कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोरोनाबाट मृत्युदर वाग्मतीमा बढी

अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमणबाट देशभर २६ जिल्लामा मृत्यु देखिएको छ । सबैभन्दा बढी काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म भएका कुल ४५ मृत्युका घटनामा ३६ पुरुष (३४ वयस्क र २ बालक) र ९ महिला (८ वयस्क १ बालिका) छन् ।

कोरोनाबाट मृत्युदर वाग्मतीमा बढी

एक जना चिनियाँ महिलाको समेत मृत्यु भएको छ । प्रदेशगत हिसाबले वाग्मती र प्रदेश ५ मा सबैभन्दा बढी १०/१० जनाले ज्यान गुमाएका छन् । हालसम्म प्रदेश १ मा संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

‘लकडाउनपछि मृत्युको संख्या बढ्दो देखिएको छ,’ कोरोना महामारीसम्बन्धी अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘आईसीयूमा गएका अधिकांशको मृत्यु भएको छ ।’ हाल ७ जना बिरामी आईसीयू/भेन्टिलेटरमा छन् । ‘हाम्रो जस्तो मुलुकले कोरोनाको उपचारलाई धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले बचाउमै जोड दिनुपर्छ ।’ वाग्मती प्रदेशमा ९०७ संक्रमितमध्ये १० जनाको मृत्यु हुँदा मृत्युदर १.१० प्रतिशत देखिएको छ । मुलुकभरकै मृत्युदर भने ०.२४ प्रतिशत छ । वाग्मतीमा जति नै मृत्यु भएको प्रदेश ५ मा मृत्युदर ०.२४ प्रतिशत छ, त्यहाँ ४ हजार २३४ संक्रमित छन् । सबैभन्दा कम मृत्युदर सुदूरपश्चिम प्रदेशमा छ ।

४ हजार १८५ संक्रमितमध्ये ६ जनाको मृत्यु हुँदा मृत्युदर ०.१४ प्रतिशत रहेको छ । कोरोनाबाट ५० वर्षमुनिका कुल संक्रमित १७ हजार ३८८ मध्ये २६ जनाले ज्यान गुमाएका छन् । ५० वर्षमाथिका ९८६ संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० गरी २१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये २५ प्रतिशत व्यक्ति विदेशबाट आएका हुन् । भारतबाट आएका ९, कतारबाट १ र चीनका १ गरी ११ जना बाहिरबाट आएकाको मृत्यु भएको हो । २ जनाको मृत्यु होम क्वारेन्टाइनमा भएको छ । ‘२७ जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ पुष्टि भएको छ,’ डा. बीसीले भने, ‘आधा (२२ जना) को त सरकारले सञ्चालन गरेको क्वारेन्टाइन, आइसोलेसन सेन्टर र अस्पतालमा नै मृत्यु भएको देखिन्छ ।’ यी २२ मध्ये १६ जनाको उपचारका क्रममा र ६ जनाको उपचार नै नपाएर मृत्यु भएको डा. बीसी बताउँछन् । कुल मृत्युमध्ये २६ जना (५९.१ प्रतिशत) मा कोरोना संक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो ।

संक्रमण समुदायमा फैलिएपछि कोरोनाको ट्रेन्ड बदलिने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले बताए । ‘आगामी दिनमा मृत्युदर बढ्न सक्छ,’ उनले भने । सरकारले प्रति १० लाख कोरोना पोजिटिभमा १.४ मृत्युको आकलन गरेको छ ।

प्रकाशित : श्रावण १०, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?