कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जब दाइ भन्‍नेले नै एसिड छ्याप्यो...

मुस्कान खातुनले पवित्रालाई भनिन्– ‘आफू रोएर अपराधीको जित कहिल्यै हुन दिनु हुँदैन’
३ प्रतिशतमात्रै जलेको छ : चिकित्सक
बुनु थारु

काठमाडौँ — शुक्रबार कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नम्बर ३१५ को छेउमा बसेर मुस्कान खातुन र जेनी खड्का बिहीबारमात्र एसिड आक्रमणको सिकार भएकी पवित्रा कार्कीलाई सम्झाइरहेका थिए । कुनै समय एसिड छ्यापिएको कहालीलाग्दो घटना भोगेका मुस्कान र जेनीले पवित्रालाई हौसला दिने प्रयत्न गरिरहेका थिए ।

जब दाइ भन्‍नेले नै एसिड छ्याप्यो...

बिहीबार राति ७ः५५ बजे सीतापाइलास्थित सेल्सबेरीबाट दही र चिउरा लिएर घर फर्किने क्रममा उनलाई चिनेजानेकै व्यक्तिले घरको गेट नजिकै ढुकेर बसेर एसिड छ्यापेका थिए । अनुहारमा एसिड परेपछि आफूले दौडिँदै बाथरुममा पुगेर अनुहार पखालेको उनलाई राम्रै सम्झना छ ।

‘एसिडले पोलेपछि म हतार–हतार गेट खोलेर घरभित्र पसें । माथि एक तल्ला चढेर हातमा भएको दही चिउरा फालेर बाथरुममा गएर पानीले मुख पनि धोएँ,’ उनले भनिन्, ‘पीडाले भाउन्‍न भएपछि कराउँदै गेटबाहिर आइपुगेछु । त्यतिबेला अरुहरु जम्मा भइसकेका थिए । छेउकै घरमा बस्ने दाइहरुले एम्बुलेन्स बोलाएर अस्पताल लग्नुभयो । त्यहाँ उपचार सम्भव नभएपछि यहाँ ल्याइएको छ ।’

पीडामा कराउँदै बाहिर निस्केकी पवित्रालाई सुरुमा छिमेकीहरुले नजिकैको मनमोहन अस्पताल लगेका थिए । त्यहाँ उपचार नहुने भएपछि कीर्तिपुर अस्पताल रिफर गरिएको हो ।

एसिडले पवित्राको अनुहारको दायाँ गाला पोलिएको छ भने कपाल, घाँटी र हातमा हल्का छिटा परेको देखिन्छ । मास्क लगाएकोले उनको बायाँ भागमा भने एसिड पर्नबाट जोगिएको छ । हातमा साउने मेहन्दी छ, मेहन्दी उनले नाडीसम्मै लगाएकी छिन् । एसिडको घाउ मेहेन्दीले छोपिएको छ ।

एक युवकको सनकले झण्डै ज्यान नै गुमाएकी १५ वर्षीया मुस्कान बिहान ८ बजे नै पवित्राको हालखबर बुझ्न अस्पताल पुगेकी थिइन् । उनको पनि सोही अस्पतालमा लामो समय उपचार गरिएको थियो । २०७६ भदौमा विद्यालय जाने क्रममा मुस्कानलाई पनि एसिड प्रहार गरिएको थियो । उनको अनुहार, छाती, पाखुराको अधिकांश भाग एसिडले जलेका छन् । कलिलैमा शरीरभर आजीवन बोकेर हिँड्नुपर्ने खत लागे पनि त्यसको दागले उनलाई निकै बलियो बनाएको छ । उनी हाल आफूजस्तै समस्या भोगेकाहरुलाई हौसला दिन सक्ने भएकी छन् ।

यस्तै जेनी पनि एक सन्कीकै सनको सिकार भएकी थिइन् । ती दुवैको हिम्मतिला बोलीले पवित्रालाई पीडासँग जुध्न हौस्याइरहेका थिए । जेनी र मुस्कानको साथले पवित्रा पनि केही सम्हालिएको जस्तो देखिन्थिन् ।

‘सरकारले जबसम्म एसिडको बिक्री वितरण रोक्दैन, तबसम्म यस्ता घटना भइरहन्छन् । एसिडको बिक्रीमा कडाइ गर्नैपर्छ,’ मुस्कानले भनिन्, ‘म यहाँ पवित्रा दिदीलाई मोटिभेट गर्न आएकी हुँ ।’

उनी भन्दै थिइन्– ‘दाग छिट्टो सञ्‍चो हुँदैन त्यसैले अगाडिको कुरा सोच्नुपर्छ । पछि के गर्ने र बन्ने भनेर सोच्नुपर्छ । आफू रोएर अपराधीको जित कहिल्यै हुन दिनु हुँदैन । बलियो भएर बस्नुपर्छ ।’

छेउमै रहेकी जेनी पनि पवित्राको हात समातेर उनलाई ‘बलियो हुने कोसिस गर’ भनेर थप्थपाइरहेकी थिइन् ।

