एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो : वनमन्त्री बस्‍नेत

ऋषिराम पौड्याल

काठमाडौँ — वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्रीमात्र जलेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार बोल्दै मन्त्री बस्नेतले बस्तीमै आगो लगाएको भनिएपनि त्यस्तो नभएको दाबी गरे ।

एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो : वनमन्त्री बस्‍नेत

त्यहाँ रहेको काजीमानबाहेक अरुको घर आगजनी नभएको उनले बताए । चेपाङको घर जस्ताकोतस्तै रहेको भन्दै उनले प्रारम्भिक अध्ययनको आधारमा गोठ मात्र जलेको बताए ।

घर नभएर केही मचान (मकैबाली हेर्न बनाएको संरचना) मात्र जलाएको दाबी गर्दै मन्त्री बस्नेतले काजीमानको एउटा गुन्द्रीमात्र जलेको हो । ‘हामीलाई भएको जानकारी यति नै हो,’ उनले भने, ‘आगलागीको फोटो भनेर जसरी प्रसारण भइरहेको छ त्यो त्यहाँको फोटो होइन भन्ने सूचना आएको छ ।,’ मान्छे नबस्ने गोठ मात्र नष्ट गरेको दाबी गर्दै बस्नेतले भने, ‘खानेकुरा र अन्य घरायसी सामग्री जलाएको छैन ।’ खाद्य सामग्री नजलेको उनले बताए ।

सेना र निकुञ्जका कर्मचारीले आगजनी गरिएको भनिएको कुसुमखोला आसपासमा दुई सय एक घर रहेको र त्यस मध्ये जनता आवास कार्यक्रमअन्तर्गत एक सय ९३ अर्को स्थानमा स्थानान्तर भएको उनले बताए । उनले घर सोही स्थानमा रहेको जानकारी दिए । अन्यत्र स्थानान्तर भएकाहरु पनि पहिले कै ठाउँमा खेतीपाती गर्न जाने गरेको उनले जानकारी दिए । पहिलेका मान्छे पनि खेतीपातीको नाममा कुसुमखोला गएकाले उनीहरु फेरि त्यतै बस्ने हुन् कि भन्ने निकुञ्ज प्रशासनलाई दबाब परेको मन्त्री बस्नेतले बताए । निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने भएकाले सबै विषयमा विभाग र मन्त्रालयबाट अनुमति लिनु नपर्ने उनले बताए । उनले थप अध्ययन भइरहेको भन्दै जे आउँछ त्यसमा आफू छानबिन र कारबाही गर्न तयार रहेको बताए ।

मन्त्री बस्नेतले राजकुमारको मृत्यु सेनाको पिटाइले भएको भन्ने विषयमा पनि मन्त्रालयले गठन गरेको समितिले छानबिन गर्ने बताए । कुटपिट भएको र त्यो कारणले मृत्यु भएको दाबीलाई पोस्टमार्टमबाट पनि अझ थाहा हुन सक्ने उनले बताए । कुटपिट गर्नै हुन्थ्यो कि हुँदैनथ्यो भन्दै उनले यसमा सेनाले पनि छानबिन गरिरहेको बताए ।

यो पनि पढ्नुहोस्ः

जब निकुञ्‍जकै कर्मचारीले चेपाङ बस्तीमा आगजनी गरे

प्रकाशित : श्रावण ११, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?