार र गुणस्तर, नयाँ प्रविधिको प्रयोग र अन्य कार्बन क्षतिपूर्ति गर्ने व्यवस्थामा विशेष ध्यान दिन पनि सुझाव दिइएको छ ।

वन तथा वातावरण मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनको मौस्यदा अनुसार नेपालमा वार्षिक रुपमा १२ लाख ६० हजार टन मिथने उत्सर्जन हुने गरेको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?