‘कसैले सम्झाएर सम्झिनुभन्दा पनि आफैंले आफैलाई मोटिभेट गर्नुपर्छ । अरुले सम्झायो भने झिंझो फिल हुन्छ । त्यसैले आफैलाई मोटिभेट गर है,’ उनी भन्दै थिइन् ।

छेवैमा रहेकी माइली दिदी गंगा भट्टराईको हात समातेर पवित्रा भने टोलाइरहेकी थिइन् । एसिड जलन र अनगिन्ती सुई घोचेको पीडाले रातभरि सुत्न नसकेको उनले बताइरहेकी थिइन् । निद्रा हराएका आँखा राता थिए र ढिल सुन्निएको देखिन्थ्यो ।

हालखबर बुझ्न अस्पताल पुगेका साथीभाइ देख्दा उनी झन् बेचैन हुन्थिन् र आँखाबाट लगातार साउने झरीझैं आँसु बर्सिरहेका थिए । उनी बेलाबेला भक्कानिएर रुन्थिन् ।

१२ कक्षाको पढाइ सिध्याएर बसेकी उनी होटल हायातमा एकाउन्टेन्‍टका रुपमा काम गर्दै आएकी छन् । लकडाउनपश्चात् होटल बन्द रहेकाले उनी घरमै थिइन् । बानेश्वरमा दाइभाउजूसँग बस्दै आएकी उनी दिदीको घर बाफलमा आएको एक महिनाजति मात्रै भएको थियो । पवित्रालाई एसिड छ्यापिएको घटनाको खबर ओखलढुंगाको गाउँमा पुगेदेखि आमा बेहोस छिन् ।

‘केही सोच्न सक्ने अवस्थामा छैन । खर्च जुटाउने कसरी हो ?’ दिदी गंगाले आँखा टिलपिल पार्दै भनिन्, ‘मेरो बहिनीको यस्तो अवस्था गराइदिए । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्छ ।’


मेरो उमेरका छोरी छन् त्यसको : पवित्रा

पवित्राको अनुसार बिहीबार ७ बजेतिर सीतापाइलामा रहेको सेल्सबेरीबाट दही र चिउरा किनेर घर फर्किंदै गर्दा चिनेजानेकै मोहमद आलमले मोटरसाइकलमा चोकसम्म पुर्‍याइदिन्छु भनेर आफैं अनुरोध गरेका थिए । उनले घर नजिकै रहेकाले आफैं जान्छु भनेर टार्न पनि खोजेकी थिइन् रे । तर, आलमले जिद्दी नै गरेपछि आलमको बाइकमा बसेर बाफल चोकसम्म आइन् । त्यहाँबाट उनी कोठातर्फ लागिन् । कोठा पुग्नै लाग्दा पर्खालको छेउमा त्यतैपट्टि अनुहार गरेर उभिएका एक अपरिचित व्यक्तिले उनलाई एसिडले छ्यापेको थियो ।

‘म कोठानजिक पुग्न लाग्दा बाटोमा एकजना मान्छे पर्खालतर्फ फर्केर पिसाब फेरेजस्तै गरेर उभिएको थियो । त्यसलाई देखेर पनि नदेखे झैं गर्दै म अगाडि हिँड्न थाले । बाटोमा कोही पनि थिएन । तर, ऊ त मलाई एसिड छ्याप्न बसिराखेको पो रहेछ । एक्कासी उसैले मलाई एसिड छ्याप्यो,’ पवित्राले भनिन् ।

पवित्रालाई एसिड हान्ने र हान्न लगाउने मुख्य योजनाकारलाई प्रहरीले केही घन्टामै समात्यो । शुक्रबार अस्पतालमा आफूलाई एसिड हान्ने मान्छेको बारेमा सुन्दा आफू आश्चर्यमा परेको बताइरहेकी थिइन् ।

आलमले यस्तोसम्म गर्न लगाउला भनेर आफूले कहिल्यै नसोचेको उनी बताउँछिन् ।
‘त्यो मान्छेलाई म दाइ भन्थें । त्यसको र मेरो परिवारको सामान्य चिनजान थियो,’ उनले भनिन्, ‘त्यो मान्छेले मलाई फोन गरिराखेको हुन्थ्यो तर, म उठाउँदैनथें । मेरै उमेरका छोराछोरी छन् उसका ।’

पटक–पटक फोन गरिररहने हुँदा पवित्राले त्यो मान्छेको नम्बर फोनको ब्ल्याक लिस्टमा हाल्दिएकी थिइन् रे । तैपनि फोन गरेर पवित्रालाई सताइरहेको उनको दाबी छ ।

३ प्रतिशतमात्रै जलेको छ : चिकित्सक

पवित्राको उपचारमा संलग्न प्लास्टिक सर्जन डा. शंकर राईका अनुसार उनको शरीरको ३ प्रतिशत जलेको छ र जोखिमरहित छिन् । चिकित्सकका अनुसार पवित्राको घाउ त्यत्ति गहिरो देखिँदैन ।

‘धेरै गहिरो घाउ छैन । त्यसैले जोखिम पनि कम छ,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’

प्रकाशित : श्रावण ९, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?