कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट नर्सिङहोमका थप चार स्वास्थ्यकर्मीमा कोरोना

देवनारायण साह

मोरङ — विराटनगर अस्पताल प्रालिले सञ्चालन गरेको विराट नर्सिङहोममा कार्यरत थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार सोही नर्सिङ होमका सञ्चालकसमेत रहेका चिकित्सकमा संक्रमण देखिएको थियो । 

विराट नर्सिङहोमका थप चार स्वास्थ्यकर्मीमा कोरोना

नयाँ संक्रमित सबै जना नर्स रहेको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । ‘हालसम्म विराट नर्सिङ होममा २ सय १५ जनाको स्वाब संकलन गरिएकामा ५०/६० जनाको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमित थपिने सम्भावना अझै छ,’ उनले भनिन्, ‘चिकित्सकै संक्रमित हुन थालेकाले अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकको स्वाब परीक्षणमा जोड दिएका छौं ।’

कोसी अस्पतालमा कार्यरत एक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ । तिनैमध्येकी एक नर्सको कन्ट्याक्ट ट्रेसिङका आधारमा कोसीका चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि स्वाब संकलन भइरहेको कार्कीले बताए । लाइफगार्डका १४, न्युरोका २८ र लीली चिल्ड्रेन अस्पतालका २१ जना र संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरी सोमबार ९० जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए ।

महानगरमा क्वारेन्टाइन थप्न र एउटा अस्पताललाई आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारसँग छलफल भइरहेको उपमेयर इन्दिरा कार्कीले बताइन् । ‘महानगरभित्र समुदायमा कोरोना फैलिसकेकाले अस्पताल र त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी स्वस्थ रहे मात्रै संक्रमितको उपचार गर्न सक्छौं,’ उनले भनिन्, ‘महानगरको अत्यावश्यकबाहेकका सेवा बन्द गरी भिडभाड नियन्त्रण गरेर बजार व्यवस्थित गर्न लागेका छौं ।’

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत २४ प्रहरीसमेत गरी हालसम्म विराटनगर महानगरमा ६७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?