मुख्य सचिवको दौडमा आधा दर्जन सचिव
काठमाडौँ — निजामती सेवामा शक्तिशाली र सर्वोच्च मानिने मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन लागेपछि आधा दर्जन सचिवहरू उक्त पद हात पार्न सक्रिय भएका हुन् ।
रेग्मीको कार्यकाल आगामी कात्तिक ३ मा सकिँदै छ । रेग्मी २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त भएका थिए । रेग्मी पूरै कार्यकाल पदमा बस्दा वा असोज २२ अघि (कार्यकाल सकिनुभन्दा करिब दुई साताअघि) नै राजीनामा दिएर जाँदा मात्रैले पनि मुख्य सचिवका आकांक्षीहरूको दौड निकै प्रभावित हुने देखिन्छ ।
स्रोतका अनुसार वरिष्ठ तीन सचिवहरू रेग्मीलाई सेवानिवृत्त हुनुभन्दा करिब दुई साताअघि नै अन्यत्रै नियुक्त गराएर मुख्य सचिव पद आफ्नो पोल्टामा पार्न राजनीतिक शक्ति केन्द्र धाउन थालिसकेका छन् ।
प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ (२) ‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख छ ।
वैरागी, सापकोटा र अधिकारीको दौड
सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी छन् ।
रेग्मी पूरै कार्यकाल पदमा रहे तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । उनीहरू असोज २२ मा पाँचवर्षे सेवा अवधि सकिएर सेवानिवृत्त हुनेछन् । तीनै जना २०७२ असोज २२ मा एकै दिन सचिव नियुक्त भएका थिए ।
‘त्यसैले रेग्मीलाई कतै व्यवस्थापन गराउन सकिए पद हात पार्न सकिने ध्याउन्नमा उहाँहरू हुनुहुन्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले कान्तिपुरलाई भन्यो, ‘उहाँहरू कति सफल हुनुहुन्छ, अहिले नै भन्न सकिने अवस्था छैन ।’
संवैधानिक आयोग वा अन्य कुनै आकर्षक राजनीतिक नियुक्तिको ग्यारेन्टी भए रेग्मीले कार्यकाल सकिनुअघि नै पद छाड्न सक्ने बुझाइ वरिष्ठ सचिवहरूको छ । यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले बीचैमा राजीनामा दिएर अन्यत्र नियुक्ति लिएपछि रोलक्रममै नरहेका राजेन्द्रकिशोर क्षेत्रीले मुख्य सचिव पद हात पारेको नजिर छ । राजनीतिक लबिइङकै आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले क्षेत्रीलाई मुख्य सचिव बनाएको थियो ।
रेग्मीले पदबाट राजीनामा दिए आफूहरूमध्येकालाई मुख्य सचिव बन्न बाटो खुल्ने वैरागी, सापकोटा र अधिकारीको बुझाइ छ । त्यसैले उनीहरू रेग्मीलाई अन्यत्र व्यवस्थापन गराउनमै केन्द्रित रहेको स्रोतको दाबी छ । वैरागी र अधिकारी मुख्य सचिव भए दुवैले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनेछन् । त्यो अवस्थामा उनीहरूपछिका मुख्य सचिवका मुख्य दाबेदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम हुनेछन् । त्यति बेला सबैभन्दा वरिष्ठ सचिवको सूचीमा रहने उनले २०८० फागुन ६ मा अवकाश पाउनेछन् ।
अघिल्लो पंक्तिका अर्का आकांक्षी सापकोटा मुख्य सचिव भए २०७७ फागुन २५ सम्म मात्रै पदमा रहनेछन् । त्यति बेला उनको ५८ वर्षे सेवाअवधि पूरा हुने भएकाले अनिवार्य अवकाश लिनुपर्नेछ । त्यसैले मुख्य सचिव पद उनको पोल्टामा जाने सम्भावना न्यून रहेको कर्मचारीवृत्तमा चर्चा हुने गरेको छ । उनी राजनीतिक पहुँचका हिसाबले पनि कमजोर मानिन्छन् ।
