कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘मेलम्ची सुरुङ सुरक्षित भएपछि मात्र पानी’

ऋषिराम पौड्याल

काठमाडौँ — परीक्षणकै क्रममा सुरुङको ढोका भत्केपछि मेलम्चीको पानी राजधानी ल्याउनेभन्दा मानवीय सुरक्षाको प्रत्याभूति दिलाउनु बढी चुनौतीपूर्ण बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि र आयोजनाका कर्मचारीसमेतले सुरुङ सुरक्षित छ भन्ने विश्वासिलो प्राविधिक आधार देखाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

‘मेलम्ची सुरुङ सुरक्षित भएपछि मात्र पानी’

आयोजनाका सबै संरचनाको गुणस्तरमा प्रश्न उठेपछि सुरुङ सुरक्षित छ भन्ने सन्देश कसरी दिने भनेर कसरत भइरहेको छ । एउटा ढोका भत्केर धनजनको क्षति भएपछि आयोजनाको गुणस्तरमाथि उब्जिएका प्रश्नको जवाफ दिन दिनैपिच्छे बैठक र छलफल भइरहेको छ । राजधानीस्थित आयोजनाको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलमा मेलम्ची क्षेत्रबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रतिनिधिले दीर्घकालीन रूपमा सुरक्षाको प्रत्याभूति नगरी सुरुङमा पानी पठाउन खोजे आफूहरूले विरोध गर्ने चेतावनी दिए ।

सुरुङको ढोका भत्केको सम्बन्धमा छानबिन गर्न खानेपानी मन्त्रालयले गठन गरेको समितिका संयोजक तथा सहसचिव रमाकान्त दुवाडी, मेलम्ची आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री तथा संघीय सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद निमा लामा, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सुरुङ आसपासका क्षेत्र र आयोजनाका कामदारको समेत सुरक्षाको ग्यारेन्टी गर्न माग गरे ।

परीक्षणका लागि गत असार २१ गते पानी पठाएकामा अडिट सुरुङमा जडित ढोका भत्केको थियो । उक्त घटनामा परेर एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना कर्मचारी बेपत्ता छन् । दुई जना घाइतेको उपचार भइरहेको छ । सांसद तामाङले स्थानीयस्तरमा क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने बताए । उनले भने, ‘झारा टार्ने खालको परिस्थिति बन्यो भने दुर्भाग्य हुन्छ ।’ उनले मेलम्चीको पानी राजधानी ल्याएबापतको लेबी निश्चित गर्न माग गरे ।

मेलम्ची पानीको मुहान रहेको हेलम्बु क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य निमा लामाले सुरुङमा पानी पठाउनुअघिको प्रक्रियाको ‘चेक लिस्ट’ माग गरे । ‘सुरुङको ढोका अन्य अडिटमा फुटेर पानी बाहिर निस्केको भए बस्ती बगाउँथ्यो, मानवीय क्षति हुन्थ्यो,’ उनले भने, ‘भविष्यमा यस्तो हुँदैन भन्ने प्रत्याभूति नदिएसम्म सबै आतंकित हुने अवस्था रहन्छ ।’ आयोजनाका प्रमुख खत्री र छानबिन समितिका संयोजक दुवाडीले ठूला आयोजनाको परीक्षणमा यस्ता घटनालाई धेरै गम्भीर रूपमा लिन नहुने बताए । उनीहरूले मानवीय क्षति हुनु ज्यादै दुःखद भएको भन्दै अन्य विषयलाई सुधार गर्न सकिने बताए । सहभागी सांसदलगायतले भने यस्ता घटनालाई सामान्य मान्नु गलत हुने धारणा राखे ।

मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले सुरुङमा पानी पठाउँदा स्थानीयलाई थाहै नदिएको भन्दै आक्रोश पोखे । ‘अब कहाँ–कहाँ सच्याउनुपर्ने हो, त्यसको खुलस्त विवरण नआएसम्म सुरुङमा पानी पठाउनु गलत हुनेछ,’ उनले भने, ‘सुरुङको पानी बस्तीमा गएको भए अझ धेरै आवास क्षेत्र र मानवीय नोक्सानी हुन्थ्यो ।’ स्थानीय प्रतिनिधिले आयोजनाले सर्वसाधारणको मात्र होइन, आफ्ना कर्मचारीको सुरक्षाका लागि पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरूले सुरुङ जाँच गर्ने क्रममा प्राविधिक र चालकलाई बगाएपछि त्यसको त्रास रहिरहने बताए ।

सुरुङको डिजाइन, जडान र गुणस्तरमाथि प्रश्न उठेकाले ढोकाको डिजाइनर, निर्माण, सप्लायर्स र फिटिङको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनीले पनि जाँच गरेर आयोजनालाई प्रतिवेदन बुझाउनेछ । भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले सुरुङको निरीक्षणपछि छानबिन सुरु गरेको छ । मन्त्रालयले छानबिन प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने तयारी गरेको छ । परामर्शदाताले पनि छानबिन सुरु गरेको छ । खासगरी सुरुङबाट हुन सक्ने असुरक्षाको प्रश्न उठेपछि परामर्शदातालाई थप दबाब परेको छ । आयोजनाले परामर्शदाताकै विश्वासमा प्राविधिक विषयहरूमा सहमति जनाउने भएकाले त्यसको बढी जिम्मेवारी परामर्शदाताको हुन्छ ।

हाल मेलम्चीको परामर्शदाता स्पेनको इप्टिसा कम्पनी रहेको छ । आफूमाथि दोष थोपरिने भएपछि इप्टिसाले प्राविधिक थपेर ढोकाहरूको डिजाइन, फिटिङ र गुणस्तर सबै हेर्न सुरु गरेको छ । इप्टिसाले शुक्रबार आयोजनालाई पत्र पठाएर घटनाका विषयमा अध्ययन भइरहेको जानकारी दिएको छ । आयोजनाले यसअघि पत्रमार्फत घटनाका विषयमा जानकारी मागेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १०, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?