परराष्ट्र सचिव वैरागी मुख्य सचिवमा सम्भावनाकै कारण सरकारलाई चिढ्याउने किसिमका निर्णय गर्नु नपरोस् भन्नेमा सचेत देखिन्छन् । मुख्य सचिव बन्नकै लागि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगलगायतका अवसर छाडेर बसेको जानकारहरूको दाबी छ ।
वैरागी एक मात्र त्यस्ता व्यक्ति हुन् जसले परराष्ट्रमा लगातार ५ वर्ष सचिवको कार्यकाल पूरा गर्दै पनि छन् । परराष्ट्रका अघिल्ला सचिवहरू छोटो अवधिमै राजदूतका रूपमा र नियोगमा खटिने गरी जान्थे ।
पर्यटन सचिव रहेका अधिकारीले पनि मुख्य सचिवका लागि प्रधानमन्त्री निकटहरूसँग लबिइङ बढाएको स्रोतको दाबी छ । उनी पनि प्रशासन क्षेत्रमा अब्बल मानिन्छन् ।
रेग्मीले राजीनामा नदिए पनि तीन दाबेदार
रेग्मीले कात्तिक ३ सम्मै काम गरे वरिष्ठताका आधारमा मुख्य सचिवको दौडमा पहिलो नम्बरमा हुनेछन्– उद्योग सचिव चन्द्रकुमार घिमिरे । त्यसपछि हुनेछन्, वन तथा वातावरण सचिव विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी । घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिव नियुक्त भएका थिए ।
घिमिरे मुख्य सचिव भए भने करिब पूरै कार्यकाल रहनेछन् । उनी २०७९ साल मंसिर १५ मा ५८ वर्ष उमेर हदका कारण सेवानिवृत्त हुनेछन् ।
घिमिरे बढ्ता प्रशासनिक दक्षता भएका छन् भने ओली र अधिकारी बढ्ता प्राविधिक रहेको जानकारहरूको तर्क छ । ओली वन तथा कृषि समूहका हुन् भने अधिकारी इन्जिनियर सेवाका । ओलीले मुख्य सचिवको सम्भावनालाई ध्यान राख्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई अप्ठ्यारो पर्ने र विवादास्पद निर्णय नगरी सचिवको चार वर्षभन्दा बढी कार्यकाल पार गरिसकेका छन् ।
‘उहाँले मुख्य सचिव पदलाई नै प्रस्थानविन्दु ठानेर मन्त्रालयभित्र गर्नै पर्ने नीतिगत निर्णय पनि विवादको त्रासले रोक्नुभएको छ,’ एक अधिकारीले कान्तिपुरसित भने, ‘सरकारलाई सहयोग गर्नुपर्छ भन्ने मामिलामा उहाँ बढी नै उदार देखिनुहुन्छ ।’
सचिव ओलीलाई कतिपयले प्रधानमन्त्री ओलीनिकट भनेर समेत व्याख्या गर्ने गरेका छन् । स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसमेत आफ्नै सचिव ओलीको प्रधानमन्त्रीसँग बढ्दा निकटता भएको बुझेर अलि कडा निर्णय गर्न हच्किने गरेका छन् । अन्तर्मुखी स्वभावका सचिव ओलीले नियमित रूपमा गर्नुपर्ने नीतिगत निर्णयमा समेत आलटाल गर्ने र आफूअनुकूल नभएका सरुवा रोक्ने गरेको वन क्षेत्रका जानकारहरू सुनाउँछन् ।
प्रशासन क्षेत्रका जानकारहरू भने प्राविधिकमा कर्मचारी प्रशासन हाँक्ने क्षमता कम हुने विश्लेषण गर्छन् । प्रशासनविद् भीमदेव भट्ट प्राविधिकभन्दा प्रशासनिक क्षेत्रका प्रशासक बढी सक्षम र निर्णयप्रक्रियामा अग्रसर हुने बताउँछन् । ‘प्राविधिकले आफ्नो क्षेत्रमा मात्र दक्खल राख्छन्,’ उनले भने, ‘प्रशासनकाले समग्र क्षेत्रलाई हेरेर काम गरेका हुन्छन् ।’
मुख्य सचिव भएनन् भने घिमिरे आगामी २०७७ माघ ८ र ओली २०७८ वैशाख ७ मा पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन् । मुख्य सचिवकै अर्का प्रतिस्पर्धी अधिकारी पनि पाँचवर्षे सेवा अवधि सकेर २०७८ वैशाख २४ मा सेवानिवृत्त हुनेछन् ।
प्रकाशित : श्रावण १०, २०७७ १५:२१